• १४ मंसिर २०८१, शुक्रबार

कपडा बैङ्क स्थापना हुनेले दिने, नहुनेले लिने

blog

सिद्धार्थनगर समाचारदाता 

सिद्धार्थनगर, फागुन ७ गते । बुटवलमा कपडा बैङ्कको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एन्ड फुड बैङ्क नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको हो । 

नायक राजेश हमाल संरक्षक रहेको क्लोथ एन्ड फुड बैङ्क नेपालले बुटवलमा कपडा सङ्कलनका लागि क्लोथ बक्सको स्थापना गरेर सुरुवात गरिएको हो । सम्झौतापछि शनिबार औपचारिक रूपमा बुटवलमा क्लोथ बैङ्क सञ्चालनमा आएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुराना कपडालाई रिफाइन गरेर पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैङ्कको स्थापना गरिएको बताउनुभयो । प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले भौतिक विकासमा मात्र नभएर मानवीय विकासका लागि बजेट खर्च गर्दै आएको चर्चा गर्नुभयो ।

उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका ठाउँ ठाउँमा कपडा सङ्कलन केन्द्र स्थापना गरेर पुराना कपडा जम्मा पारी त्यसलाई प्रशोधन गरेर नहुनेले प्रयोग गर्न सक्ने बताउनुभयो ।

क्लोथ एन्ड फुड बैङ्क नेपालका संरक्षक राजेश हमालले नागरिकलाई मौलिक हक प्रदान गर्नु राज्यको अहम् भूमिका रहे पनि जनस्तरबाट पनि सहयोग गरिनुपर्ने बताउनुभयो । क्लोथ एन्ड फुड बैङ्क नेपालका अध्यक्ष कमल जिसीले देशका २५४ वटा स्थानीय तहमा समन्वयन गरेर कपडा बैङ्कको स्थापनाको तयारी गरिएको र बुटवलबाट सुरुवात गरिएको जानकारी दिनुभयो । 

पुराना प्रयोगमा नआएका कपडा, जुत्ता, झोला, किताब सङ्कलन गर्ने र प्रशोधन गरेर आवश्यक व्यक्तिलाई निःशुल्क दिने उद्देश्य संस्थाको छ । सात वटै प्रदेशमा कपडा प्रशोधनको सोरुम सञ्चालन गर्ने तयारी भएको जनाइएको छ ।