• १४ मंसिर २०८१, शुक्रबार

कल्याणकारी कोषबाट २२ हजार प्रहरी लाभान्वित

blog

काठमाडौँ, फागुन ६ गते । नेपाल प्रहरीले सञ्चालन गरेको कल्याणकारी कोषबाट २२ हजार ८३३ प्रहरी र आश्रित परिवार लाभान्वित भएका छन् । 

कोषमा सङ्कलन भएको रकमबाट प्रहरीले बहालवाला र सेवानिवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर सहिद प्रहरी परिवारका सदस्यलाई विभिन्न प्रकारका सुविधा दिने गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले कोषको रकम पारदर्शी रूपमा विभिन्न प्रकारका सुविधासहित पूर्वाधार विकास र विस्तारमा उपयोग गरिएको जानकारी दिनुभयो ।

अमर तथा सहिद परिवारका सदस्यका लागि विभिन्न योजना तर्जुमा गरी आश्रित परिवारका लागि शिक्षा, स्वास्थ्यलगायत सुविधा कोषबाट उपलब्ध गराउने गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको सात महिनाको कोषबाट शिक्षातर्फ जेहेनदार छात्रवृत्ति ३० जना, उच्च छात्रवृत्ति १२२ जना, उच्च प्रोत्साहन छात्रवृत्ति दुई जना र शौक्षिक कर्जा छ जनालाई उपलब्ध गराइएको छ ।

सामाजिक सुरक्षातर्फ ज्येष्ठ निवृत्तिभरण २४० जना, किरियाकर्म खर्च २१३ जना, मृत्यु राहत अनुदान ५० जना र विवाह अनुदान तीन जना छन् । स्वास्थ्यतर्फ औषधोपचार अनुदान ५८ जना, निब्र्याजी उपचार सापटी चार जना र औषधोपचार कर्जाबाट एक जना लाभान्वित भएका छन् ।

यसै गरी सहुलियत ऋण तीन हजार ६४७ जना र घर निर्माण तथा मर्मतसम्भार कर्जा ५३ जनालाई उपलब्ध गराइएको छ । किस्ताबन्दी सहुलियत ऋणतर्फ नयाँ/पुरानो चारपाङ्ग्रे कार/जिप १५ जना, मोटरसाइकल/स्कुटर ५८९ जना र घरायसी सामान ८६ जनाले सुविधा लिएका छन् । 

तालिम तथा वृत्तिविकास (प्रदेशस्तरीय कल्याण कोषबाट सञ्चालित) मा सिपमूलक तालिम ६७ जनाले हासिल गरेका छन् । अन्य सेवा सुविधातर्फ प्रहरी आवास सुविधा ३६ जना, प्रहरी अतिथि गृह एक हजार १०१ जना, नेपाल पुलिस हेल्थ क्लब सात हजार ८० जना, ज्येष्ठ प्रहरी अतिथि गृह २६० जना र नेपाल पुलिस स्कुल नौ हजार १४७ जनाले प्राप्त गरेका छन् ।