काठमाडौँ, फागुन ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मिथ्या र गलत सूचनाबाट ‘दिग्भ्रमित’ पार्ने काम पनि भइरहेकाले यस्ता गलत सूचनाको चुनौतीलाई चिर्नु पर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुँदै उहाँले सञ्चारमाध्यमले सत्य, तथ्य, निष्पक्ष र आधिकारिक सूचना प्रवाह गरेर जनतालाई सुसूचित गर्नुपर्ने बताउनुभएको हो ।
राष्ट्रिय समाचार समितिले आजबाट ६३ औँ वार्षिकोत्सव मनाएको छ । स्वदेश तथा विदेशमा सत्य तथ्य, आधिकारिक र विश्वसनीय समाचार, फोटो, श्रव्य र श्रव्यदृश्य समाचार सामग्री अनलाइन सेवामार्फत आफ्ना सेवाग्राहीलाई अहोरात्र सम्प्रेषण गर्दै आएको छ ।
“पत्रकारिताको सिद्धान्त, आचारसंहिता र मूल्यमान्यतामा आधारित मौलिक, खोजमूलक र अनुसन्धानमूलक लेखनले नै समाचारको सार र प्राणलाई बचाउँदै पाठकको चाहनालाई पूरा गर्छ भन्ने मलाई लाग्दछ”, सन्देशमा भनिएको छ, “पछिल्लो समयमा राससले सेवाको विविधीकरण, प्रकाशन, तालिम तथा पूर्वाधार विकासमा गरेको सुधार प्रशंसनीय छ ।”
मुलुकको एक मात्र समाचार समिति राससले आधुनिकीकरण र भूमण्डलीकरणको बदलिँदो परिवेशमा आफ्ना पाठक र सेवाग्राहीको चाहनाअनुरूपका गुणस्तरीय, सत्य तथ्य, आधिकारिक र विश्वसनीय समाचार सामग्री छिटोछरितो रूपमा दिन अझै प्रतिस्पर्धी, सक्षम र नेतृत्वदायी सञ्चारमाध्यमका रूपमा अघि बढ्ने राष्ट्रपतिको विश्वास रहेको छ ।
उहाँले इन्टरनेट र सूचना प्रविधिको तीव्रतर विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा व्यापक परिवर्तनसँगै छिटोछरितोरूपमा दर्शक, श्रोता र पाठकको सत्य तथ्य सूचना पाउने चाहनलाई पूरा गर्न कठिन बन्दै गएको परिप्रेक्ष्यमा राज्यद्वारा सञ्चालित राससजस्तो समाचार समितिले संविधानले प्रत्याभूत गरेको आम नागरिकको सूचनाको हक पाउने प्रावधानलाई पूरा गर्न अझै जिम्मेवार, विश्वसनीय र जबाफदेही बन्नुपर्ने बताउनुभयो ।
राष्ट्रपतिले विश्वका समाचार समितिले हासिल गरेको प्रगति, सुधार र पाएको सफलताबाट पाठ सिकेर राससले आफ्नो सेवा, गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन र सुधार गरी यसलाई अझै आधुनिक, विकसित र नमुना समाचार समितिका रूपमा विकास गर्न कार्यरत व्यावसायिक पत्रकार र व्यवस्थापनलाई सफलता मिलोस् भनी शुभकामना दिनुभएको छ ।
राष्ट्रपतिले अभिव्यक्ति स्वतन्त्रता मात्र होइन स्वतन्त्र, निष्पक्ष र स्वतन्त्र पत्रकारिता तथा हरेक नागरिकको सूचनाको अधिकार बहुदलवादमा आधारित लोकतन्त्रमा मात्र सम्भव हुने भएकाले सबै जात, जाति, भाषा, भाषीको अधिकार संरक्षण गर्ने बहुदलवादमा आधारित लोकतन्त्रको सुदृढीकरण आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाले राखेका खास लक्ष्य पूरा हुने पनि स्पष्ट गर्नुभएको छ । रासस