निशा राई
धरान, फागुन ६ गते । कोशी मुख्यमन्त्री केदार कार्कीले माझी जातिले मान्दै आएको आफ्नो मौलिक परम्परागत पर्व कोशी पूजाको अवसरमा बिदा दिने सम्बन्धमा आफू सकारात्मक रहेको बताउनुभएको छ । नेपाल माझी उत्थान सङ्घले बुझाएको ज्ञापन-पत्र बुझ्दै हरेक जातजाति र समुदायको ऐतिहासिक सांस्कृतिक एवम् धार्मिक चाड पर्वहरूलाई संरक्षण गर्नुलाई प्रदेश सरकारले आफ्नो कर्तव्य ठानेर अघि बढ्ने उहाँले बताउनुभयो ।
नेपाल माझी उत्थान सङ्घ सुनसरी जिल्लाका अध्यक्षले आफ्नो जातिको महान् पर्वका अवसरमा आजसम्म बिदा समेत नपाउँदा पर्व मनाउन असहज हुनका साथै कतिपय माझी समुदायहरू पर्व मनाउनबाट वञ्चित हुने गरेको बताउनुभएको हो ।
आफ्नो जातिको यस वर्षको आगामी फागुन १५ गते परेको कोशी पूजा पर्वले बिदा पाउनुका साथै राज्यबाट मान्यता पाउने कुरामा मुख्य मन्त्री कार्कीको अभिव्यक्तिमा विश्वस्त भएको उहाँले बताउनुभयो।
ज्ञापनपत्र बुझाउने कार्यक्रमको समन्वय, व्यवस्थापन तथा सहजीकरणमा नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवम् नेपाल आदिवासी जनजाति महासङ्घका नेता सुजेन्द्र गोले तामाङ, नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्यपर्वत राई, जिल्ला सदस्य अनुपमा सुनुवार, धरान नगर सभापति श्याम पोखरेल, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्य विनोद तिमिल्सिना, नगर सचिव जितेन्द्र राई, नेपाल माझी उत्थान सङ्घका केन्द्रीय सदस्य गुन्जमान माझी लगायतको उपस्थिति थियो ।