• १३ असोज २०८१, आइतबार

आइसिसी विश्वकप लिग-२ : नेदरल्यान्ड्ससँग हार्‍यो नेपाल

blog

खेल पछि हात मिलाउँदै नेपाल र नेदरल्यान्ड्सका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन १३ गते । आइसिसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत नामिबिया, नेदरल्यान्ड्स सम्मिलित सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार जितका लागि नेपालले दिएको एक सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । 


नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले अविजित ५८ रन बनाउनुभयो । उहाँले ९२ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । साइब्रान्ड एङ्गेलब्रेख्तले अविजित ४६ तथा ओपनर माइकल लेभिटले ३९ र म्याक्स ओ डोउडले २८ रन जोड्नुभयो । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिनुभयो । 


यसअघि टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ९३ बलमा आठ चौकाको सहयोगमा उक्त अर्धसतकीय इनिङ्स खेल्नुभएको हो । उहाँको यो अन्तर्राष्ट्रिय एक दिवसीयमा आठौँ अर्धसतक हो ।


यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहितकुमार पौडेलले १६ रन जोड्नुभयो । बलिङमा नेदरल्यान्ड्सका लागि आर्यन दत्त र भिभियन किंगमाले तीन तीन विकेट लिनुभयो । बास डी लिडेले दुई तथा रोलोफ भान डेर मार्वेले एक विकेट लिनुभयो । यस हारसँगै नेपालले चार खेलमा दुई अङ्क बनाएको छ । नेपाल तालिकाको तेस्रो स्थानमा छ । 

नेपाल यस सिरिजमा नामिबियासँग चार र दुई विकेटले पराजित भएको थियो । नेपालले नेदरल्यान्ड्सलाई अघिल्लो खेलमा नौ विकेटले हराएको थियो । नेदरल्यान्ड्स चार अङ्क जोड्दै दोस्रो स्थानमा छ । ६ अङ्क बनाएको बनाएको नामिबिया शीर्षस्थानमा छ ।


आठ टोली सहभागी आइसिसी विश्वकप लिग–२ मा नेपाल, नामिबिया र नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स ९युएई० र अमेरिका रहेका छन् । सन् २०२७ सम्म चल्ले यस लिगमा प्रत्येक टोलीले त्रिकोणात्मक सिरिजको ढाँचामा कूल एक सय ४४ खेल खेल्नेछन् । 

जसमध्ये शीर्ष चारमा रहने टोलीले एक दिवसीय मान्यता जोगाउने छ  भने विश्वकप छनोट खेल समेत खेल्न पाउनेछ । लिग–२ सिरिजको अघिल्लो लामो चक्रमा नेपालले गतवर्ष पछिल्ला खेलहरूमा लगातार ११ जित निकाल्दै एक दिवसीय मान्यता जोगाउँदै लिग–२ मै रहेको थियो ।