लीलाराज खड्का
बिर्तामोड, फागुन ५ गते । झापा कनकाई नगरपालिका सुरुङ्गामा आगामी फागुन १४ गतेदेखि १६ गतेसम्म तीन दिनसम्म प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव हुने भएको छ ।
यहाँस्थित रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा सुरुङ्गाका विभिन्न स्थानमा भव्यरुपमा कला महोत्सवको आयोजना गरिन लागेको र यसको तयारी अन्तिम अवस्थामा पुगेको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी गराउनुभयो ।
पठन संस्कृतिको विकास गर्न र यहाँ रहेका साहित्यकार तथा कलाकारको प्रवर्धन गर्ने उद्देश्यका साथ नगरमा प्रथम पटक यसप्रकारको कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिका अध्यक्ष शिव कँडेलले जानकारी दिनुभयो ।
देशमा दिनानुदिन देशप्रेमको भावना घट्दै गइरहेको र विकृत मानसिकताले भावी पुस्तामा समेत आक्रान्त पारिरहेको हुँदा हामीले साहित्यको माध्यमबाट थोरै भए पनि देशमा सकारात्मक अवधारणा ल्याउन यस महोत्सवले भूमिका खेल्छ भन्ने महोत्सवको लक्ष्य रहेको आयोजक समितिका संयोजक कोइरालाले बताउनुभयो ।
महोत्सव आगामी फागुन १४ गते प्रभातफेरी गर्दै सुरुवात गरिने तथा यहाँस्थित पशुपति अङ्ग्रेजी माविको मैदानमा साहित्य गोष्ठी, हास्यव्यङ्गसहित सांस्कृतिक कार्यक्रम, पुस्तक मेला, साहित्य गोष्ठी, कविता गोष्ठी लगायत कार्यक्रम गरिने यसैगरी कनकाई उद्योग वाणिज्य सङ्घ, कनकाई कनकाई बहुमुखी क्याम्पसको सभाहलमा अन्य सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गरिने आयोजक रोटरी क्लबका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले बताउनुभयो ।
साहित्य महोत्सवमा पुस्तक प्रदर्शनी र डोनेसनको समेत आयोजना गरिने र कार्यक्रम समापनपछि एक पुस्तकालयको समेत स्थापना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महोत्सवमा राष्ट्रिय कलाकार मनोज गजुरेल, रचना रिमाल, साहित्यकार तुलसी विवश, अर्जुन पराजुली, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. देवी नेपाल, मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षी, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगीलगायतका सर्जकको विशेष प्रस्तुति रहने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
महोत्सव सञ्चालनका लागि कुल २५ लाख ४५ हजार रुपियाँ खर्च हुने र यसको रकम विभिन्न दाता र प्रायोजकबाट सङ्कलन गरिने आयोजक समितिका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले बताउनुभयो ।