बुटवल समाचारदाता
बुटवल, फागुन ७ गते । राजीतिक दलले बुटवलबाट प्रदेश राजधानी दाङ सार्दै गर्दा बुटवललाई आर्थिक राजधानी र रुपन्देही जिल्लालाई आर्थिक केन्द्र बनाउने भनी गरेको प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
उक्त प्रतिबद्धता पूरा गर्दै रुपन्देही र यस क्षेत्रका राष्ट्रिय आयोजना बुटवल–नारायणगढ सडक, बुटवल–गोरुसिङे सडक, तिनाउ नदीमा बनाउने भनिएको सिग्नेचर पुल, सिद्धबाबा सुरुङमार्ग, बेलबास–बेथरी सडक, तिनाउ कोरिडोर निर्माण र मोतीपुर औद्योगिक क्षेत्रको काम तत्काल सुरु गर्न दबाबसमेत दिइएको छ ।
रुपन्देही व्यापार सङ्घको दुईवर्षे रणनीतिक योजना तर्जुमा कार्यशाला बैठकले राजनीतिक दलहरूको उक्त प्रतिबद्धता स्मरण गराउँदै ११ बुँदे ‘ठाकुरद्वारा घोषणापत्र’ जारी गरेको सङ्घका अध्यक्ष दीपकप्रसाद अधिकारीले बताउनुभयो । सङ्घको बर्दियाको ठाकुरद्वारामा सम्पन्न रणनीतिक योजना तर्जुमा बैठकले बुटवल मेडिकल कलेजको निर्माण, बुटवलमण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माण र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन गर्न जोड दिएको छ ।
रुपन्देहीमा पर्यटन र कृषिको विकासको सम्भावना धेरै भएकाले त्यसको सही उपयोग र विकास गर्न योजनाबद्ध कार्यक्रम बनाएर जान सङ्घले आग्रह गरेको छ ।
घोषणापत्रमा आर्थिक समृद्धि र आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउन तीनै तहका सरकारसँग आग्रह गर्दै सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । घोषणापत्रमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बर्दियाको पर्यटकीय स्थल ठाकुरद्वाराबिच व्यावसायिक तथा पर्यटकीय सम्बन्ध कायम गर्दै एकअर्काबिच अनुभव साटासाट एवं नियमित भ्रमणको प्याकेज कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।