• ५ वैशाख २०८१, बुधबार

डिभाइस प्रेम [कथा]

blog

बोस्टनबाट न्युयोर्क फर्कने क्रममा थिएँ म । ग्रे हाउन्ड बसको सुखद र आरामदायी यात्रामा पनि मन रमाएको थिएन, एक किसिमको विचलित । स्वभावले त यति छिट्टै विचलित हुने मान्छे त होइन म तर पनि परिस्थितिले बनाइदिँदो रहेछ । बसको त गन्तव्य थियो तर मेरो ? कहाँ गएर टुङ्गिने हो ? मेरो आगत । विगतका एक एक पाना पल्टाएर बिर्सिदिउँ जस्तो पनि नलागेको होइन मैले भोगेको वर्तमान । जीवनको लामो यात्रामा बोस्टनदेखि न्युयोर्कसम्मको पाँचघण्टे यात्रा मेरा लागि बेग्लै थियो । बाध्यता थियो । तीन दशकअघिका समय एक एक गरी पल्टाएर रम्न खोज्छु, कहिले हावाका वेगले त कहिले समय स्वयंले बिथोल्थ्यो मन । 

००००

सडक छेउबाट लुखुर लुखुर स्कुले पोसाकमा प्रायः देखिन्थी ऊ सामान्य पहिरन, सामान्य अवस्थामा तर पनि एक किसिमको आकर्षण थियो उप्रति मेरो जिज्ञासा । नदेख्दा ओहोर दोहोर गरेर बिताएका पलहरू कम्ती पीडादायी हुन्थेनन् । नजानिँदो प्रेमले एकोहोरिएको थिएँ । भर्खर सुरु गरेको कलेज जीवनको उत्साहभन्दा उसलाई हेर्ने उत्साह बढी थियो । कोही थिएन उसको बारेमा बताउने, केही अत्तोपत्तो थिएन । यति मात्र थाहा थियो उसको स्कुल जाने आउने समय । त्यति नै बेला मौका प¥यो प¥यो नत्र टट्टाएका आँखा, थाकेको शरीर लिएर घर फर्कनु त्यो पनि नजानिँदो आक्रोश लिएर । 

कलेज जान थालेपछि उमेर र समयले ल्याएको परिवर्तनले उसलाई पछ्याउनेहरूमा म मात्र परिनँ, पक्कै पनि ऊ आफ्नै छनोटको युवकसँग प्रेममा परी होला भन्ने सम्झेँ । तर पनि उसलाई बिर्सन सकिनँ । विजयोत्सव मनाउन टोलटोलमा निस्केका समूहमा आफ्नै साथीभाइसँग हिँडेकाबखत पहिलो पटक देखादेख भयो ऊसँग । उल्लासको त्यो समयमा भिडमा मलाई देखेर होला उसका अनुहारमा एक किसिमको जिज्ञासा देखेँ मैले, जागिरे जीवनको सक्रिय समय क्यामेरा पनि लिएर हिँड्ने बानीले सघायो मलाई । हो त्यही बखत हो भिडमा उभिएकी उसको तस्बिर खिचेर जतनले राखेको । त्यति स्पष्ट नआएको उसको अनुहार, टाढाबाट खिचेको त्यही तस्बिर नै बने मेरा दिनरातका सहारा । 

लेख्दै आएको डायरीका पाना पल्टाएर रोमाञ्चित हुँदै अनिदोमै बिते कैयौँ रात । यसपछि भेटिन थाली ऊ बेलाबखत, चाहेर होइन संयोगले । मलाई त्यहाँ देख्नासाथ फन्केर हिँडेको पनि सम्झेको छु, त्यतिबेला त्यो फन्काइ पनि मायालु लाग्थ्यो । कलेजबाट फर्कंदा पछ्याउनु पनि त दिनचर्या थिए मेरा । मान्छे किन यस्तरी मायामा डुब्दो रहेछ भन्ने उदाहरण त म नै थिएँ । 

पहिले मायाले हेरेको उसैलाई बैँसालु नजरले हेर्न थालेँ । उसको अनुहार र यौवनले थपेको सुन्दरताले झन् बढी आकर्षित बनेँ, माया गर्न थालेँ उसलाई । संवादहीनताको माया, यही शृङ्खलामा पनि बिते तीन वर्ष र पनि म थाकेको थिइनँ । म उसलाई माया गर्छु भन्ने कुरासम्म पत्तो नदिई एकोहोरो । यसरी पनि माया गरेर मान्छे बाँच्दो रहेछ, जसलाई माया ग¥यो उसैलाई थाहा दिन नसक्ने कस्तो मायामा बाँचेछु म । परिभाषामा पनि नसमेटिएको यो कस्तो माया हो ? झिनो आशा बोकेर बिताएका यी दिनहरू हातलाग्यो शून्य सरी भए, संवादहीनताका शृङ्खला, एकहोरो हेराइबाहेक केही प्राप्ति भएन, खै कस्तो प्राप्तिको खोजीमा थिएँ म ? 

डायरीका पाना भरिँदै गए, समय सँगसँगै । अनेकौँ प्रयत्नबाट पाएको टेलिफोन गर्न पनि साहस थिएन, साथी भाइले सघाउनुपथ्र्यो । अब त यस्तो पनि दिन आउन थाले म ऊसँग आफैँ फोनमा कुरा गर्न सक्ने भइसकेको थिएँ । यो क्रम धेरै चलेन । एक दिन उसले भनिदिई– “हेर म तिमी जस्तो होइन म आफ्नो करिअर बनाउन अमेरिका जाँदै छु, मेरो पछि नलाग ।” बल्ल आकासिएर चेट हुन पुगेको चङ्गा जस्तै मेरा सपना चकनाचुर भए, आफैँले बनाएको घर आफ्नै आँखा अघिल्तिर ढले जस्तै । टलपलाएका आँसुबाहेक मेरो साथमा केही थिएन । मेरो आशाको त्यान्द्रो पनि चुँडिए जस्तै लाग्यो । 

यसपछि भने हिम्मत भएन जसलाई माया ग¥यो उसकै आग्रहलाई नमानेर मैले कस्तो माया गर्छु जस्तो लाग्यो । नजिकै भएर हो कि मन नमानेर हो त्यही बाटोलाई पछ्याउन थालेँ, पहिले उसलाई देख्न नपाउँदा छटपटी अब उसले देख्ली भन्ने छटपटी । त्यसपछि ऊसँग देखादेखसम्म नभई तीन दशक बिते ।

००००

“तिमी सोडा लिन्छौ कि ?” 

उसको प्रश्नले फेरि बिथोलिन्छु म जसरी मेरो जीवनको तमाम सपनालाई बिथोलेकी थिई उसले । 

“नो थ्याङ्क यु ।” 

उसले प्रेमपूर्वक गरेको प्रस्तावमा पनि एक किसिमको आक्रोश पोख्छु म । ऊ बेलाबखत मलाई हेर्थी, मेरो अनुहार पढ्न खोज्थी, मायालु अनुहारले मेरो उत्तरको प्रतीक्षा गरे जस्तै देखिन्थी । राता र रसिला आँखा देखेरै होला हातमा टिस्यु पेपर दिँदै ऊ स्वाभाविक बन्छे, “ल धेरै सेन्टी हुने होइन, साइकल कुदाएर मेरो पछिपछि कुद्ने बदमास मान्छे अब सेन्टी पो हुन थाल्यो है, मलाई सेन्टी मान्छे मन पर्दैन ।”

“तिमीले नै बनायौ ? अब तिमीलाई नै मन नपर्ने ? 

“ए बाबा ! अहिलेको कुरा हो र ? मलाई केही थाहा थिएन निमेष, तिमी पछि लागेको नै मलाई मन पर्दैनथ्यो, किन आउँछ यो भन्दै त्रास बोकेर हिँड्थे म । कतिपय बखत साथीभाइले लौ आयो तँलाई पछ्याउने मान्छे भन्दा पनि आव्रmोश पोख्थेँ । तिमीलाई याद छ ? एक पटक तिमी आफ्नो साथीसँग ब्रिटिस काउन्सिल आउँदा मेरो पारा चढेको थियो यहाँ पनि आइपुग्यो यो भन्दै म रिसाएर हिँडेकी थिएँ । तिमीलाई किन ढाँट्नु म पटक्कै मन पराउन्न थँे तर मनमा चाहिँ लाग्थ्यो किन यस्तरी मेरो पछि लागेको होला विचरा जस्तो पनि लाग्थ्यो । आज फरक छ समय तिमीले गरेको प्रेमले म पग्लिएँ, हिजो मन नपरेको मान्छे आज सबैभन्दा प्यारो मान्छे लाग्न थाल्यो, हिजो अघिल्तिर पर्दा रिसाउने मान्छे आज अघिल्तिर पर्न नपाउँदा छटपटिन्छु । हिजो मन नपरेको तिमी आज किन यति मनपर्ने भयौ ? के जादु छ तिमीमा थाहा छ ? तिम्रो सरलताले तिमीले लेखेर राखेका मुटु छुने गीत कविता, तिम्रो अभिव्यक्ति कला, समयबद्ध भएर चल्ने अनुशासित जीवन अनि सधैँ उस्तै देखिने मायालु अनुहार । यो सबै तिम्रो मायाले हो निमेष तिमीले जितेरै छाड्यौ म हारेँ ।”

 बसबाट बाहिर नियालिरहेको म उतिरै फर्कंदै सोध्छु– “यहाँ जित हारको कुरा कहाँबाट आयो तिमी हार्नु भनेको मैले पनि त हार्नु हो ।”

“अब ढिलो भयो निमेष ! हामी आआफ्नै संसारमा रमाइसक्यौँ, के अब सम्भव छ ? तिमीले मबिना बाँचेका दिन सम्झ त बाँच्न त सकिँदो रहेछ नि, के त्यसरी नै बाँच्न सक्दैनौँ हामी ?

ऊ प्रश्नमाथि प्रश्न गर्दै थिई । सम्झौताको एउटा मोडमा ल्याएर हाम्रो प्रेमलाई डिभाइस प्रेमको नामकरण गरेर उसैले भनेकी थिई, “अबका दिन हामी डिभाइसका माध्यमबाट मात्र जोडिने हो । अमेरिका बसाइका यी दुई साता नै हाम्रो मायाको आरोहण सम्झ र सम्झ अवतरण पनि दुखद अवतरण । सफल अवतरण नगर्दा त हामीले चलाएको जहाजका यात्रुको अवस्था कस्तो होला निमेष । सोचेका छौ कहिले ? हाम्रो मायाले उनीहरूमाथि अन्याय गर्न सक्छौ ? सक्दैनौ । म पनि सक्दिनँ ।” एकै सासमा भनिभ्याएकी थिई । 

००००

सबिना उसको प्रिय साथी मिल्ने पनि उत्तिकै । उही थिई मेरो झिनो सहारा । अलि पहिलेकी परिचित भएकाले सबिनासँग अलि खुलेर कुरा गर्न सक्थेँ । मेरो मायाको साक्षी र उसको तिरस्कारको एक साथ साक्षी बसेकी थिई ऊ, पछि थाहा पाएँ । करिएर बनाउने नाममा दुवै जना विदेश गएपछि भने रित्ता सडकबाहेक मेरा लागि केही रहेन, वर्षौं बिते । 

००००

३२ वर्षपछि अचानक एक दिन सबिनाले भनी दिई, “मेरो साथीले तपाईंलाई सम्झेको छ रे । एक पटक कुरा गर्छु भनेकी छ, कनेक्ट गराई दिऊँ ?”

यो त मेरा लागि अवसर हो नि । “उसले मलाई सम्झिँदो रहेछ ? उसलाई भनिदिनू, म उसलाई अझ त्यत्तिकै माया गर्छु जस्तो पहिले गर्थें ।” 

इनबक्समा हाई लेखेर उसैले थाली संवादको थालनी । 

अकल्पनीय ।

हो यति लेखेको थिएँ मैले अरू के कुरा गर्ने केही सोच्नै सकिनँ । 

३२ वर्षपछिको हतारो थियो हामीमा । यसपछि भने दिनचर्या नै फोन बनिदियो । किन यस्तरी हामी नजिक भयौँ न उसलाई थाहा थियो न मलाई बस हामी नजिक भयौँ, भूगोलको वल्लो छेउ र पल्लो छेउ बसेर हामी एक भयौँ मायाको फेरो समाएर । कहिले भेट्ने ? कसरी भेट्ने अब के गर्ने ? के अब यो सम्भव छ ? यस्तै प्रश्न र पुराना कुराका रोमाञ्चले झनझन नजिक । धेरै नजिक नआऊ है छुट्टिन गाह्रो पर्ला बेलाबखत सम्झाउँथी ऊ । 

  एटलान्टाको स्टोन माउन्टेन हेरेर फर्किंदा सँगै बसेर कफी खाँदा ऊ बढी रोमान्टिक बन्न पुगेकी थिई । आफ्ना कोमल हात मेरा हातमाथि राख्दै उसले लजालु आँखाले हेर्दै भनेकी पनि थिई, “हेर त निमेष समय पनि गजब हुँदो रहेछ, यतिका वर्षपछि हामी यसरी सँगै बसौला भनेर कहिले सोचेका थियौ ? मैले त कल्पना पनि गरेकी थिइनँ, तिमी त एकहोरो लागिरहने मान्छे तिमीले के सोचेका थियौ ?”

“मैले ?”

मेरो प्रश्नले ऊ झन् मायालु बनिदिन्छे । प्रश्नको जवाफ दिन पनि पाएको थिइन ऊ अलि भावुक बनिदिन्छे– “हेर त कस्तो समयमा हामी आइपुग्यौँ, न अघि बढेर कुनै निर्णय गर्न सक्छौँ न एकअर्कालाई बिर्सन । म त विचलित हुन थालिसकेँ । तिमी पनि भन न खालि मलाई एकहोरो हेरेर बसिरा’छौ । अब यसरी हेर्न पाइन्छ कि पाँइदैन भने झैँ गरी । स्टोन माउन्टेनका सुन्दर आकृति ननिहाली तिमी पनि । रोमान्टिक बन्न तिमीलाई सिकाउनै नपर्ने होे नि तिमी त भावुक बढी, जीवन यसरी चल्दैन निमेष भावुकता लेखनमा काम लाग्ला, यथार्थ अलि कठोर छ तिमी यथार्थ बुझ्न खोज ।”

 “निमेष के गरेको तिमीले यस्तो ?” अनायास उसको प्रश्नले पिरोल्छ मलाई । 

“के गरेँ र मैले ?” 

“के गरेनौँ भन न ? किन यस्तरी माया गरेको मलाई ? भन किन ? अब त तिमीले माया नगरे पनि म आफैँ तिमीलाई छोड्न सक्दिनँ । प्लिज मलाई बचाऊ, जाऊ फर्क, अब हामी कुरा नगरौँ, यतिन्जेलसम्म त केही बिग्रेको छैन, यसरी नै अघि बढ्ने हो भने जे पनि हुन सक्छ बिन्ती हामी आआफ्नो बाटो लागौँ ।”

“तिम्रो इच्छा यही हो भने म तयार छु । तिमीले त दुई महिना, मैले त ३२ वर्षदेखि निरन्तर माया गरेको छु, गरी नै रहने छु । तिमी अमेरिकामा आफ्नो प्रेमीसँग समुद्र तटमा हात समाएर जिस्किरहँदा म नदी किनारमा तिमीलाई खोज्दै आँसु बगाइहिँड्थेँ । भूगोलबाट टाढ भए पनि मनबाट तिमी कहिले टाढा हुन सकिनौ । यो भेट त सबिना र तिम्र्रै इच्छा अनुसार न हो, अब नभेट्ने भन्छौ भने भन्नु केही छैन । नेपालबाट तिमै्र आग्रहमा अमेरिका आएँ, तिम्रै पाहुना बनेँ अब तिम्रै आग्रहमा फर्कन्छु । आउँदा उत्साह बोकेर आएको थिएँ, फर्कदा रित्तो हात फर्कंदै छु । मनभरी तिमी लिएर ।” 

००००

हामी अब न्युयोर्क आउन लाग्यौँ चालक दलले भित्रबाट दिएको खबरले झन कमजोर बन्न पुगेँ म । ओभाउन थालेका आँखा पुनः रसाउन थाल्छन् । चारघण्टे यात्रा जुरेको थियो अब त्यो पनि टुङ्गिने भयो ? कस्तो बसमा यात्रा थालेछु मैले ? बसले त फेरि गति लिन्छ, अबको मेरो जीवन यात्रा ? सम्झिँदै सम्हाल्न सकिनँ । अब ओर्लने बेला भयो आफूलाई सम्हाल भन्दै ऊ हात समाउन पुग्छे । गुडिरहेको बसबाट झ्यालतिर हेर्दै ऊ आँसु लुकाउन खोज्छे । उसको तातो हातमाथि बरर झरेका मेरा ताता आँसुबाहेक अब न्यानोपन नै के रहला र ? सायदै आँसुलाई नै उसले प्रश्न सम्झी क्यारे । यही आँसुका न्यानोपनले नै हाम्रो मायाको न्यानोपनलाई सम्झाइरहने छ निमेष । मायाको न्यानोपनले मलाई उसको मायाको अन्तिम स्पर्श दिएको भान हुन्छ र भक्कानिन पुग्छु ।

 “यात्रा त फेरि पनि होला तर तिमीसँगको यात्रा फेरि हुन सक्ला र ?” उसैसँग गरेको सम्झौताबाट उम्कन खोज्छु म । ऊ पनि भावुक बन्न पुग्छे । 

“तिमीलाई सम्झाएर नसक्ने भएँ म । तिमीले सोचे जस्तो खोजे जस्तो हुने भए यो संसारमा पीडा, विछोड जस्ता शब्दसित हामी परिचित नै हुने थिएनौ होला ।” 

उसका आदर्शका कुरा र मेरा भावनाका कुरा हो यहीँनिर मेल खाँदैनन् । 

“प्रेममा पीडा भोगेर बाँच्दाको आनन्द तिमीले लिन सकेकी छैनौ निशा, म तिम्रो प्रस्ताव स्विकारेर बसौँला तर तिमी ? यो कस्तो मोडमा ल्याएर सम्झौता गर्दै छौँ हामी ? यो कस्तो परिस्थितिको सामना गर्दै छौँ हामी ? तिमी त सक्लाऊ दुई महिनाको माया न हो तिम्रो, मेरो त ३२ वर्षको माया हो एकहोरो ।”

“माया गरेको ३२ वर्ष भएर के गर्नु स्वभाव अझै २३ वर्षको जस्तो छ तिम्रो, जति सम्झाए पनि नसम्झने ।” 

निशाले मलाई २३ वर्षेको उपमा दिई । 

म भने अबको यात्रा सोच्न थाल्छु अब रेल चढेर भर्जिनिया जानु छ मलाई, अर्को हप्ता त नेपाल फर्कनु छ । अमेरिका बसाइका यी दुई महिनामा म छ्याङ्ङ खुलेको आकाश जस्तै बन्न पुगेको थिएँ, उसको सम्झौताको प्रस्तावले । 

“तिमी मलाई माया गर्छौ होइन निमेष ?” 

“हो आफूलाई भन्दा बढी ।”

“उसो भए म प्रस्ताव गर्छु मान्छौ त ?” 

“भन न !” म उत्साहित बन्न पुग्छु ।

“अबको हाम्रो माया भेटघाटमा होइन डिभाइसमा मात्र सीमित राखौँ, हो यही सम्झौता गर्न मैले अमेरिका बोलाएर झन्डै दुई महिना कुराएँ, अब तिम्रो र मेरा लागि यही नै अन्तिम अस्त्र हो । तयार छौ ?” 

“के मैले आफ्नै मायामा पूर्णविराम लगाउनु पर्ने ?”

“कसले भन्यो तिमीलाई ? तिमी आफू मात्र माया गर्ने सम्झन्छौँ ? मैले गरेको माया कहिले नसोच्ने ? खालि आफ्नो मात्र नसोच निमेष । तिमी व्यक्त गरिरहन्छौँ, म गर्दिनँ, तिमीले जति नगरे पनि मेरो माया कम छैन । म हाम्रै मायाको निरन्तरताका लागि प्रस्ताव गरिरहेको छु । माया गर्दैमा बिहे गर्नुपर्छ भन्ने सोचाइ नै व्यर्थ लाग्छ मलाई ।” 

आफ्नै मायामा पूर्णविराम लाउनु पर्ने प्रस्तावमा सहीछाप गर्ने म नै थिएँ । मात्र उसको मायाले । 

००००

बस रोकिएको थिएन, आँखाबाट आँसु झर्ने क्रम पनि रोकिएको थिएन, म एकहोरो विगत उधिनेर सोधिरहेको थिएँ उसलाई । “आफ्नो भविष्य बनाउँदा अर्काको भविष्य बिग्रेको कहिले सोचेनौ ?” 

“कसरी सोच्ने मैले ? तिमीले कहिले प्रस्ताव ग¥यौ मलाई ? एकहोरो पछि लाग्दैमा मैले के बुझ्ने ? भन, तिम्रो माया त लाग्न थालिसकेको थियो निमेष तर तिमीले कहिले मलाई प्रस्ताव गरेनौँ । आफूले नसक्ने भए पनि साथीभाइ त थिए नि, आफन्त थिए । पानीमाथि ओभानो बन्न नखोज । तिमीले प्रस्ताव नगरेर ममाथि अन्याय गरेकै हौ । ल अब यथार्थमा फर्क तिम्रो रेल यात्रालाई अझ एक घण्टा छ, म अब तिम्रो बेस्ट कफी ख्वाउँछु स्टारबक, लेट मी पे फर योर कफी, तिमी त मेरो पाहुना हो नि ।” 

हो यही कुराले म रन्थनिएँ । 

“हो म पाहुना हुँ, त्यसमा पनि तिम्रै निम्तोमा तिम्रै देशमा बसेको छु, मायामा त पाहुना बनायौ निशा अब कफी खाने बेलामा के फरक पर्ला र ? रह्यो पैसाको कुरा कफी खाएको त तिर्लाऊ तर मेरो मायाको हिसाब मागेंँ भने ? मैले सहेका चोट र पीडाका, बगेका आँसुको हिसाब मागेँ भनेँ ? मायामा कसरी पाहुना बन्न सकेँ म, अस्थायी शिविरमा बसेको यात्रु हुँ म ? मैले भोगेका विगतलाई तिमी के भन्छौ ? भन न ।”

“फेरि सुरु भयो पिञ्चेको, तिमी त जे कुरामा पनि अर्थ खोज्छौ । छाड यी कुरा धन्न सबिनाले कनेक्ट गराएर हामी जोडिन पुग्यौँ । तिमीले कहिले खोज्यौ मलाई ? मभन्दा पहिले बिहे गर्ने तिमी नै होइनौ ? डिभाइसको यो दुनियाँमा गारो त थिएन निमेष मैले त तिम्रो बारेमा सबै थाहा पाइसकेको थिएँ र त माया गर्न थालेको थिएँ । मैले यति पनि नगरेको भए तिमी दुःख र विरहका कविता मात्र लेखेर बस्थ्यौ । हाम्रो मायाको नयाँ शृङ्खला यसरी जोडिन गाह्रै पथ्र्याे । त्यही पीडाले त हो निमेष अचेल आफूलाई भन्दा तिमीलाई माया गर्ने भएकी छु, सम्झ ३२ वर्षसम्म एउटीकै पछि लाग्ने तिम्रो प्रेमले कसलाई परास्त नगर्ला, म त भएँ, तिमीले जितेरै छाड्यौ मेरो मनलाई । हो यी सबै कुरा गर्न तिमीलाई भेट्न, हेर्न र प्रत्यक्ष माया गर्न सबिना र मैले तिमीलाई यहाँ बोलाएको । तिमी त अद्भुत मान्छे, दुनियाँमा यस्ता पनि मान्छे हुँदा रहेछन्, मायाको अनुपम उदाहरण हौ तिमी ।” धाराप्रवाह बोली ऊ ।

उसको बोलीसँगै समय नजिकिँदै थियो यात्राको, तातो कफीका बाफसँगै छेलिएर बगेका आँसु देखेर भनिदिन्छे, “अब यो आँखाबाट आँसु खसेको देखें र थाहा पाएँ भने सम्झन्छु तिमीले मलाई माया गरेकै रहेनछौ, जाऊ अब हाम्रो माया झन प्रगाढ बन्छ अब डिभाइसका माध्यमबाट ।” 

अवरुद्ध स्वरले अन्तिम पटक उसैको भूमिमा प्रश्न गर्छु, “यी आँखाबाट आँसु बगे के तिमी डिभाइसका माध्यमबाट पुछ्न सक्छौ ?”

अलिकति लजाएर ऊ सहजै भनिदिन्छे, “त्यसलाई डिलिट गरिदिन्छु, अब सेभ नगर ल ?” म नआए पनि बेलाबखत मेरा तस्बिर तिम्रा साथी हुने छन् निमेष । 

“अब त तिम्रो सम्झना र यो मायाबाहेक मसँग सेभ गर्ने अर्थोक रहेन निशा ! म घडी हेर्छु । ऊ मोबाइल हेर्छे । सायद मोबाइलको समय । दुई जना उठ्छौँ । झर्न खोजेका आँसुलाई सम्हाल्दै बिदा लिएँ । बाई निशा !   

Author

जयदेव भट्टराई