काठमाडौँ, फागुन १० गते । नेपाल भाषाका दुई कलाकार यमन श्रेष्ठ र सुरजवीर वज्राचार्यको गायनमा रहेको दुई म्युजिक भिडियो एकै पटक सार्वजनिक गरिएको छ । यमनको स्वरमा रहेको गीत ‘यःमां जितः ब्याहा यानाब्यु’ र सुरजवीरले गाउनुभएको ‘का रे मयजु’ गीतको म्युजिक भिडियो
सोमबार सार्वजनिक गरिएको हो । दुवै म्युजिक भिडियो वरिष्ठ चलचित्रकर्मी नीर शाहले सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा शाहले नेवार समुदाय मूर्तअमूर्त सम्पदा र संस्कृतिमा धनी भएकाले म्युजिक भिडियोमा नेवाः समाजकै मौलिकता देखाएर उत्कृष्ट म्युजिक भिडियो निर्माण गर्न सकिन्छ भन्नुभयो । सङ्गीत र चलचित्रको माध्यमबाट नेवाः सभ्यता नयाँ पुस्तामा पुस्तान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।
‘यःमां जितः ब्याहा यानाब्यु’ का रचनाकार र सङ्गीतकार कृष्णभक्त महर्जन हुनुहुन्छ भने निर्देशन राजन शाहीले गर्नुभएको छ । रूपेन श्रेष्ठ ‘थक्वाःमि’, कृष्णभक्त महर्जन, अनिता ताम्राकारलगायतका कलाकारको अभिनय रहेको भिडियोको गीत ग्रेटर नेपाल इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
‘का रे मयजु’ गीतको निर्देशन बालमुकुन्द प्रजापतिले गर्नुभएको छ भने गीतका रचनाकार गायक सुरजवीर नै हुनुहुन्छ । सङ्गीत सुरज व्यञ्जनकारले दिनुभएको छ भने गीतमा रविता बाके, सीताराम माकः, महेश हाडालगायतको अभिनय छ ।