बोमलाल गिरी
नवलपुर, फागुन ११ गते । अनुचित लेनदेनमा मुछिएको नवलपुरको हुप्सेकोट गाउँपालिका–४, शङ्खदेवको श्री शिक्षा बोधनी (सामुदायिक) माध्यमिक विद्यालय र पीडित स्थानीय भीमबहादुर दर्लामी पक्षबिच गाउँपालिकाको न्यायिक समितिमा छलफल गर्ने सहमति भएको छ । न्यायिक समितिमा पनि सहमति नभए छानबिन समिति बन्ने भएको छ ।
यसअघि दुवै पक्ष एक ठाउँमा बसेर छलफल गर्न अस्वीकार गरिरहेका थिए । गोरखापत्र दैनिकले गत पुस २४ गते ‘विद्यालयको मिटरब्याजी प्रवृत्ति, चालिस हजारको ब्याज ११ लाख’ शीर्षकमा समाचार प्रकाशन गरेपछि पीडित पक्षले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेको थियो भने विद्यालयले न्यायिक समितिमा निवेदन दिएको थियो तर न्यायिक समितिले दुई पटक बोलाउँदा पनि पीडित पक्ष उपस्थित भएन भने प्रहरीले पनि दुई पटक कार्यालयमा बोलाउँदा विद्यालयका तर्फबाट उपस्थिति भएन ।
बुधबार प्रहरीले पुनः ताकिता गरेपछि प्रधानाध्यापकसहित विद्यालय व्यवस्थापन समिति उपस्थित भयो । प्रहरीको रोहबरमा विद्यालय व्यवस्थापन समिति, न्यायिक समिति र मिटरब्याज तथा अनुचित लेनदेनविरुद्धको सङ्घर्ष समिति संयुक्त रूपमा बसेर छलफल गर्न दुवै पक्ष राजी भएका प्रहरीले जनाएको छ ।
४० हजार रुपियाँ लगानी गरेर चार लाख ६४ हजार ७९८ रुपियाँ असुल गरिसकेर पनि थप छ लाख ३६ हजार ७९६ रुपियाँ तिर्न ताकिता गरेको विद्यालयले त्यसको प्रमाण पेस गर्न असफल भएको ऋणी पक्षको दाबी छ । प्रहरीले पटक पटक ताकिता गरेपछि छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको विद्यालय पक्षले स्थानीय भीमबहादुर दर्लामीलाई थप तीन लाख रुपियाँ ऋण दिएको दाबी गरे पनि त्यसको प्रमाण पेस गर्न असफल भएको छलफलमा सहभागी अभियन्ता जनक थापाले जानकारी दिनुभयो ।
तर विद्यालय व्यवस्थापनले भने प्रमाण रहेको दाबी गरेको छ । “प्रमाण जहाँ पायो त्यहीँ बोकेर हिँडिन्न, आवश्यक परेको ठाउँमा देखाउन सकिन्छ,” विद्यालयका प्रधानाध्यापक दुर्गासिंह सारुले भन्नुभयो । छलफलबाट निकास निस्कने र भीमबहादुर दर्लामी पीडित भए उहाँले न्याय पाउने प्रअ सारुले बताउनुभयो ।
प्रहरीले पनि तीन लाख रुपियाँ लगानीमा गडबड भएको आशङ्का गरेको छ । “पहिलो पटक दुवै पक्षलाई राखेर छलफल गरियो । न्यायिक समितिमा छलफल गर्छाैं भन्नुभएको छ, सहमति नभए छानबिनका लागि समिति बनाउने समझदारी भएको छ,” जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले भन्नुभयो ।
यसअघि पीडित भनिएका भीमबहादुर दर्लामीका छोरा पदमबहादुरले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रशासनले दुवै पक्षलाई झिकाई छलफल गराएर समस्या समाधान गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो ।
यस्तो छ घटना
एक दशकअघि स्थानीय दिलबहादुर राईले विद्यालयबाट ४० हजार रुपियाँ ऋण लिनुभएको थियो । उहाँले अर्का स्थानीय बेलबहादुर खालसँग पैसा लिनुपर्ने भएकाले त्यो ऋण खाललाई थमाइयो । खालले पनि अर्का स्थानीय भीमबहादुर दर्लामीसँग लिनुपर्ने भएकाले त्यो ऋण दर्लामीको काँधमा आयो ।
त्यसको ब्याज अहिले दर्लामीले तिरिरहनुभएको छ । उहाँले हालसम्म ४० हजारको चार लाख ६४ हजार ७९८ रुपियाँ तिरिसक्नुभएको नगदी रसिदले देखाउँछ । अझै छ लाख ३६ हजार ७९६ रुपियाँ ऋण तिर्न बाँकी रहेको भन्दै विद्यालयले ताकिता गर्दै पत्र पठाएपछि घटना बाहिर आएको हो ।