• १२ साउन २०८१, शनिबार

१५ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप

blog

खोप अभियानको शुभारम्भ गर्दै जिसस अध्यक्ष बालकृष्ण श्रेष्ठ, स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक प्रमुख र समूह ।

चित्र मिजार

सिन्धुपाल्चोक, फागुन १४ गते । सिन्धुपाल्चोकका १५ हजार ६७९ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिका–४ मा रहेको प्राइभेट प्याराडाइज सेकेण्डरी स्कुलका विद्यार्थीलाई खोप लगाउँदै अभियान सुरु गरेको हो । 

जिल्ला समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले उक्त खोप अभियानको शुभारम्भ गर्नुभएको छ । सिन्धुपाल्चोकको तीन नगरपालिका, नौ गाउँपालिकाको १०३ वटै वडामा सोमबारबाट दादुरा–रुबेला खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयो ।

चौतारा अस्पतालका प्रमुख डाक्टर गगन अधिकारीले ९ महिनादेखि ५ वर्ष उमेर समूहका आफ्ना बालबालिकालाई खोप लगाउन सिन्धुपाल्चोकवासीलाई आग्रह गर्नुभयो । खोल लगाएपछि कुनै बालबालिकालाई सामान्य ज्वरो आउने, दुख्ने, सुन्निने जस्ता असर देखापरेमा नजिकैको स्वास्थ्य संस्थामा लैजान उहाँको सुझाव छ । 

सबै वडामा स्वास्थ्य चौकी इन्चार्जको नेतृत्वमा सिन्धुपाल्चोकमा खोप अभियान सञ्चालनमा छ । सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । दादुरा–रुबेला सङ्क्रमणयुक्त रोग भएकाले लक्षित उमेर समूहका बालबालिकालाई नछुटाई खोप लगाउन जिसस प्रमुख श्रेष्ठले अभिभावकलाई अपिल गर्नुभयो ।