नेत्र शाही
जुम्ला, फागुन ८ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले सहरी सरसफाइ योजना कार्यान्वन गर्न लागेको छ । नगरपालिकाले वि.सं २०७७ सालमा निर्माण गरिएको सो योजनाको प्रभावकारी कार्यान्वयनका लागि छलफल सुरु गरेको हो ।
नगरपालिकाले जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकमा कार्यायोजना कार्यान्वयनका विषयमा केही विषयमा प्रथामिकता राखेको छ । चन्दननाथ नगरपालिका विपत तथा फोहाेरमैला व्यवस्थापन शाखाले नगरशहरी सरसफाइ योजनाको कामको विषयमा प्रस्तुतीकरण गरेको छ । शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले प्रस्तुत गर्नुभएको योजनामा सहरी सफाइ योजनाको उद्देश्यमा चर्पीहरुको सुविधाहरुमा पहुँच तथा यसको स्वच्छकर प्रयोग, दिसाजन्य व्यवस्थापन, ठोस फोहर व्यवस्थापन, व्यक्तिगत स्वच्छता, स्वच्छ सफा वातावरण र स्वस्थ सहर छ ।
चन्दननाथ नगरपालिकाले सो अनुसार ठोस फोहाेर व्यवस्थापनका लागि चन्दननाथ नगरपालिकाका वडा नम्बर २ को दुनादुनैमा फोहाेर व्यवस्थापन स्थान स्थापना गरिएको छ । यद्यपि त्यस क्षेत्रमा जाने वाटो अपग्रेड गर्न आवश्यक छ ।
यस्तै, जुम्लामा सहरीकरण बढ्दै गइरहेको समयमा दिशासन्य लेदो पदार्थ व्यवस्थापनका विषयमा प्रक्रिया अगाडि बढेको छ । चन्दननाथ नगरपालिका वडा नम्बर १ मा दिसाजन्य लेदोको अस्थायी व्यवस्थापनका लागि (ट्रेन्चिङ साइड) निर्माण गरिएको छ । सो स्थानमा ट्रयाङकर लिएर व्यवस्थापन भइरहेको हो । सो व्यवस्थापनका लागि एसएनभि नेपालले सहकार्य गर्दे आएको छ । एसएनभि नेपालका खानेपानी सरसफाइ स्वच्छता समन्वय अधिकृत नन्दलाल धरालालाका अनुसार चन्दननाथ नगरपालिकामा रु १२ लाखको लगानीमा दिसाजन्य लेदोको अस्थायी व्यवस्थापनका लागि (ट्रेन्चिङ साइड) निर्माण गरिएको छ ।
जुम्ला सदरमुकाम खलङ्गामा बजार बढ्दै गइरहेको र दिसाजन्य पदार्थ व्यवस्थापन गर्न कठिन भइरहेकाे समयमा सो क्षेत्र निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले अद्यावधिक सरसफाइ योजनामा ५ वर्षको अवधिमा सरोकारवालासँग सहकार्य गर्ने, खानेपानीसम्बन्धी नीति निर्देशिका बनाउने, सामाजिक आनाीबानी तथा सञ्चार रणनिति अध्ययन अनुगमन गर्ने, सरोकारवालाई सचेतना गर्ने, नयाँ घर बनाउँदा नक्सा पासका लागि पहुँचयुक्त चर्पी, सेप्टिट्यांकी, सकपिट डिजाइन गर्ने, नगरपालिकामा कल सेन्टर युनिटको स्थापना गर्ने, ठोस फोहोर, सिसा, कागज,प्लाष्टिक फलाम, उत्पादनसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने, कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्याउनेलगायतका विभिन्न विषय योजनामा समेटिएका छन् ।
नगरपालिकाको सरसफाइका विषयमा नगरप्रमुख राजुसिंह कठायतले सबैको सहकार्यमा सरसफाइ योजना कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले नगर सरसफाइ योजना महत्वपूर्ण भएको बताउनुभयो । नगर उपप्रमुख रामदेवी खड्काले नगरपालिका सरसफाइमा हाम्रो प्राथमिकता रहेको बताउनुभयो ।