गुणबहादुर रोका
सुलीकोट, फागुन १५ गते । गोरखामा आत्महत्या न्यूनीकरण सम्बन्धी एक दिने सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज पालुङटार नगरपालिकाको आयोजनामा वडा नं. ७ को च्याङलिङमा कार्यक्रम सम्पन्न भएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो ।
पछिल्लो समय गोरखाको पालुङटारमा गत २० महिनामा २५ वटा आत्महत्याको घट्ना भएकाले त्यसलाई प्रभावकारी रूपमा न्यूनीकरण गर्न नगरपालिकाले मनोपरमर्शाकर्ता भर्ना गरी पालिका भित्रका सबै टोल टोलमा गएर आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ ।
विशेष गरेर उमेर समूह, सामाजिक, आर्थिक, विविध कारणबाट पनि आत्महत्या हुने गरेको पाइएको छ । यसलाई रोकथामको लागि मुख्य त सामूहिक पहल गरी मान्छेमा भएको एकोहोरो र निराशपन हटाउन सिकायो भने आत्महत्या कमी ल्याउने सकिने पालुङटार नगरपालिका मनोपरामर्श कर्ता कमल पोखरेले जानकारी दिनुभयो ।
त्यस्तै, डिप्रेसनका कारण झण्डै दुई वर्षअघि ३ पटक आत्महत्या गर्न खोज्नुभएका पालुङटार नगरपालिका-२ का गोविन्द बगालेले भन्नुभयो, "आर्थिक अवस्था कमजोर भएपछि समाजले हेर्ने दृष्टिकोणमा पनि फरक पर्ने भएकाले पनि आत्महत्यामा बल पुग्ने उहाँको बुझाइ छ, त्यसैले मानिसहरूलाई विभेद होइन, हौसला माया र प्रेमले पनि आत्महत्या न्यूनीकरण गर्ने गतिलो उपाय भएको उहाँको बुझाइ छ।"
धनी र गरिबको बिचमा सबैको हेला फोहोर हुने भएपछि म अब बाँचेर के गर्नु भन्ने जस्तो लाग्ने रहेछ, उहाँले भन्नुभयो । त्यसबेला नगरपालिकाको परामर्शकर्ताको राम्रो सल्लाह पाएर जीवनमा केही गर्न मृत्यु रोजेर होइन बाँचेर केही गर्नु छ भनेर अहिले सामान्य जीवनमा फर्किएपछि खेती किसानीबाट राम्रो आम्दानी गरेर ५ जनाको परिवार पालेर जीवन हाँसी खुसी बिताएको उहाँको भनाइ छ ।
कार्यक्रममा १५० जनाको सहभागिता थियो । पालुङटार नगरपालिकाले मानिसक रूपमा क्षतविक्षत भएकाहरूलाई निःशुल्क औषधीको पनि व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।
पालुङटार नगरपालिकाको आयोजन र सामाजिक विकास कार्यालय गोरखाको व्यवस्थापनमा भएको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दीपेन्द्र परियार र पालुङटार नगरपालिका-७ का वडा अध्यक्ष अर्जुन कुमालको सहभागिता थियो ।