• ११ मंसिर २०८१, मङ्गलबार

प्रेमको सिंहासन

blog

कवि, लेखक, कलाकारहरूले आदि कालदेखि प्रेमको बारेमा बोल्दै आए । कथा, कहानी, कवितामार्फत प्रेमको रहस्य खोल्दै आए । प्रेमको अनुभूति स्वयम्मा अद्वितीय छ । प्रेममा हुनुको अनुभूति दुनियाँको बाँकी सबै अनुभूतिभन्दा अद्भूत हुने गर्छ । प्रेममा प्राप्त हुने आनन्द, आनन्दमध्येको रोज्जा आनन्द हो । 

प्रेम मनको गहिराइमा लुक्छ । आजसम्म कसैले मनको गहिराइमा लुकेको प्रेमलाई मार्न सकेन । प्रेम गोली–बारुदको बलमा ध्वंश गर्न सकिने वस्तु पनि होइन । छातीको गोली निक्लन्छ तर प्रेम निक्लँदैन । संसारको सबैभन्दा जियालो वस्तु प्रेम नै हो सायद ! प्रेममा पैसामा भन्दा बढी तागत हुन्छ । प्रेमको सबालमा करोडपति–अर्बपति पनि भिखारी बन्छन् । धनी व्यक्ति कसैको शरीर खरिद गर्न सक्छ तर मन खरिद गर्न सक्दैन । 

दुनियाँ प्रेम गर्नेका गलामा कहिले माला पहि¥याउँछ त कहिले तरवार बर्साउँछ । प्रेमको नाममा विश्वमा ठुला–ठुला युद्ध भएका छन् । राज्यका उत्तराधिकारीहरूले गद्दी दाउमा लगाएका छन् । प्रेमले संसार फोड्न सक्छ त जोड्न पनि सक्छ । जुन काम पैसाले गर्न सक्दैन, त्यो काम प्रेमले गर्छ । प्रेममा आणविक बममा भन्दा बढी शक्ति हुन्छ । 

प्रेम मधुर गीत हो । प्रेम जति सुन्यो सुनुँ सुनुँ लाग्ने मादक सङ्गीत हो । प्रेमले बहुध्रुवीयलाई एक ध्रुवीय बनाउने क्षमता राख्छ । प्रेमको अनुभूति बाँकी सबै अनुभूतिहरूभन्दा विलक्षण छ । प्रेम अजर हुन्छ । प्रेम अमर हुन्छ । प्रेमले जाति, धर्म, भाषा, लिङ्ग, उमेरको फलामे पर्खाल स्विकार गर्दैन । प्रेममय व्यक्तिको चैतन्यबाट सकारात्मक ऊर्जा प्रवाह हुन्छ । प्रेमको दुनियाँ क्रूर पनि छ । प्रेमको नाममा संसारमा रगतको नदी बगेका छन् । पे्रमको छिनाझप्टीमा भीषण युद्धहरू भएका छन् । 

प्रेम दार्शनिक, ध्यानी, ज्ञानीहरूले गर्छन् । प्रेम मुक्ति योद्धा, स्वतन्त्रता सङ्ग्रामीहरूले पनि गर्छन् । युवकयुवतीको प्रेममा प्राप्तिको चाहना हुन्छ । भोगको लिप्सा हुन्छ । तपस्वी, ज्ञानी, मुक्तिकामीहरूको प्रेममा चाहिँ त्यागको भावना हुन्छ । 

रोमियोको जुलियटसँग प्रेम । लैलाको मजनूसँग प्रेम । मुनाको मदनसँग प्रेम । राधाको कृष्णसँग प्रेम । आमाको सन्तानसँग प्रेम । भौतिकवादीको दृश्य जगत्सँग प्रेम । अध्यात्मवादीको परमात्मासँग प्रेम । प्रेम जति तन्कायो उति तन्किने । जति फैलायो त्यति फैलिने । प्रेमको आयतन असीम छ । विराट छ । प्रेम एक बहुरूपी भाव हो किन्तु हामीहरू प्रेम भन्नेबित्तिकै युवक–युवतीको डेटिङ सम्झिन्छौँ । प्रेम दुई ओठको बिचमा टुसाउने वस्तु हो भन्ने ठान्दछौँ । आँखाले आँखाको अमृतपान गर्नु, शरीरले शरीरको रसस्वादन गर्नु, हामीले ठम्याइ आएको प्रेमको सार यही हुन गएको छ । 

युवकयुवतीको प्रेमको प्रभाव व्यक्तिगत हुन्छ । त्यो केवल प्रेमको एउटा पाटो हो । सिक्काको एउटा पाटो जस्तै । त्यस्तो प्रेमले सामाजिक तथा राष्ट्रिय मुक्तिसँग सरोकार राख्दैन । प्रेमको सार्वभौम स्वरूप त त्याग हो । समर्पण हो । प्रेम व्यक्तिबाट समष्टिमा पुग्ने सोपान हो । प्रेमको सार्वभौमिकता आफू बलेर समाजलाई उज्यालो दिनुमा छ । 

मानव इतिहासमा थुप्रै स्वतन्त्रताप्रेमी पैदा भए जसले आफू बलेर देशलाई उज्यालो दिए । आफूले विषको प्याला निलेर अरूलाई अमृत पिलाए । भारतीय स्वतन्त्रता सङ्ग्रामी भगत सिंह एक त्यस्तै व्यक्ति थिए, जो आफू दुःखेर अरूलाई हँसाए । आफू मरेर भारतलाई आजाद गराए । उनले इन्क्लाबबाहेक अन्य केहीसँग प्रेम गरेनन् । सम्झौता गरेनन् । फाँसीमा चढ्नुअघि जब अन्तिम इच्छा सोधियो, त्यसको जवाफ उनले ‘इन्क्लाव जिन्दावाद !’ भनेर दिए । 

त्यसो त स्वतन्त्रता, समानता र जनमुक्तिलाई प्राणभन्दा प्यारो ठान्ने हजारौँ छन् । लाखौँ छन् विश्वमा । सुभाषचन्द्र बोस त्यस्तै अर्को व्यक्ति थिए, जो स्वतन्त्रतालाई आफूभन्दा बढी प्रेम गर्थे र त उनले देशवासीसामु ‘तपाईं रगत दिनोस्, म तपाईंलाई स्वतन्त्रता दिन्छु’ भन्ने साहसिक उद्घोष गरेका थिए । 

नेपालको इतिहासमा समेत कैयौँ त्यस्ता युद्ध, सङ्घर्ष र विद्रोहहरू भए जसमा नेपाल आमाका अब्बल सन्तानहरूले हाँसीहाँसी प्राणको आहूति दिए । जब सबाल निरङ्कुश शासनको आयो । शासकीय अत्याचारले सीमा नाघ्यो । लखन थापाले राणाशाहीविरुद्ध बगावतको झन्डा उठाए, जब सबाल देशभक्तिको आयो । राष्ट्रिय स्वाधीनताको आयो । अमरसिंह थापा, भक्ति थापा, वीर बलभद्रहरू ब्रिटिस उपनिवेशवादविरुद्ध बारुद बनेर पड्किए । 

वीर–वीरङ्गना, मुक्ति योद्धाहरूले पद–प्रतिष्ठासँग ‘डेटिङ’ गरेनन् । महल, कार, अर्बौं–खर्बौंको जायजेथासँग इमान बेचेनन् । जब राष्ट्रले बलिदान माग्यो, चुपचाप बलिबेदीमा होमिए । छाती चौडा पार्दै प्राणको न्यौछावर गरे । तिनीहरूले गाए त केवल जनताका गीत । घन्काए त केवल मुक्ति सङ्गीत । जीवनको अन्तिम प्रहरसम्म पनि उनीहरूको मुखबाट एउटै शब्द निस्किरह्यो, ‘मुक्ति ! मुक्ति ! मुक्ति ! जनताको मुक्ति ! राष्ट्रको मुक्ति ।’ 

अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवर, लेनिन, गान्धी, भगत सिँह, सुभाषचन्द्र बोस, नेलसन मण्डेला ती योद्धाहरू हुन्, जसले आफू र परिवारभन्दा धेरै माया राष्ट्रलाई गरे । जनताको मुक्तिभित्र आफ्नो मुक्ति सन्निहित हुन्छ भन्ने सोचे । 

ध्यानी र मुक्तिसङ्ग्रामीबिचमा पनि भिन्नता छ । ध्यानीको प्रेमको केन्द्रबिन्दु ऊ स्वयम् हो । ऊ स्वः आनन्द र मुक्तिका निम्ति ध्यान गर्छ तर मुक्तिसङ्ग्रामी व्यक्तिगत सीमाभन्दा पर समाज, राष्ट्र र जनकल्याण हेतु तप गर्छ । दमित, उत्पीडित, दिनहीन वर्गको उत्थानका खातिर समाधिस्य हुन्छ । 

ज्ञानी, विज्ञानी, मुक्तिसङ्ग्रामी र स्वतन्त्रताप्रेमीमाथि सत्ता बर्बर हुने गरेको लामो इतिहास छ । सत्ताले सदियौँदेखि स्वतन्त्रताप्रेमी, मुक्तिसङ्ग्रामीहरूका हातमा हतकडी लगाउँदै आयो । ज्ञान–विज्ञान प्रेमीहरूका पिठ्युँमा कोर्रा बर्सायो । इसा मसिहलाई सूलीमा चढाउने अरू कोही नभई यहुदी सत्ता थियो । ग्रीसको अनुदारवादी सत्ताले सुकरातलाई विषको प्याला निल्न बाध्य बनायो । अब्राहम लिङ्कन, मार्टिन लुथर किँहरू समेत तत्कालीन सामाजिक सत्ताको हमलामा परे । विज्ञानलाई प्रेम गर्ने ग्यालिलियो, कोपर्निकस्, डार्बिन, ब्रुनोहरू धार्मिक अतिवादको कोपभाजन बेहोर्न बाध्य भए । 

त्यागले मानिसलाई माथि उठाउँछ । भोग–विलास, लोभ, मोहले पातालमा धसाउँछ । यशोधरासँगको कामबासनामा लिप्त भएर बसेका भए सिद्धार्थ गौतम राजा त बन्ने थिए तर बुद्धत्व प्राप्त गर्नबाट वञ्चित रहने थिए । गद्दीमोह त्यागी वनबास नगएका भए राम मर्यादापुरुषोत्तम कहलाउँदैनथे । ज्ञानी, त्यागी, मुक्तियोद्धा, स्वतन्त्रतासङ्ग्रामीहरू सत्तासुख र पारिवारिक मोहको पिञ्जरामा कैद भएर बसेनन् । ‘जनताको खुसी नै मेरो खुसी । राष्ट्रको समृद्धि नै मेरो समृद्धि,’ भन्दै कर्तव्यपथमा लम्किरहे । 

परिवारका निम्ति त पशु पनि बाँचेको हुन्छ । बचेराको मुखमा चारो खसाल्न पन्छीले पनि जानेको हुन्छ । मानिस र पशुपन्छीबिचको भिन्नता नै त्यही हो कि, मानिस आफू आधा पेट खाएर अरूको पेट भर्न सक्छ । घर–परिवारको साँघुरो घेराभन्दा माथि उठेर समाज र मानवजातिप्रति समर्पित बन्न सक्छ । 

जुन शासक ‘मैँ खाउँ मैँ लाउँ .....!’ को निकृष्ट परिधिबाट बाहिर निस्कन सक्दैन । व्यक्तिगत घेराबाट बाहिर निस्केर समाज र राष्ट्र प्रेमको मानक बन्न सक्दैन । यस्ता शासकको पतन भएको इतिहास धेरै छन् । 

मुलुकलाई जोगाउने, आफू र परिवारभन्दा राष्ट्रलाई माया गर्ने, देश र मानवजातिको मुक्तिका खातिर हाँसीहाँसी प्राण उत्सर्ग गर्ने, तिनै हजारौँ ज्ञानी, मुक्तिकामीहरूप्रति पुष्पाञ्जली चढाउँदै हामी नतमस्तक हुन्छौँ । कामना गरौँ, हरेक युगमा बुद्ध, सुकरात जस्ता ज्ञानीहरू पैदा होउन् । ग्यालिलियो, कोपर्निकस, डार्बिन, ब्रुनो जस्ता वैज्ञानिकहरूले जन्म लिऊन् । अब्राहम लिङ्कन, मार्टिन लुथर किङ जस्ता योद्धाहरूले जनमुक्तिको झन्डा उठाइरहून् । 

खर्ब धनभन्दा करोड मन शक्तिशाली हुन्छ । मन प्रेमको विश्रामस्थल हो । क्रीडास्थल हो । संसारमा दुई किसिमका सिंहासन छन् । एउटा प्रेमको अनि अर्को सुनको । तस्कर, माफिया, भ्रष्टाचारीहरू सुनको सिंहासनमा बस्न सक्लान् तर प्रेमको सिंहासनमा बस्न सक्दैनन् । प्रेमको सिंहासन तिनैलाई प्राप्त हुन्छ, जो स्वतन्त्रतालाई प्राण ठान्छन् । राष्ट्रको पहरेदारीको मामलामा हिमालय पर्वत झैँ खडा हुन्छन् । 

  

Author

प्रकाश तिवारी