• १३ मंसिर २०८१, बिहिबार

नेपालमै पहिलो पटक

चरा संरक्षणका लागि पन्छी बास बगैँचा

blog

तस्बिर : सचिन पोख्रेल इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा स्थापना गरिएको पन्छी बास बगैँचा ।

सचिन पोख्रेल

इटहरी, फागुन ६ गते ।  कोशी प्रदेशको केन्द्रबिन्दुका रूपमा रहेको इटहरीको व्यस्त बजार क्षेत्रनजिककै रहेको नेपाली सेनाको ब्यारेकमा स्थानीय रैथाने र फिरन्ते प्रजातिका चराचुरुङ्गीको संरक्षणमा जोड दिँदै पन्छी बास बगैँचा बनाइएको छ । सेनाको ब्यारेक क्षेत्रमा रहेको घना रुखबिरुवा तथा त्यहाँ रहेका करिब एक दर्जन पोखरी र सिमसार क्षेत्रमा बसोबास गर्ने रैथाने तथा साइबेरियालगायतका विभिन्न स्थानबाट आउने फिरन्ते चराचुरुङ्गीको संरक्षण गर्ने उद्देश्यले यहाँ पन्छी बास बगैँचा सञ्चालन गरिएको हो ।

सेनाको पूर्वी पृतना मुख्यालयको हाताभित्र रहेको पोखरी र सिमसार क्षेत्रसहित आसपासमा रहेका विभिन्न प्रजातिका फलफूलका रुख बिरुवासहितको बगैँचालाई औपचारिक रूप दिएर स्थापना गरिएको पन्छी बास बगैँचा प्रधान सेनापति प्रभुराम शर्माले औपचारिक उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । इटहरी ब्यारेकमा सञ्चालनमा ल्याइएको पन्छी बास बगैँचा नेपालमा पहिलो रहेको सेनाका पूर्वी पृतनापति उपरथी डा. आसबहादुर तामाङको भनाइ छ ।

सिमसार तथा पोखरीसहित विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको पूर्वी पृतना परिसरमा रहेको बगैँचा  क्षेत्रमा फिरन्ते चरा आउने गरेको तथ्यलाई दृष्टिगत गर्दै पन्छी बास बगैँचा सञ्चालनमा ल्याइएको पृतनापति तामाङले बताउनुभयो । 

ब्यारेक क्षेत्रमा चराचुरुङ्गीको घनत्व धेरै रहेको र सो क्षेत्रमा करिब ५० प्रजातिका चरा रहेकाले वातावरण जोगाउनका साथै चरा संरक्षणका लागि पन्छी बास बगैँचा बनाइएको पृतनापति तामाङले जानकारी दिनुभयो । 

पृतनापति तामाङका अनुसार इटहरी ब्यारेक क्षेत्रमा रहेका पन्छी बास बगैँचामा बर्सेनि साइबेरियालगायतको स्थानबाट करिब १५ प्रजातिका मौसम अनुसारका फिरन्ते चरा आउने गरेको र स्थायी रूपमा पनि करिब ३० प्रजातिका रैथाने चराको बसोबास रहँदै आएको छ । खास गरी पूर्वी नेपालमा जाडो महिनामा साइबेरियादेखि चरा जाडो छल्न र बच्चा कोरल्न आउने गरे झैँ यहाँको बगैँचामा पनि आउने आगुन्तक चराले वातावरणलाई नै आनन्दित बनाउने गरेका छन् ।  

चराको संरक्षणलाई दृष्टिगत गर्दै बनाइएको बगैँचामा आँप, कागती, लिची, अम्बा, कटहर, अमला, मेवा, जामुन, बडहर, बर, पिपल, सिमललगायतका बोटबिरुवा छन् । ब्यारेक क्षेत्रमा सिमसार र पोखरी रहेको र त्यही क्षेत्रमा विभिन्न प्रजातिका बोटबिरुवासहित विविध फलफूलका बोटबिरुवा लगाइएका कारण यस क्षेत्रमा रहेका रैथाने र फिरन्ते चराका आकर्षित भएका हुन् ।