ठाकुरप्रसाद आचार्य
बागलुङ, फागुन १० गते । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । बुधवारदेखि पञ्चकोटमा सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आउनुभएको हो ।
राष्ट्रपति पौडेलले पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन,यज्ञमण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गर्ने कार्यक्रम तय भएको महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।
पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न १५ दिनसम्म सञ्चालन हुने ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको हो । महायज्ञको बुधवार नौ वर्षमुनिका एक सय ८ जना कन्याबाट सामूहिक रूपमा दीप प्रज्वलन गरेर शुभारम्भ गरिएको थियो ।
पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएको महायज्ञ नेपालमै पहिलो भएको महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताउनुभएको छ ।
जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञ मार्फत जल सम्पदाको संरक्षण,पर्यटन प्रवर्द्धन गर्नुका साथै मौलिक धर्म संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्य ाउँदै पञ्चकोटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्य रहेको महायज्ञका सङ्कल्पकर्ता कमलनयनाचार्यले बताउनुभयो । महायज्ञ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।