रामेछाप समाचारदाता
रामेछाप, फागुन ७ गते । रामेछापको मन्थली नगरपालिका–८, चिसापानीको गाईखुरामा नर्मदेश्वर महादेवको मन्दिर छ । स्थानीयका अनुसार जिल्लाकै ऐतिहासिक धार्मिक स्थलमध्ये एक यो मन्दिर दुई सय वर्षभन्दा पुरानो हो ।
तामाकोशीनजिकै रहेको यो मन्दिर आसपासमा बसोबास गर्नेमा माझी समुदायको बाहुल्य छ । २०७२ सालको महाभूकम्पले क्षति गरेपछि अहिले यो मन्दिरनजिकै रहेको ऐतिहासिक सत्तल–पाटीको पुनर्निर्माण भइरहेको छ ।
पुरातत्त्व विभागले मन्दिरमा रहेको सत्तल–पाटीको पुरातत्त्विक हिसाबले पुनर्निर्माण कार्य गरिरहेको छ । स्थानीयका अनुसार यो नर्मदेश्वर मन्दिरको नाममा पुजारीले यसअघि भोगचलन गरेको झन्डै पाँच रोपनी जग्गा छ । महादेव मन्दिर र मन्दिरको नाममा रहेको जग्गाको संरक्षण गर्न अहिले चुनौती रहेको स्थानीय बताउँछन् । स्थानीयवासीका अनुसार मन्दिरको पुजारी स्थानीय रविलाल पुरी हुनुहुन्थ्यो । उहाँको स्वर्गारोहणपछि यो मन्दिरमा अरू कोही पुजारी बसेका छैनन् ।
शिवरात्रि, हरितालिका तिज, ठुलो एकादशीलगायतका पर्वमा दर्शनार्थीको भिड लाग्ने यो महादेव मन्दिरमा पुजारी नभएपछि व्रmमशः दर्शन गर्न आउने भक्तजन घट्दै गएका स्थानीय सानोबाबु पुरी बताउनुहुन्छ । सरोकारवाला निकायले बेवास्ता गर्दा महादेव मन्दिर, सत्तल–पाटी र यो मन्दिरको जग्गाजमिन संरक्षणमा समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “झन्डै दुई सय वर्ष पुरानो ऐतिहासिक यो महादेव मन्दिर र यसको जग्गा संरक्षण गर्न यहाँको समुदाय र स्थानीय सरकारको बढी दायित्व हो । यसको संरक्षणका लागि यहाँका समुदाय र स्थानीय सरकार जसरी लाग्नुपर्ने हो त्यसरी लाग्न भने सकेका छैनन् ।”
मन्दिरनजिकै रहेको सत्तल–पाटीमा राखिएको शिलालेखमा विसं १८८५ मा निर्माण भएको उल्लेख छ । भूकम्पले क्षति गरेपछि मन्दिरमा रहेको सत्तल–पाटीको विभागले व्रmमागत योजना अन्तर्गत पुनर्निर्माण गरिरहेको मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ बताउनुहुन्छ । मन्थली नगरपालिकाका प्रवक्तासमेत रहेका श्रेष्ठले भन्नुभयो, “ऐतिहासिक मठमन्दिरको संरक्षण तथा प्रचारप्रसारमा मन्थली नगरपालिका गम्भीर रूपमा लागेको छ । अहिले नर्मदेश्वर महादेवको मन्दिरनजिकै रहेको सत्तल–पाटीको यो आर्थिक वर्षमा ४३ लाख रुपियाँ बराबरको काम भइसकेको छ ।”