• ११ मंसिर २०८१, मङ्गलबार

नयाँ प्रविधिमैत्री युवा

blog

एउटा सामान्य मान्छेले हरेक दिन प्रविधिको प्रयोग कति पटकसम्म गर्छ होला ? हामीले सहजै अनुमान लगाउन सक्छौँ, हामी बिहान उठेदेखि साँझ आँखा बन्द नहुँदासम्म हरेक पटक सानोभन्दा सानो काम गर्न पनि प्रविधिको प्रयोग गरिरहेका हुन्छौँ । गाउँमा जानुस् गोरु देखिँदैन, ट्याक्टरले खेतमा काम गरिरहेको हुन्छ । खेतबारीमा हलो देखिन छाडेको धेरै भइसक्यो । जाडो हुँदा अँगेनामा दाउरा बाल्न छाडिसक्यौँ । गुइँठाको ठाउँमा इन्डक्सन चुलो देखिन्छ । पछिल्लो समय सबै क्षेत्र प्रविधिमय बन्दै गएको अवस्थामा त प्रविधिबिना मानिसले जीवन नै सहज ढङ्गले अगाडि बढाउन नसक्ने भइसकेका छन् । 

प्रविधि मानव जीवनको एउटा महत्वपूर्ण अङ्गका रूपमा स्थापित भएको छ । बिल तिर्न लाइन लाग्नु पर्दैन, मोबाइलले तिरिदिन्छ । गोजीमा पैसा बोकेर हिँड्न पर्दैन, मोबाइलले बोकिदिन्छ । बिरामी हुँदा डाक्टरकहाँ धाउनु पर्दैन, मोबाइलले डाक्टरसँग भेट गराइदिन्छ । मान्छेलाई भौगोलिक कठिनाइ, दुरी जस्ता कुराको विभेदलाई प्रविधिले तोडेको छ । केही गर्नका लागि कहीँ जानैपर्ने बाध्यताको अन्त्य भएको छ । के गाउँ के सहर सबै ठाउँमा प्रविधिको प्रयोग एकनासले भएको छ । 

मान्छेलाई सञ्चार सम्पर्कमा जोड्न, अध्ययन गर्न, विभिन्न महत्वपूर्ण क्षणहरू कैद गर्न, उपचार गर्न, जागिर खोज्न, आफूलाई आवश्यक पर्ने सूचना खोज्न यावत् दैनन्दिनका कार्य पूरा गर्नका लागि प्रविधिको प्रयोग बाक्लिँदै गएको छ । किसानलाई प्रविधि चाहिएको छ, विद्यार्थीलाई प्रविधि चाहिएको छ, व्यापारीलाई प्रविधि चाहिएको छ, गाडी चलाउनेलाई प्रविधि चाहिएको छ । यो समयको हरेक मान्छेलाई सानोभन्दा सानो कामको मेलो सार्नका लागि पनि प्रविधि चाहिएको छ । हामीले हाम्रो जीवनलाई प्रविधिसँग अभ्यस्त गराउँदै गर्दा, हाम्रा हरेक क्रियाकलाप प्रविधिमय हुँदै गर्दा के हाम्रा शिल्पलाई पनि प्रविधिसँग जोड्न सकेका छौँ त ? अहिलेको मूल प्रश्न नै यही हो । 

हामीले वर्षौंदेखि मोबाइल प्रयोग गर्दै आएका छौँ तर के मोबाइलको सामान्य पार्टपुर्जा बिग्रिएको खण्डमा त्यसलाई मर्मत गर्ने सिप सिकेका छौँ त ? हामीले हिटर ताप्न थालेको वर्षौं भयो तर के सामान्य कुरा बिग्रँदा पनि त्यसलाई मर्मत गर्ने सामथ्र्य राख्छौँ त ? हामीले ल्यापटप चलाउल थालेको कैयौँ समय भयो के सानोभन्दा सानो समस्या पनि समाधान गर्न सकेका छौँ त ? हामीले उपयोगका हिसाबले अपडेटेड प्रविधिलाई अवलम्बन गरे जस्तै सिपका हिसाबले पनि नयाँ नयाँ प्रविधिसँग अभ्यस्त हुँदै जानुपर्ने हुन्छ । 

हामी जति प्रविधिमैत्री बन्दै गएका छौँ, त्यति नै सिपको पनि विकास गर्नुपर्ने आवश्यकता हुन्छ । हाम्रा पाठ्यक्रम, विद्यालय र सिकाइ केन्द्र अब यसतर्फ अगाडि बढ्नुपर्ने देखिन्छ । अहिले पनि विभिन्न तालिम प्रदायक संस्थाहरू परम्परागत प्लम्बिङ, वायरिङलगायतका तालिम प्रदान गर्नमै व्यस्त हुन्छन् । यो पनि एक हिसाबले आवश्यक त छ तर समयले धेरै फड्को मारिसकेको अवस्थामा नयाँ नयाँ सिपका बारे आममानिसलाई जानकारी दिनुपर्ने आवश्यकता छ । परम्परागत सिपलाई प्रविधिले विस्थापित गरेको अवस्थामा नयाँ ढङ्गले सिपको विकास हुनु आवश्यक छ । प्रविधिको प्रयोगले हाम्रो जीवन सहज त बनेकै छ तर प्राविधिक सिपको क्षमताले जीवनलाई गुणस्तरीय बनाउने गर्छ । 

पछिल्लो समय नेपालमा प्रविधिको प्रयोग जुन रफ्तारमा बढिरहेको छ, त्यो रफ्तारमा यसको जनशक्तिको व्यवस्थापन भने हुन सकिरहेको छैन । आज प्रविधिको प्रयोगले मानिसको जीवनलाई सहज या जटिल के बनाएको छ भन्नेबारे अन्योल छ । हिजो प्रविधि नहुँदा ठिकठाक चलिरहेको जीवन आज प्रविधिको प्रयोगसँगै विलासितापूर्ण हुँदै जाँदा मान्छेमा अभावको सिर्जना हुँदै गएको छ । आज प्रविधिमैत्री जीवनशैलीका कारण सामान्य जीवन पनि खर्चिलो बन्न थालेको छ । 

नेपालमा अहिले युवा जनशक्ति पलायनलाई निकै महत्वका साथ हेरिएको छ । हरेक दिन यहाँका युवा विदेश जानका लागि प्रयासरत छन् । विदेश जाने अधिकांश युवा सिपविहीन देखिन्छन् । केही युवामा सिप भए पनि परम्परागत सिप मात्रै रहेको देखिन्छ । प्रविधिको युगमा परम्परागत सिप मात्रै हुँदा कैयौँ युवाले सोचे अनुसार रोजगारी प्राप्त गर्न सकिरहेका छैनन् । हाम्रा युवालाई यही माटोमा टिकाउन र बिकाउनका लागि आधुनिक प्रविधि सुहाउँदा सिप सिकाउनु अहिलेको नितान्त आवश्यकता हो । 

प्रविधिको उच्चतम प्रयोग नभएको हिजोको दिनमा सामान्य सिप सिकेको भरमा पनि हरेक व्यक्तिलाई जीवनयापनका लागि खासै कठिनाइ नै थिएन तर आजका दिनमा भने प्रविधिको उच्चतम विकाससँगै उच्चतम सिप सिक्नुपर्ने अवस्था सिर्जना भएको छ । प्रविधिको युगमा प्राविधिक जनशक्तिको आवश्यकतालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

नवप्रवर्तन : आजको प्राविधिक जनशक्तिले नयाँ प्रविधि र समस्या समाधानका लागि कसरी काम गर्ने भन्नेबारे थाहा पाउनुपर्ने देखिन्छ । जटिलभन्दा जटिल प्राविधिक समस्यालाई सहज ढङ्गले किनारा लगाउन सक्ने क्षमता हुनु पर्छ । प्रविधिको विकास यसरी द्रुत गतिमा भएको छ कि यहाँ असम्भव भन्ने कुरा केही पनि छैन । यसरी नयाँ नयाँ आविष्कारको विकासले गर्दा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी लिनुपर्ने आवश्यकता देखिन्छ । 

मर्मत सम्भार : नयाँ प्राविधिक प्रणाली विकास हुँदै जाँदा यसको मर्मत सम्भारका लागि पनि सिप सिक्दै जानुपर्ने देखिन्छ । हिजोका दिनमा प्रयोग हुने सामग्रीको आकार, स्वरूप र सञ्चालन प्रक्रियामा परिवर्तन आएको छ । जस्तो पहिले पहिले ट्याक्टरलाई सामान मात्रै बोक्ने साधनका रूपमा लिने गरिन्थ्यो भने हाल आएर त्यसको बहुउपयोग हुन थालेको छ । अबको मर्मत गर्ने मान्छे या ट्याक्टर चलाउने मान्छे पनि यी सबै सिप सिक्नुपर्ने हुन्छ । 

नयाँ प्रविधि अपनाउने : प्रविधिको विकासले विगतका विभिन्न स्वरूपलाई परिवर्तन गरेको छ । आजको व्यावसायिक सङ्गठन, उद्योगको उत्पादन प्रक्रियालगायत विषयमा आमूल परिवर्तन भएको छ । प्रविधिको उच्चतम प्रयोगले मानवीय श्रमको प्रयोगलाई तुलनात्मक रूपमा कम गर्दै लगेको छ । यति मात्रै होइन, भौतिक रूपमा हुने कैयाैँ विषय अभौतिक रूपमा समेत हुन थालेका छन् । प्रविधिको परिवर्तनलाई आजको जनशक्तिले आत्मसात् गरेर सोही अनुसार आफूलाई ढाल्नुपर्ने देखिन्छ । 

नयाँ सोच र समय : आजको युगमा दक्ष प्राविधिक जनशक्तिले एआइसम्मका ज्ञान हासिल गरेको हुनु पर्छ । हिजोको जस्तो सामान्य बस्तुको मर्मत मात्रै गरेर बजारमा बिक्ने जनशक्ति बन्न सकिँदैन । आजको जनशक्तिले कम्प्युटरमा अनेकानेक प्रोग्रामको डिजाइन, व्यवस्थापन, तथ्याङ्क विश्लेषणलगायत विविध खालका काम गर्न सक्ने हुनु पर्छ । 

प्रविधिको विकाससँगै आजको जनशक्तिलाई अन्तरघुलन गराउनका लागि सोही अनुसारको ज्ञान र सिप सिकाउनु पर्छ । हामीले युवाशक्तिलाई देशमै टिकाउनका लागि र विदेश जाँदा त्यहाँको बजारमा बिक्ने बनाउनका लागि प्राविधिक सिपको विकासमा विशेष ध्यान दिनु पर्छ ।    

Author

वसन्त आचार्य