• ७ जेठ २०८१, सोमबार

मकरसङ्क्रान्ति मेलामा अर्ब बराबरको कारोबार

blog

धनुषाधाम मेलामा आएका श्रद्धालुहरु । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, फागुन ६ गते । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा लाग्ने एक महिने मकरसङ्क्रान्ति मेला आइतबार सम्पन्न भएको छ । मेलामा करिब ३० लाखले  अवलोकन गरेको आयोजकले जनाएको छ ।

मेलामा अर्ब रुपियाँको कारोबार भएको धनुषाधाम मेला व्यवस्थापन समितिका सल्लाहकार एवं प्रवक्ता सुबोधबाबा दासले बताउनुभयो । मेलामा दुई करोड रुपियाँको हाराहारीमा तेजपातको मात्र कारोबार भएको उहाँको भनाइ छ । 

उहाँले नौ लाख रुपियाँको बाँसको बाँसुरी बिक्री भएको जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी डेढ करोड रुपियाँको जुलेबी, ८० लाख रुपियाँको फलामजन्य घरेलु औजार, ६० लाख रुपियाँको धुपी, ५० लाख रुपियाँको सखरखण्ड (केसौर) को बिक्री भएको छ । 

त्यसलगायत लत्ताकपडा, शृङ्गार, खेलौना, खाना–खाजा पसल, बाल उद्यान, फूलमाला तथा प्रसाद गरी मेला अवधिभर एक अर्ब रुपियाँ बराबरको आर्थिक कारोबार भएको प्रवक्ता दासले दाबी गर्नुभयो ।   

मेला व्यवस्थापन समितिका सदस्य राजेन्द्रप्रसाद साहले हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार लाग्ने यस मकरसङ्क्रान्ति मेलाको एक आइतबारको दिन मात्र पाँच लाखभन्दा बढी दर्शनार्थी मेला भर्न आएको बताउनुभयो । 

उहाँले आइतबारबाहेक अन्य दिन पनि धनुष मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको भिडभाड रहेको बताउँदै नेपालीभन्दा भारतीय दर्शनार्थी बढी आएको दाबी गर्नुभयो । उहाँले महिनाका हिसाबले माघमै मेला सम्पन्न हुनुपर्ने भए पनि माघ शुल्क पूर्णिमाको तिथिले फागुनको पहिलो आइतबार मेला लागेर यस वर्षको मकरसङ्क्रान्ति मेला सम्पन्न भएको जानकारी दिनुभयो ।  

स्थानीय सञ्चारकर्मी मुकेशकुमार ठाकुरले मेला भर्न आउने दर्शनार्थीले मिष्ठान पकवानसँगै कोसेलीको रुपमा तेजपात खरिद गरेर लैजाने चलन रहेको बताउनुभयो । “मेला भर्न आउने अधिकांश सर्वसाधारणले तेजपात खरिद गर्नेगरेका छन् । त्यसलगायत सखरखण्ड (केसौर) धुपी, फलामको औजार, कृषि तथा घरेलु औजारको पनि राम्रै व्यापार भएको छ” ठाकुरले भन्नुभयो । 

तेजपात व्यापारी तथा धनुषाधाम मेला व्यवस्थापन समितिको सल्लाहकारसमेत रहनुभएका चलितर महतोले मेलामा करिब दुई करोड रुपियाँ बराबरको तेजपात खरिद बिक्री भएको बताउनुभयो । उदयपुर जिल्लाबाट तेजपात खरिद गरेर ल्याएको बताउँदै उहाँले भन्नुभयो, “एकसय बढी ट्रक तेजपातको कारोबार भएको छ ।” 

तेजपातको खुद्रा व्यापारी राजेश जैसवालले प्रतिकेजी ५० देखि ६० रुपियाँले बिक्री गरिएको बताउनुभयो । स्थानीय गोविन्द यादवले मेला भर्न आउनेहरुले कासेलीको रुपमा अनिवार्य तेजपात खरिद गरेर लैजान गरेकाले यहाँको मेलामा तेजपातको व्यापार राम्रो भएको बताउनुभयो । 

त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको स्वयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ । यहाँ धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । 

यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भएपनि माघ महिनाको प्रत्येक आइतबार लाग्ने मेलामा अत्यधिक भिड हुन्छ । धार्मिक मेलामा धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली तथा भारतीय सीमावर्ती क्षेत्रका दर्शनार्थी आउने गर्छन् ।