• ११ मंसिर २०८१, मङ्गलबार

पालिकाले आफ्नै पाठ्यपुस्तक बनाउँदै

blog

आँधीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक बनाउँदै । तस्विरः अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, फागुन ९ गते । आँधीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक बनाउने काममा तीव्रता दिएको छ । एक वर्षबाट कक्षा १ देखि ८ मा पाठ्यक्रमको आधारमा स्थानीय सामग्री पढाएको आँधीखोलाले आगामी आर्थिक वर्षबाट पुस्तकबाट पढाउने गरी तयारी थालेको हो ।  

गाउँपालिकाले जनप्रदीप माविका प्रअ डिलबहादुर थापाको संयोजकत्वमा पाठ्यक्रम तथा पाठ्यपुस्तक उपसमिति निर्माण गरी पुस्तक बनाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो । 

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकको लेखनको काम सकिसकेको तथा ६ देखि ८ को अन्तिम चरण पुगेको अधिकारीले बताउनुभयो । यहाँ विज्ञहरूको सल्लाहअनुसार नौ वटा टिम बनाएर विधागत हिसाबले लेखनको काम भइरहेको पालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । 

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारले आफ्नो क्षेत्राधिकार भित्रका आवश्यक विषयवस्तु समेटेर पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न सक्ने निर्देशिका जारी भएसँगै स्थानीय तहलाई स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने बाटो खुलेको छ ।

स्थानीय तहले पालिकाभित्र रहेका विभिन्न भाषा, धर्म, संस्कार, संस्कृति, कृषि, पर्यटन, कला, वन, जडीबुटी, सम्पदासहितका विषयवस्तु समेटेर पाठ्यपुस्तक तयार गरेका छन् । यहाँ भीरकोट र वालिङ नगरपालिका तथा फेदीखोला, बिरुवा र कालीगण्डकी गाउँपालिकाले कक्षा १ देखि ८ सम्म, अर्जुनचौपारीमा कक्षा १ देखि ५, पुतलीबजार नगरपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम बनाएर पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गरिरहेको छ ।  

चापाकोट नगरपालिका, हरिनास गाउँपालिकामा कक्षा १ देखि ८ को पाठ्यक्रम निर्माण गरी पाठ्यपुस्तक निर्माण गर्ने तयारी गरेका छन् । गल्याङ नगरपालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गरी आंशिक रूपमा पठनपाठन गराएको छ । स्थानीय तहले पाठ्यक्रम र पाठ्यपुस्तक बनाएर पठनपाठन गराउन थालेसँगै विद्यार्थीले आफ्नो पालिका विषयबारेमा थाहा पाउने अवसर पाएका छन् ।