• २१ असार २०८१, शुक्रबार

सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार

blog

सोलेडाँडा । फाइल तस्बिर

ढोरपाटन (बागलुङ), फागुन १५ गते । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न थालेका छन् । 

गाउँपालिकाले छ वर्षदेखि नै सहिदपार्क, शौचालय, खानेपानी व्यवस्थापन, पिकनिक स्पटलगायतका संरचना बनाउँदै आएको थियो भने प्रदेश सरकारले यसवर्ष १० लाख विनियोजन गरेर पर्यटकका लागि सत्तल निर्माण गर्न थालेको छ । समुद्री सतहदेखि दुई हजार ६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । गाउँपालिकाले संरचना निर्माणसँग प्रचार-प्रसारलाई जोड दिएपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । 

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायले विनियोजन गरेको बजेट उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत कार्यान्वयनमा आएको छ । दश लाखले सत्तल बनाउनका लागि उपभोक्ता समितिसँग सम्झौता भएर काम अगाडि बढेको उद्योग तथा पर्यटन कार्यालय बागलुङका नायब सुब्बा नारायण रिजालले जानकारी दिनुभयो । आगामी वैशाखसम्म सक्ने गरी काम भइरहेको उहाँको भनाइ छ । रिजालले सोलेडाँडामा पुग्ने पर्यटकलाई विश्रामका लागि सत्तल निर्माण गर्न थालिएको बताउनुभयो । 

उहाँले भन्नुभयो-“पालिकामै पुगेर पुस महिना महिनाको २५ गते सम्झौता गरेका थियौँ, अहिले धमाधम काम भइरहेको छ, निर्माण समितिले वैशाखमा सक्ने गरी काम गरेको छ, सत्तल मौलिकता बोकेको हुनेछ, स्थानीय काठ, ढुङ्गाको प्रयोग गरेर निर्माण हुनेछ, जसले पानी, झरी पर्दा, हावाहुरी चल्दा बाहिरबाट घुम्न आएका पर्यटकलाई ओत लाग्न सहज हुनेछ, अहिले सामान्य छाप्रा छन्, त्यहीँ पर्यटकले विश्राम गर्दै आएका रहेछन् ।” हिमशृङ्खला र सूर्योदय÷सूर्यास्त अवलोकनका लागि उपयुक्त मानिने सोलेडाँडा बाह्रै महिना पर्यटकको रोजाइमा पर्ने गरेको छ । 

वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागि मानिस सोलेडाँडा पुग्छन् । यहाँबाट देखिने हिमशृङखला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यसडाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरबिर आवाजले मनमस्तिष्कलाई आनन्दित बनाउँछ । गाउँपालिकाले अघिल्लो वर्ष सहिदपार्क निर्माण गरेर सालिक राखेको छ । 

नेपालका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित सशस्त्र द्वन्द्वका बेला तमानखाेलाका विभिन्न गाउँबाट ज्यान गुमाएका स्थानीयवासी दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गाबहादुर पुनको सालिक राखेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । यसवर्ष त्यस डाँडाको पर्यटन प्रवर्धन गर्न गाउँपालिकाले पनि पाँच लाख विनियोजन गरेको उहाँको भनाइ छ । उक्त रकमले सहिद पार्कभित्र पदमार्ग निर्माण गर्ने बताउनुभयो । 

टायल लगाएर व्यवस्थित पदमार्ग निर्माण गरेपछि बाहिरबाट आउने पर्यटकले सहिदपार्कमा सहज रुपमा घुम्न सक्ने अध्यक्ष बुढामगरको भनाइ छ । गाउँपालिकाले हालसम्म करिब ३० लाख बढीको संरचना निर्माण गरेको उहाँले बताउनुभयो । “यो ठाउँ वर्षौँदेखि चर्चित छ, तर हामी निर्वाचित भएर आउँदासम्म पर्यटन संरचना निर्माण भएको थिएन, हामीले सुरुको वर्षदेखि निरन्तर काम गर्दै आएका छौँ, पूर्वधार निर्माण भएपछि पर्यटक पनि बढेको पाएका छौँ, पहिले खुला डाँडो मात्रै थियो, अन्य संरचना केही थिएन” अध्यक्ष बुढा मगरले भन्नुभयो, “अहिले कम्तीमा पर्यटकले पिउने पानी, पाएका छन्, शौचालय, विश्राम गर्ने ठाउँ बनेको छ, सहिदको सम्मानमा पार्क निर्माण गरेर सालिक पनि राखेका छौँ, अन्य पूर्वाधार विस्तारै थप्दै जानेछौँ ।” रासस