गोकर्ण दयाल
बैतडी, फागुन ४ गते । दुध बेचेमा देउता रिसाउने कुप्रथाको डरले बैतडीका ग्रामीण क्षेत्रका अधिकांश किसान दुध बेच्दैनन् । पशु पालेर गाउँमा दुध बेच्नुभन्दा भारतमा ज्याला मजदुरी गर्न सजिलो मानेर काममा जान्छन् ।
बैतडीका ग्रामीण क्षेत्रका स्थानीय तहका वडा कार्यालयदेखि गाउँपाकिला केन्द्र, विद्यालय र स्वास्थ्य चौकी रहेका स्थानका होटलमा दुध चिया पाइँदैन । चार नगरपालिका, छ वटा गाउँपालिका र ८४ वटा वडा कार्यालय गरी ९४ वटा स्थानीय सरकार छन् ।
त्यसैगरी जिल्लाभरि १०४ वटा स्वास्थ्य संस्था र ५६५ वटा विद्यालय छन् । यी स्थानमा चिया पसल चल्ने राम्रो सम्भावना भए पनि चिया पसल चल्न सकेका छैनन् । भएका चिया पसलमा कालो चिया मात्र पाइन्छ ।
सदरमुकाम बाहेकका अधिकांश ग्रामीण क्षेत्रका सार्वजनिक स्थलमा दुध चिया पाइँदैन ।
स्थानीय तहका वडा कार्यालयनजिक दुई–चारवटा चिया नास्ताका पसल चल्ने सम्भावना भए पनि दुध बेच्दा देउता रिसाउने डरले वडामा चिया पसल नरहेको मेलौली नगरपालिका–८, का वडा अध्यक्ष तपेन्द्र बिष्टले बताउनुभयो ।
“दुध बेचेर आम्दानी गर्नुभन्दा बरु भारतमा मजदुरी गर्न जाने ८० प्रतिशत घरधुरी छन्” वडा अध्यक्ष बिष्टले भन्नुभयो, “सार्वजनिक स्थलका होटलमा दुध बेचे दलित र महिनावारी भएका महिलाले चिया खाए देउता रिसाउने भ्रम छ । कृषिउपज बिक्री गरेर गाउँमै स्वरोजगार बन्न नदिने यस्ता कुप्रथा र कु–परम्परा हटाउन जरुरी छ ।”
जिल्ला सदरमुकाम बाहेकका अधिकांश ग्रामीण क्षेत्रका सार्वजनिकस्थलमा दुध चिया पाइँदैन । ग्रामीण स्वास्थ्य संस्थाका काम गर्ने महिला स्वास्थ्यकर्मीले महिनावारी भएका बेला दुध किन्न पाउँदैनन् ।
घिउ चल्छ, दुध चल्दैन
जिल्लाका ग्रामीण बस्तीका किसानले पहिलो पटक ब्याएको गाई–भैंसीको घिउ र दुध देउतालाई चढाउने चलन छ । देउतालाई चढाएको घिउलाई शेरौदो भन्ने गरिन्छ । जुन देउतालाई शेरौदो चढाइन्छ, उही देउताको “केर” (दृष्टि) पशुमाथि रहेको जनविश्वास छ । दलित र महिनावारी भएका महिलाले दुध–दही खाएमा देउता रिसाउने र पशुले दुध दिँदैन भन्ने भ्रम छ ।
घर परिवारमै महिनावारी भएका महिलालाई दुध–दही खान बञ्चित गरिएको छ ।
दलित समुदायका व्यक्तिले पशुपालन गरे पनि सार्वजनिक स्थलका होटलमा दुध चल्दैन । दलित समुदायको दुध नचले पनि घिउ भने चल्नेगरेको छ । ग्रामीण भेगमा दलितले न दूध किन्न पाउँछ, न बिक्री गर्न पाउँछन् । यस्तो विभेद हटाउनु पर्ने मेलौली नगरपालिका–६, का चिन्तामणि भट्टले बताउनुभयो ।
पशुको नस्ल हुन्छ
सुदूरपश्चिमको बैतडीसहितका केही जिल्लामा महिनावारी भएका महिला र दलितलाई दुध नदिने तीतो यथार्थ रहेकाले यस्ता कुप्रथा हटाउन स्थानीय सरकार अघि सुर्नुपर्ने पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख श्याम खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सदरमुकामका होटलमा कुनै विभेद छैन, तर ग्रामीण क्षेत्रमा अहिले पनि दुध नदिने चलन कायमै छ । दूध बिक्री गरे पशु बिग्रिन्छ भन्ने जुन भ्रम छ, पशुको केयर होइन, नस्ल हुन्छ । दुध उत्पादन बढाउन पशु सेवा विज्ञ केन्द्रसँग नस्ल सुधारका विभिन्न कार्यक्रम छन् ।”
उहाँले थप्नुभयो,“ कु–प्रथाका कारण ग्रामीण कृषिउपजको मुख्य स्रोत दुध आर्थिक रुपान्तरणको माध्यम बन्न सकेको छैन । यात्रा गर्दा बसको अर्को सिटमा कुन जातिको मानिस बसेको छ ? हामी सोध्दैनौं, तर दुध बेच्दा कसले खायो ? भन्ने भ्रम छ । यस्ता कुप्रथा हटाउन ग्रामीण क्षेत्रमा सहकारीमार्फत दुध सङ्कलन गरेर बिक्री गर्न स्थानीय तहले अगुवाइ गर्नुपर्छ ।”
कानुन कागजमा सीमित
जातीय विभेद र छाउपडी प्रथाविरुद्ध कानुन भए पनि कार्यान्वयन नहुँदा कागजमा सीमित बन्न पुगेको अधिकारकर्मीले बताएका छन् । नागरिक अगुवा कर्णदयाल सोडारीले महिनावारी भएका बेला छाउपडी मान्न नपाइने कानुन भए पनि घर परिवारमै महिनावारी भएका महिलालाई दुध–दही खान बञ्चित गरिएको छ ।
छाउपडीका नाममा र जातीय हिसाबले अहिले पनि दुध–दही खान नहुने प्रथा कायमै रहे पनि कानुन कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।
जनचेतना जगाउने संस्था सुते
समाजमा रहेका विभिन्न कुप्रथा र कु–परम्परा हटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भन्दै दर्ता भएका संस्थाले दुधका विषयमा बहस चलाउन नसकेको सामाजिक अगुवा डा. केदारचन्द्र भट्टले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा अहिले पनि दुध नदिने चलन कायमै छ ।
जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्ने बेलामा सामाजिक सेवाको भावनाले ओतप्रोत भएको विधान पेश गरिए पनि सो अनुसार कुनै पनि सामाजिक संस्थाले काम गर्न नसकेको उहाँले बताउनुभयो । कुनै एउटा बजेटको कार्यक्रम गर्न मात्र दर्ता भएका संस्था त्यसपछि सुत्नेगरेको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बैतडीमा दर्ता भएका ८४९ वटा संस्थामध्ये २० प्रतिशत संस्था मात्र नवीकरण भएको सूचना अधिकारी शङ्कर बोहराले जानकारी दिनुभयो ।