• १२ असोज २०८१, शनिबार

‘छोरीबुहारी’ वर्षौंपछि कक्षामा

blog

प्रेम अधिकारी

पशुपतिनगर, फागुन ५ गते । इलामको सूर्योदय नगरपालिका–९ की विष्णु राई सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा जीवनमा एकाएक सङ्कट आइलाग्यो । १० महिनाको अन्तरालमा आमा रणमाया राई क्यान्सरबाट र बुवा रामबहादुर राईको मिर्गौला खराबीका कारण निधन भयो । आमाबुवाको निधनपछि २०७० मा उहाँको अध्ययनमा ‘ब्रेक’ लाग्यो । 

पढाइ खर्च जुटाउनुपर्ने बाध्यतासँगै पारिवारिक जिम्मेवारीका कारण विष्णुले अध्ययनलाई विराम लगाउनु पर्‍यो । उहाँले भन्नुभयो, “जिम्मेवारी आइपरेपछि पढाइ छोड्नैपर्ने भयो तर पढ्ने चाहना चाहिँ थियो नै ।” पढाइ छोडेपछि उहाँको बिहे पनि भयो । पारिवारिक दायित्व पूरा गर्ने दौरानमा उहाँले आठ वर्षपछि फेरि उच्च शिक्षाको अवसर पाउनुभयो । उहाँले भन्नुभयो, “४० वर्ष पुग्न लाग्दा पनि पढ्नुपर्ने रहेछ भन्ने भाव अझै प्रबल भयो र मैले पढाइ सुरु गरेको हो ।”

सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विष्णुलाई परीक्षा आउन चार दिन बाँकी रहँदा अर्को चोट आइपर्‍यो । उहाँले भन्नुभयो, “माघ १२ गतेदेखि परीक्षा थियो, माघ ८ गते बेलारुसमा भाइको निधनको खबर आयो, भाइको निधनमा शोकमै रहँदा पनि क्याम्पस प्रमुख र अरू सरले पनि परीक्षा लेख्न उत्प्रेरित गर्नुभयो । परीक्षा लेखेँ । अब जस्तो सुकै 

परिस्थिति आए पनि पढाइ अघि बढाउँछु भन्ने सोचेकी छु ।”

सूर्योदय नगरपालिकाकै प्रतीका प्रधान र विनिता अधिकारी पनि सोही क्याम्पसमा अध्ययनरत हुनुहुन्छ । आर्थिक अभावका कारण क्याम्पसको आँगन टेक्न नपाउने अवस्थामा रहेका उहाँहरू जस्तै इलामको ग्रामीण क्षेत्रका कैयौँ ‘छोरीबुहारी’ ले उच्च शिक्षाका लागि क्याम्पस जाने अवसर पाउनुभएको छ । प्रतीकाले भन्नुभयो, “छोरीबुहारी शिक्षा कार्यक्रमकै कारण वर्षौंपछि छोरीबुहारी सँगै कक्षामा रहने अवस्था आएको छ । मैले पनि यही कार्याक्रमबाट स्नातक तह अध्ययन गर्न पाएकी हुँ ।”

मध्यमवर्गीय किसान परिवारकी विनिताका बुवाआमा खेतीपाती र चियाबारीको काम गर्नुहुन्छ । दुई दाजु वैदेशिक रोजगारीमा हुनुहुन्छ । उहाँले भन्नुभन्नुभयो, “छोरीलाई पढ्न सजिलो कहाँ छ र ! त्यसमाथि बिहे गरेर आएपछि घरकै काममा मात्रै घोटिनु पर्छ भन्ने मान्यता रहेको समाजमा यस्तो मानसिकता बिस्तारै हट्ने क्रममा छ । हामीले उच्च शिक्षा अध्ययन गर्ने अवसर पनि पाएका छौँ ।”

विष्णु, प्रतीका र विनितासहित १९४ जना छोरीबुहारीलाई सूर्योदय नगरपालिकाले ‘छोरीबुहारी शिक्षा कार्यक्रम’ मार्फत स्नातह तह निःशुल्क बढ्ने गरी छात्रवृत्ति प्रदान गरेको हो । नगर प्रमुख रणबहादुर राईले २०७५ देखि छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइएको बताउनुभयो । 

उहाँले आर्थिक अभाव र विवाहपछि उच्च शिक्षा अध्ययन गर्न सकियोस् भन्ने लक्ष्यसाथ नगरपालिकाले सञ्चालन गरेको छोरीबुहारी शिक्षा निःशुल्क स्नातक तह अध्ययन गर्ने गरी छात्रवृत्ति प्रदान गरेको बताउनुभयो । उहाँले ‘नगरको इच्छा बुहारीलाई शिक्षा, नगरको इच्छा छोरीलाई शिक्षा’ भन्ने नारा नै बनाएर छोरीबुहारीलाई शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको बताउनुभयो । 

उहाँले नगरले निःशुल्क शिक्षाको प्रबन्ध गरेपछि छोरीबुहारी अध्ययन अघि बढाउन उत्प्रेरित हुनुभएको छ । पालिकाले छोरीबुहारीलाई करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा अध्ययन गर्ने व्यवस्था मिलाएको छ । नगर प्रमुख राईका अनुसार छात्रवृत्ति कार्यक्रम सुरु गरेको चार वर्ष भएको छ । 

चालु शैक्षिक सत्रमा ४० जना छोरीबुहारीले स्नातक तहमा अध्ययनको अवसर पाउनुभएको छ । त्यसका लागि नगरपालिकासँग क्याम्पस र विद्यार्थीले सम्झौता गर्नुभएको छ । क्याम्पस प्रमुख गोपाल कट्टेलले छात्रवृत्ति कार्यक्रममा सहभागी १९४ मध्ये २७ जना स्नातक उत्तीर्ण भएको बताउनुभयो । 

स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई नगरपालिकाले एक सय दिनको रोजगारी दिने व्यवस्था गरेको छ । नगरपालिकाले स्नातक उत्तीर्ण विद्यार्थीलाई एक सय दिनको रोजगारीसँगै लोक सेवा आयोगको र शिक्षक सेवा आयोगको तयारी कक्षामा छात्रवृत्तिमा अध्ययन गरेका छोरीबुहारीलाई सहभागी गराउने तयारी पनि गरेको छ । 

सूर्योदय नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले वार्षिक ३० लाख रुपियाँभन्दा बढी रकम छोरीबुहारीको शिक्षामा खर्च गरिरहेको जानकारी दिनुभयो । नगरले छोरीबुहारीको अध्ययनकै लागि अहिलेसम्ममा दुई करोड रुपियाँभन्दा बढी रकम खर्च गरिसकेको छ ।