• २३ वैशाख २०८१, आइतबार

राजा च्याउ

blog

आरबी बुढाथोकी

संसारमा सयौँ थरीका च्याउ पाइन्छन् र च्याउ धेरै मानिसको प्रिय खाद्यवस्तु पनि हो । घरमा मात्र होइन होटल रेस्टुरेन्टमा पनि च्याउको थरीथरीका परिकार पाक्ने गर्छ ।

शाकाहारीका लागि च्याउ पोषण प्राप्तिको एक उत्तम विकल्प हुन्छ । मासुको भन्दा धेरै परिकार बनाउन मिल्ने च्याउको राजा मानिने ‘किङ ओएस्टर’ च्याउ नेपालमा हाल चर्चामा छ ।

स्वास्थ्यका हिसाबले पनि अत्यधिक स्वास्थ्यवद्र्धक यो च्याउ व्यावसायिक हिसाबले पनि बजार लिँदै गएको छ । पाँचतारे होटलदेखि रेस्टुरेन्ट र घरमा यो च्याउको माग बढ्दो छ ।

पूर्ण रूपमा अर्गानिक तवरबाट खेती गरी उत्पादन गरिने यो च्याउ शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन उपयोगी मानिन्छ ।

स्तन र प्रोस्टेट क्यान्सरबाट बचाउनेदेखि पुरुषत्व बढाउनसमेत यो च्याउ उपयोगी हुने विज्ञहरूको भनाइ छ । औषधीय गुणले समेत भरिपूर्ण यो च्याउ मोटोपना घटाउन पनि उपयोगी मानिएको छ ।

मधुमेहदेखि मुटुरोग र ट्युमरका रोगीले पनि यो च्याउ नियमित रूपमा खान सक्छन् । लामो समय भण्डारण गर्न सकिने हुँदा यो च्याउ अन्य तरकारीका तुलनामा सबै हिसाबले राजा नै मानिएको छ ।

राजा च्याउका परिकार

‘किङ ओएस्टर’ च्याउबाट कैयौँ स्वादका परिकार बनाउन सकिन्छ । यो च्याउको छोइला सबैभन्दा मन पराइएको परिकारमध्ये एक हो । यो परिकार होटल, रेस्टुरेन्टको शाकाहारी मेनुको उपल्लो दर्जामा राख्ने गरेका छन् ।

यसबाहेक साँधेको च्याउ, डामेको च्याउ, झानेको च्याउ, तरकारी, टिमुरे च्याउ, च्याउको मम, च्याउको थुप्पा, च्याउको चाउमिन, च्याउको सुप, च्याउ सेकुवालगायत कैयौँ परिकार बनाउन सकिन्छ । मटर पनिर, खुम्बका सोर्बा, हट गार्लिक च्याउ, सते च्याउ पाकचोय, ओएस्टर गार्लिक च्याउ, हुनान तोफु च्याउ, सेज्वाना च्याउ, साम्बल च्याउ, ब्लेकबिन च्याउ, च्याउ मन्चुरियन, च्याउ डिमसम, च्याउ स्टप बाओ, च्याउ कोङपाउ, केन्टुनिज च्याउ, मङ्गोलियन च्याउ, हङकङ स्टाएल च्याउ, क्रिमी च्याउ सुप, फ्रेन्च च्याउ प्राउन थर्मिडोर, च्याउको क्यानपी, च्याउ टिक्की, च्याउ टिक्का, चिज च्याउ क्रुकेट, च्याउ पिज्जा, च्याउ पास्ता, चिज स्टप च्याउ, बार्बिक्यु च्याउ, च्याउको सलादलगायत सयौँ परिकार यो च्याउको तयार पार्न सकिन्छ ।   

Author

आरबी बुढाथोकी