• १२ साउन २०८१, शनिबार

निःशुल्क उपचार घोषणा कार्यान्वयनमा आलटाल

blog

रङ्गेली समाचारदाता

विराटनगर, फागुन १२ गते  । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्न विभिन्न अस्पतालसँग सम्झौता गरे पनि अस्पतालले भने त्यसको कार्यान्वयनमा आलटाल गर्ने गरेका छन् । अस्पतालले विभिन्न बाहना र कागजातको माग गर्दै उपचार खर्च लिन छोडेका छैनन् । 

सुनसरीको हरिनगरा गाउँपालिका–२ निवासी इर्फना खातुनले फागुन २ गते मोरङको बुढीगङ्गास्थित विराट मेडिकल टिचिङ अस्पतालमा शल्यव्रिmयामार्फत जुम्ल्याहा शिशुलाई जन्माउनुभयो । दुईमध्ये एउटा शिशु एनआइसियुमा राखेर उपचार गर्नुपर्ने भयो । प्रदेश सरकारले घोषणा अनुसार नवजात शिशुको निःशुल्क उपचार हुने कुराले उहाँलाई केही हदसम्म सन्तोष मिलेको थियो तर विराट टिचिङ अस्पतालले गरेको व्यवहार उहाँले सोचेजस्तो थिएन । उपचारका लागि अस्पतालले जन्मनेबित्तिकैको बच्चाको जन्मदर्ता मागेर रकम लिन थाल्यो ।

सरकारसँग सम्झौता गरेर निःशुल्क उपचार दिन तयार भएका अस्पतालमा धमाधम बिल काट्दै पैसा असुल्दै गरेपछि इर्फनाका दाजु अतिकुर रहमानले सोही क्षेत्रका सांसद इसराइल मन्सुरीमार्फत अस्पतालमा फोन गर्न लगाउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले कुनै सुनुवाइ नगरेपछि नवजात शिशुको डिस्चार्जका लागि ऋण काढेर ७० हजार रुपियाँ बुझाउनु प¥यो ।” अस्पतालले जुम्ल्याहामध्ये एउटा शिशुलाई ५ गते र अर्कोलाई ८ गते डिस्चार्ज दिएको थियो । 

निःशुल्क उपचार गराउने भनेर सम्झौता गरेका अस्पतालले सेवाग्राहीसँग विभिन्न बहानामा रकम असुल्ने गरेको प्रदेश सांसद इसरायल मन्सुरी बताउनुहुन्छ । उहाँले विराट टिचिङमै इनरुवा नगरपालिका–१० का अफ्तना मियाँको उपचारका लागि आफैँले पठाए पनि पैसा असुलेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच हजार एक सय ल्याब र २२ हजारको एनआइसियुको खर्च भएको रहेछ । पटक पटक अनुरोध गरे पनि १७ हजार रुपियाँ भने तिराएरै छोडे छन् ।”

गत शनिबार मोरङ रङ्गेलीबाट फर्कंदै गरेको सिटी सफारी कटहरी गाउँपालिकामा पल्टँदा कटहरी–२, आदर्शटोल निवासी मन्टुराम राजवंशीक तीन वर्षीय छोरी निस्तिया राजवंशी घाइते हुनुभयो । फागुन ५ गते साँझ घाइते बालिकालाई कोशी अस्पताल विराटनगरमा भर्ना गरियो । 

अस्पतालले दाँतको भित्रपट्टिको गिजा फाटेकाले तुरुन्तै शल्यव्रिmया गर्नुपर्ने भन्दै नोबेलमा प्रेषण गरिदियो । आइतबार नोबेलको आकस्मिक कक्षमा बालिकालाई भर्ना गरेपछि तत्काल शल्यव्रिmया गर्नुपर्ने भन्दै अस्पतालले राजवंशी परिवारसँग कागजात माग्यो । बालिकाका बाबुको नागरिकता र बालिकाको जन्मदर्ता बुझाए पनि निःशुल्क उपचार सेवा पाउने प्रावधानविपरीत रकम असुलियो । अस्पताल प्रशासनले आवश्यक कागजात जुटाउन भन्दै अल्झाउने र चिकित्सकले तत्काल शल्यव्रिmया गर्नुपर्ने भन्दै अत्याएपछि मन्टुरामले शल्याव्रिmया शुल्क २९ हजार ५०० र औषधी १८ हजार रुपियाँ तिर्नुभयो । 

सरकारसँग सम्झौता गरेका अस्पतालले नागरिकसँग पैसा लिने गरेको गुनासो आएपछि प्रदेश सांसद अन्सारीले स्वास्थ्य मन्त्रालयका सचिव सुधा देवकोटालाई सम्पर्क गर्दा फोकल पर्सनलाई भन्नुपर्ने जवाफ पाएको बताउनुहुन्छ । मुख्यमन्त्रीसँग कुरा गर्न नसकिएकाले नागरिकसँग हार्नु परेको उहाँको भनाइ थियो । उहाँले मुख्यमन्त्री आफैँले १० वर्षमुनिका बालबालिकाको उपचार जिम्मा लिएको बताए पनि कार्यान्वयनको अवस्था कमजोर रहेको गुनासो गर्नुभयो । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटाले अस्पतालले कार्यव्रmमबारे नबुझेर समस्या भएको हुन सक्ने दाबी गर्नुभयो । निःशुल्क उपचारको विषयमा गुनासो सुन्ने फोकल पर्सन तोकिएकाले प्रत्येक अस्पतालमा सेवाग्राहीले फोकल पर्सनसँग बुझ्नुपर्ने सचिव देवकोटाको सुझाव छ । 

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले गत माघ १५ गतेदेखि १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्न अस्पतालसँग सम्झौता गरेको थियो । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले विराटनगरको नोबेल शिक्षण अस्पताल, हाम्रो अस्पताल, बुढीगङ्गा गाउँपालिकाको विराट शिक्षण अस्पताल, झापाको दमकमा रहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सम्झौता गरी निःशुल्क उपचार गर्ने जनाएको थियो ।