• ११ मंसिर २०८१, मङ्गलबार

नागरिक कर्तव्यको बहस

blog

देश बनेन भन्ने चिन्ता धेरैलाई छ तर देश बनाउने चिन्तन थोरैमा पनि पाउन कठिन छ । चिन्ताले देश बन्दैन, चिन्तन गरे देश बन्ला । आजसम्म देश बन्दै नबनेको भन्ने चाहिँ होइन तर देश पछि परेको चाहिँ अवश्य हो । अथवा बन्नुपर्ने जति नबनेको हो । नबनेको वा पछि परेको भन्दा पनि नबनाइएको वा पछि पारिएको हो ।

अवश्य पनि देश बन्नुपर्ने जति नबन्नुमा दोष सरकारको छ । देश बन्नुपर्ने जति नबनेको सरकारको कर्मले मात्र होइन, जानेर होस् वा नजानेर नागरिकले गरेका, नगर्नुपर्ने कर्म र गर्नुपर्ने चाहिँ नगरेका कर्मका कारण पनि देश पछाडि परेको हो । राज्यका निकायमा बस्ने अधिकारी आफ्नो दायित्वप्रति जिम्मेवार नहुनु र नागरिक पनि आफ्नो कर्तव्य पालनामा जिम्मेवार बन्न नसक्नु दुवै देश नबन्नुमा उत्तिकै जिम्मेवार छन् । 

राजनीतिक दलबिच विमति छ, राज्यका निकायमा सुशासनको प्रत्याभूति छैन, सरकारका अधिकारीमा आफ्नो जिम्मेवारीप्रति दायित्वबोध छैन, इमानदारी छैन, दूरदृष्टि छैन । यी यस्ता कुरा हामीले दशक अगाडिदेखि घोक्दै, भन्दै र सुन्दै आएका कुरा हुन् । सरकारका कामप्रति नागरिकले जनाएका यस्ता सन्तुष्टिका स्वर आज पनि दिनहुँ बग्रेल्ती सुनिन्छन् तर नागरिकले कर्तव्यबोध नगरेका शब्द त्यति सुनिँदैनन् । अब नागरिकले कर्तव्यबोध नगरेको कुरा पनि भनिनु पर्छ, सुनिनु पर्छ र दायित्वबोध गरिनु पर्छ । नागरिक कर्तव्यको व्यापक बहस भयो भने मात्र उनीहरू आफ्नो कर्तव्यप्रति जिम्मेवार हुन्छन् । नागरिक कर्तव्यप्रति जिम्मेवार भए मात्र देश समृद्ध हुँदै जान्छ । 

राज्य अभिभावक भएकाले देशको निर्माणमा राज्यको भूमिका प्रमुख हुन्छ तर राज्यको भूमिका प्रमुख हुनु भनेको नागरिकको भूमिका गौण भए पनि हुन्छ भन्ने होइन । राज्यका राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व छन् । सरकारले संविधान र कानुनको कार्यान्वयन गर्नु, गराउनु छ । नागरिकका असीमित आवश्यकता पूरा गर्नु छ । विकासनिर्माणका कार्यलाई तीव्रता दिनु छ । नागरिकको मानव अधिकारको संरक्षण गर्नु छ । राज्य यी कार्यबाट कदापि विमुख हुन सक्तैन । सरकारले गरेका यति कामले मात्र समाज चल्दैन, देश बन्दैन । देश बन्न र समाज व्यवस्थित रूपमा चल्न नागरिकमा कर्तव्यबोध हुनु पर्छ । कर्तव्यबोध भएपछि मात्र कर्तव्यको पालना सुरु हुन्छ ।

नागरिक कर्तव्य तीन प्रकारका छन्, ती हुन् : मौलिक कर्तव्य, कानुनी कर्तव्य र नैतिक कर्तव्य । नेपालको संविधानको धारा १६ देखि ४६ सम्म मौलिक हक छन् । धारा ४६ मा उल्लिखित संवैधानिक उपचारको हक हरेक नागरिकसँग सुरक्षित छ । संविधानको धारा १३३ र धारा १४४ बमोजिम मौलिक हकको अदालतबाट प्रचलन गराउने अधिकार पनि नागरिकलाई छ । धारा ४८ मा उल्लिखित भएबमोजिम राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हुन्छ । असल नागरिकका लागि मौलिक हक जति महत्वपूर्ण छन्, कर्तव्य पनि बराबरी महत्वका हुन्छन् । 

संविधानमा नागरिक कर्तव्यका रूपमा उल्लिखित यी विषय जति महत्वपूर्ण छन्, त्यति नै अव्यावहारिक छन् । संविधान आदर्शभन्दा बढी देश, काल र परिस्थितिको यथार्थलाई सम्बोधन तथा व्यवस्थापन गर्ने देशको प्रमुख कानुनी दस्ताबेज हो । मौलिक कर्तव्यका रूपमा देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु हरेक नागरिकका लागि एक आदर्श हो तर यस्तो जिम्मेवारी नागरिकका लागि समान्यतया आई पर्दैन । 

जुन देशका नागरिक देशको बेरोजगारीको पीडा खप्न नसकेर दिनहुँ हजारौँको सङ्ख्यामा रोजगारीका लागि बिदेसिन्छन्, त्यही देशको संविधानमा राज्यले चाहेका बखत नागरिकले अनिवार्य सेवा गर्नुपर्ने कर्तव्य तोकिएको छ । त्यसै गरी सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने काम पनि नागरिककोभन्दा बढी सरकारको हो, बरु सरकारले गरेको सुरक्षाको काममा सघाउनु नागरिकको कर्तव्य हो । आफूले सार्वजनिक सम्पत्तिको ध्वंस नगर्ने चाहिँ नागरिक कर्तव्य हो । संविधानमा उल्लेख भएको संविधान र कानुनको पालना गर्नु चाहिँ नागरिक कर्तव्य हो । जे भए पनि संविधानमा उल्लिखित कर्तव्य नागरिकका लागि अनिवार्य हो ।

संविधानमा उल्लिखित कर्तव्यले मात्र नागरिक कर्तव्य पूरा हुँदैन । नागरिकका लागि नैतिक कर्तव्य नै सबैभन्दा ठूलो कुरा हो । एउटा नागरिकको समाजप्रतिको दायित्व, परिवारप्रतिको दायित्व, राज्यप्रतिको दायित्व र समग्र मानव जातिप्रतिको दायित्व छ । असल नागरिकले त्यस्ता कर्तव्य पालना गर्नु पर्छ । नेपालको सन्दर्भमा नागरिकले उल्लिखित कर्तव्य पालना नगरेकै कारण देशको उन्नति प्रगतिमा बाधा उत्पन्न भएको छ ।

यतिबेला हामी देश बनाउने जिम्मा सरकारको हो र नागरिकको काम सरकारको आलोचना गर्ने मात्र हो भन्ने ठानिरहेका छौँ । एउटा नागरिक उद्योग, व्यापार, व्यवसाय गर्छ तर आम्दानीको कर नतिर्न खोज्छ र आफ्नो व्यवसायका लागि सरकारसँग सेवासुविधा भने दाबी गर्छ । आज मान्छे सडकमा सुशासन खोजिरहेछ तर भित्रभित्र कुशासनलाई सघाइरहेछ । बाहिर बाहिर भ्रष्टाचारको विरोध गर्दै लुकीछिपी आफैँ घुस खुवाउँछ । विधिको शासनको दुहाइ दिन्छ तर आफैँ कानुनको पालना गर्दैन । नागरिक अरूलाई ठुला ठुला दोष दिन्छ तर आफ्नो सानो दोष पनि देख्दैन ।

नागरिक सहर फोहोर भयो भन्दै कराउँछ तर आफैँ सडकमा फोहोर फाल्छ । बेरोजगार भएँ भन्छ तर स्वरोजगार हुने उपाय खोज्दैन । अरूको मुलुकमा गएर जतिसुकै निम्न स्तरको काम गर्न पछि नपर्ने व्यक्ति स्वदेशमा भने त्यही काम गर्न लजाउँछ । दिनहुँ राजनीतिमा देखिएका विकृतिलाई गाली गर्छ तर त्यही विकृति ल्याउने नेतालाई भोट दिएर सत्तामा पु¥याउँछ र भोलिपल्टबाट पुनः गाली गर्न सुरु गर्छ । 

नेताले देश गरिब बनाए भन्छ तर आफू चाहिँ देश धनी बनाउने कुनै कर्म गर्दैन बरु आफू धनी हुन भने मरिहत्ते गर्छ । नागरिक अधिकार खोज्छ तर कर्तव्य पालना गर्दैन । यसरी कुरा एकातिर र काम अर्कातिर भएपछि कसरी असल नागरिक बन्छ ? नागरिक असल नभएपछि देश कसरी समृद्ध बन्छ ? असल नागरिक कानुनी दायरामा मात्र नभएर अनुशासनमा पनि बाँधिनु पर्छ । अरूलाई हानि पु¥याउनु हुँदैन । सङ्कटमा अरूलाई सहयोग गर्नु पर्छ । सरकार छान्ने प्रक्रियामा सहभागी हुनु पर्छ । असल शासनलाई सघाउनु पर्छ । सरकारले गलत काम गर्न लागेमा खबरदारी गर्नु पर्छ । अन्याय अत्याचारविरुद्ध आवाज उठाउनु पर्छ ।

राज्यको संविधान र कानुनको पालना गर्नु, राज्यलाई अनिवार्य कर तिर्नु, राज्यको राजनीतिक र प्रजातान्त्रिक प्रक्रियामा सहभागी बन्नु, मताधिकार सदुपयोग गरी प्रतिनिधि छनोट गर्नु, धार्मिक, सांस्कृतिक, भाषिक विविधताको सम्मानका साथै धर्म संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु, आपसी सहयोग, सद्भाव र सामाजिक सदाचारिताको विकास गरी अनुशासित, नैतिकवान् र सदाचारी बन्नु असल नागरिकका आधारभूत कर्तव्य हुन् । आधारभूत कर्तव्यबाट कुनै पनि नागरिक च्युत हुन्छ भने उसले यस देशमा जन्मेकै कारण मात्र देशको नागरिक हुँ भनी दाबी गर्नु कानुनी रूपमा अधिकार भए तापनि सामाजिक र नैतिक आँखामा सुहाउने विषय होइन । 

राज्य नागरिकको अभिभावक भएकाले राज्यप्रति खबरदारी गर्ने र आफ्नो अधिकारको सुनिश्चितताका लागि दाबी गर्ने नागरिकलाई अधिकार छ । महात्मा गान्धीले भने झैँ एउटा व्यक्ति अधिकारको दाबी गर्न त्यतिबेला मात्र योग्य हुन्छ, जब उसले मानव हुनुको कर्तव्यको पालना गर्छ । त्यसैले सचेत नागरिकले अधिकारका लागि जति जोड दिने हो, कर्तव्यको पालनामा पनि त्यत्तिकै जिम्मेवार हुनु आवश्यक छ । नागरिकले फल खान मात्र खोज्ने होइन, बिरुवा रोप्न, हुर्काउन र फल फलाउन पनि सिक्नु पर्छ । यही नै असल नागरिकको कर्तव्य हो । 

Author

डा. टीकाराम पोखरेल