• १३ असोज २०८१, आइतबार

जिल्लास्तरीय तेक्वान्दो सुरु

blog

जिल्लास्तरीय खुला तेक्वान्दामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

लीलाधर वली 

घोराही, फागुन ७ गते । दाङको घोराहीमा तेस्रो अल्फा दाङ जिल्लास्तरीय खुला तेक्वान्दो प्रतियोगिता–२०८० सुरु भएको छ ।

जिल्लामा खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता गरिएको जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले उद्घाटन गर्नुभएको थियो । 

प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख डिसीले राष्ट्रको गहनाका रुपमा रहेको खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनुभएको थियो । खेलकुदको विकासलाई प्राथमिकतामा राखेर घोराही उपमहानगरपालिकाले खेलकुद विकास समिति गठनसँगै विभिन्न खेलकुदका प्रतियोगिता गर्दै आएको भन्दै उपप्रमुख डिसीले आगामी दिनमा आवश्यकता अनुसार पूर्वाधार विकासमा ध्यानदिने बताउनुभएको थियो ।  

शारिरीक तथा मानसिक रुपमा स्वास्थ हुनका लागि खेल हरेक व्यक्तिका लागि  आवश्यक रहेको भन्दै उनले खेलकुदका कार्यक्रमहरुलाई विद्यालय तहदेखि नै बढाउन आवश्यक भन्दै उपप्रमुख डिसीले भन्नुभयो, ‘‘शारिरीक तथा मानसिक स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको छ । त्यसैले बालबालिकालाई गलत बाटोमा लाग्नबाट बचाउँदै  अनुशासित र शारिरीक रुपमा स्वास्थ राख्नका लागि खेलकुदका गतिविधिमा सहभागी गराउनुपर्छ ।’’  

दुई दिनसम्म चल्ने प्रतियोगितामा महिला र पुरुष खेलाडीहरुले २२ देखि ५८ केजीसम्म तौल समूहअन्तर्गत २२–२६ केजी, २६–३० केजी, ३०–३४ केजी, ३४–३८ केजी, ३८–४२ केजी, ४२–४६ केजी, ४६–५० केजी, ५०–५४ केजी र ५४–५८ केजी तौल समूहमा प्रतिष्पर्धा गर्ने अल्फा तेक्वान्दो डोजाङकी प्रमुख सुनिता विष्टले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार प्रतियोगितामा पुम्से पुरुष र महिलातर्फ एकल १७ वर्षमुनि खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुने डोजाङले नगद २० हजार पुरस्कार, प्रमाणपत्र र ट्रफी जित्नेछ । त्यसैगरी दोश्रो हुने टिमले १५ हजार पुरस्कार प्रमाणपत्र र ट्रफि र तेस्रो हुने टिमले नगद १० हजार रुपियाँ, प्रमाणपत्र र ट्रफि जित्नेछ । 

त्यसेैगरी प्रतियोगितामा अनुशासित डोजाङलाई नगद ५ हजारसहित प्रमाण, उत्कृष्ट खेलाडी महिला/पुरुषलाई नगदसहित प्रमाणपत्र र ट्रफि प्रदान गरिने आयोजक अल्फा तेक्वान्दो डोजाङले जनाएको छ । घोराही उपमहानगरपालिका–१४ कवर्ड हलमा सुरु भएको प्रतियोगिता मंगलवारसम्म चल्ने छ ।प्रतियोगितामा जिल्लाभरका १३ डोजाङका तीन सय बढी खेलाडीको सहभागीता रहेको छ । 

उत्कृष्ठ खेलाडी तथा प्रशिक्षकलाई सम्मान 

प्रतियोगिताको उद्घाटन कार्यक्रममा अल्फ तेक्वान्दो डोजाङमा आवद्ध रहेर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिएको छ । 

जसमा थाइल्याडमा भएको चियाङ माई अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२४ प्रतियोगितामा स्वर्ण पदक जित्न सफल तेक्वान्दो खेलाडी वीरेन्द्र डाँगी, रजत पदक जित्ने रिमोट झाक्री मगर, तेक्वान्दो खेलाडी जस्मिन चौधरी र तेक्वान्दो प्रशिक्षक दिपक केसीलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।