• १४ मंसिर २०८१, शुक्रबार

बर्सेनि जङ्गलमै खेर जान्छ काठ

blog

घोराही समाचारदाता 

घोराही, फागुन १५ गते ।  दाङमा सामुदायिक वन समूहले जङ्गलमा ढलेका काठ व्यवस्थापनका लागि कानुनी प्रक्रिया नपुर्‍याउँदा हजारौँ क्युफिट काठ खेर जाने गरेको छ । सामुदायिक वनले कार्ययोजना नवीकरण नगर्दा वन क्षेत्रमा रहेको करिब ५० हजार क्युफिटभन्दा बढी काठ खेर गएको सामुदायिक वन महासङ्घले जनाएको छ । वनको कार्ययोजना नवीकरण नहुँदासम्म वनबाट काठ निकाल्न नपाइने व्यवस्था छ । वन क्षेत्रमा रहेका ढलेका वा सुकेका रुख सहजै निकाल्न नपाइने कानुनी अडचनका कारण बर्सेनि जङ्गलमै काठ खेर जाने गरेको सामुदायिक वन महासङ्घ दाङका अध्यक्ष हरि भुसाल बताउनुहुन्छ । 

भmन्झटिलो कानुनी प्रक्रियाका कारण उपभोक्ताले काठ नपाउने तर वनमा काठ खेर जाने अवस्था रहेको अध्यक्ष भुसालले बताउनुभयो । अध्यक्ष भुसालले भन्नुभयो, “कानुनी समस्याका कारण वन संरक्षण गर्ने उपभोक्ताले सहजै काठ दाउरा उपभोग गर्न नपाउने तर वनमा काठ खेर जाने अवस्था छ । यसमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।”काठ वनमै कुहिने भएपछि लाखौँ रकम खेर जाने र यसले राज्यलाई समेत राजस्व घाटा लाग्ने गरेको छ । काठ सङ्कलन तथा बिक्रीका लागि कानुनी प्रक्रिया नमिले पनि उपभोक्ताको उपभोगका लागि सहज बनाउनुपर्ने उहाँ बताउनुहुन्छ । राज्यका निकायमा पटक पटक जानकारी गराउँदा पनि समस्या समाधान हुन नसकेको अध्यक्ष भुसाल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “काठ बिक्रीमा कडाइ गरे पनि वन समूहकै उपभोक्ताले खपतका लागि सहज व्यवस्था गर्न आवश्यक छ ।” आर्थिक रूपमा धेरै रकम लाग्ने भएकाले अहिले धेरै सामुदायिक वनले नवीकरण गर्नै नसक्ने अवस्थाले पनि कतिपय सामुदायिक वनबाट काठ सङ्कलन गर्न नसकेको समुदायिक वन महासङ्घले बताएको छ । आम्दानीको स्रोत नभएकाले जिल्लाका करिब ५० प्रतिशत वन समूहले वार्षिक कार्ययोजना नवीकरण गर्न नसकेको अध्यक्ष भुसाल बताउनुहुन्छ । उहाँका अनुसार जिल्लामा ५२८ वटा सामुदायिक वन समूह छन् । 

डिभिजन वन कार्यालय देउखुरीले सामुदायिक वनमा करिब सात हजार क्युफिट काठ (सुक्खा, ढलापडा) निकाल्न बाँकी रहेको जनाएको छ । डिभिजन वन कार्यालय देउखुरीका डिभिजन वन अधिकृत राजु क्षेत्रीका अनुसार सामुदायिक वनमा करिब सात हजार क्युफिट काठ बिक्री हुन सकेको छैन । वन क्षेत्रमा जलेर वा सडेर खेर जाने काठको व्यवस्थापनका लागि छिट्टै पहल गर्ने डिभिजन वन अधिकृत क्षेत्री बताउनुहुन्छ । उहाँका अनुसार सामुदायिक वनले आन्तरिक खपतका लागि भने काठ निकाल्न सक्ने डिभिजन वन कार्यालयले जनाएको छ । विकासे आयोजना सञ्चालनका लागि काटिएका काठ आयोजनाले हस्तान्तरण नगर्दासम्म यथावत् रहनेसमेत उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वन क्षेत्रमा रहेको काठ समयमै व्यवस्थापन गर्न नसक्दा केही काठ बर्सेनि खेर जाने गरेको छ । यो रोक्नका लागि सामुदायिक वन समूह नै लाग्नु पर्छ ।” 

घोराही वन डिभिजन कार्यालय अन्तर्गत पनि जिल्लाका केही सामुदायिक वन क्षेत्रमा ढले तथा सुकेका रुखहरू रहे पनि व्यवस्थापन हुने गरेको वन अधिकृत मोहन श्रेष्ठ बताउनुहुन्छ । उपभोक्ताले भने समयमै व्यवस्थापन नहुँदा गर्मी मौसममा जल्ने र वर्षामा गल्नेदेखि चोरी हुने गरेको बताउँदै आएका छन् ।