• १२ मंसिर २०८१, बुधबार

बाढीपहिरो पीडितलाई घरबासकै चिन्ता

blog

बाढीपहिरोको जोखिममा रहेको खप्तड छेडेदहको बस्ती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, फागुन १४ गते । बाजुराका नौ वटै स्थानीय तहका बाढीपहिरो पीडितलाई पछिल्लो समय घरबासकै चिन्ताले सताउने गर्छ । गत २०७८-७९ सालको जेठ, असार, साउन र भदौमा आएको बाढीपहिरोले बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँ बस्ती बाढीपहिरोको उच्च जोखिममा छ । 

बाढीपहिरोको जोखिममा परेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नसकेपछि अहिले यहाँका स्थानीलाई बर्खाको समय कहाँ बस्ने भन्ने चिन्ता पर्न थालेको हो । हिउँदका दिनमा आनन्द मनले गाउँमा बसोबास गरेपनि अब बर्खाको समय भने कता गएर बस्ने भन्ने अहिले नै चिन्ता पर्न थालेको बडिमालिका नगरपालिका-३ घागरका स्थानीय कला कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, "गत वर्षको बर्खामा आएको बाढीपहिरोले घर जोखिममा छ । अन्य कतै जाने ठाउँ छैन । अहिले यसैमा रात काटिरहेकी छु । अव बर्खा लागेपछि कता गएर बस्ने अहिले नै चिन्ता लाग्न थालेको छ ।"

बाजुराको बूढीनन्दा, त्रिवेणी, गौमुल, बडिमालिका, बूढीगङ्गा, खप्तड छेडेदह गाउँपालिकाका अधिकांश गाउँ बस्ती पनि बाढीपहिरोको उच्च जोखिममा परेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको वडा नं.५ को पारतोला र गुईबन बस्ती पनि लामो समयदेखि बाढीपहिरोको उच्च जोखिममा रहँदै आएको छ । 

२०५६ सालदेखि सो बस्तीका झण्डै सयौँ घरपरिवार बाढीपहिरोको जोखिममा पर्दै आएको भने यी बस्तीलाई कतै स्थानान्तरण गरेको छैन । हिउँदमा गाउँ फर्केका सो बस्तीका स्थानीयलाई अब बर्खाको समय कता गएर बास बस्ने निकै चिन्ता लाग्न थालेको छ ।

बस्ती स्थानान्तरणको विषयलाई मुख्य एजेन्टाको रूपमा लिएर भोट माग्न आएका जनप्रतिनिधिहरूले मत मागे तर बस्ती स्थानान्तरणको विषय भने भुले खप्तड छेडेदह गाउँपालिका गुइबनका स्थानीय सुन्तला रावतले बताउनुभयो । उहाँले भन्नुभयो, "हामी भने अहिलेसम्म कतै गएका छैनौ, जाँउप कसरी ? कहीँ कतै ठाउँमा हाम्रो पहुँच छैन । अन्य ठाउँमा जग्गा लिएर बसोबास गरौँ भने पैसा छैन । आफूसम्म अन्य कुनै विकल्प नभएपछि यसै जोखिम घरमा बास बस्नु परेको छ ।"

सधैँ बर्खामा त्रसित बन्दै गएका सो बस्तीका स्थानीयहरू अहिले पनि पानी परेको समय पहिरोले फेरि तर्साउन थालेपछि उनीहरूलाई बर्खाको समय कता गएर जीउ जोगाउने भन्ने चिन्ता छ । यस्तै बूढीगङ्गा नगरपालिका बजेडी, निमनी, ताँप्रीसेरा र अम्कोट लगायतका दर्जनौँ बस्ती पनि पहिरोको जोखिममा छन् । यहाँका अधिकांश स्थानीयहरू गत वर्षको बर्खामा गाउँमाथीको बनमा त्रिपाल टाँगेर बास गर्दै आएका थिए । 

बडिमालिका नगरपालिका घाँगर, ओलेना, तिपाडा, मना र कोर्ध लगायतका बस्ती समेत बाढीपहिरोको उच्च जोखिममा छन् । स्थानीय तहले यहाँका बाढीपहिरोबाट प्रभावित भएका बस्तीको तथ्याङ्क सङ्कलन गरी जिल्ला पठाउने काम बाहेक अन्य केही नगरेको स्थानीयको भनाइ छ । 

बाजुराका नौ वटै स्थानीय तहले भने जोखिममा परेका झण्डै एक सय पचास भन्दा बढी बस्तीको तथ्याङ्क सङ्कलन गरी स्थानान्तरणका लागि जिल्ला विपत् व्यवस्थापन समिति बाजुरामा पठाएको बत्ताउँछन् । हिमाली गाउँपालिका केही बस्तीलाई घर टहना निर्माण कार्य सुरु भइरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य बस्ती स्थानान्तरणका लागि पनि सम्बन्धित निकायमा पहल भइरहेको छ ।”

बाढीपहिरोबाट विस्थापित भएका घरपपिरवारलाई स्थापित गर्नका लागि तथ्याङ्क सङ्कलन गरी गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सोही अनुसार सङ्घीय सरकारलाई समेत रकम माग गरिरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भिकान्त पौड्यालले बताउनुभयो ।