• १३ साउन २०८१, आइतबार

उपराष्ट्रपति यादव र जापानका राजदूत युताकाबिच शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेट गर्नुहुँदै नेपालका लागि जापानका राजदूत किकुता युताका । तस्बिरः उपराष्ट्रपतिको कार्यालय

काठमाडौं, फागुन ३ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ।

बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको हो। भेटका क्रममा शुभकामना आदान–प्रदानपछि द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोगलगायतका विषयमा संवाद भयो। 

उपराष्ट्रपति यादवले नेपाल र जापानबिच ऐतिहासिक सम्बन्ध रही आएको बताउनुभयो। ‘‘सन् १९५६ मा नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकबिचको सम्बन्ध अझै घनिष्ठ एवं मैत्रीपूर्ण रूपमा अगाडि बढिरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको प्रारम्भ हुनुअघि जनस्तरमा द्विपक्षीय सम्बन्ध पनि उत्तिकै बलियो भएकोमा खुसी व्यक्त गर्दछु।’’ 

उपराष्ट्रपति यादवले नोभेम्बरमा नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पपछि जापानका गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।

‘‘नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिँदै आएको छ। हाम्रो घनिष्ठ मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गर्ने गरेको निःशर्त सम्मानको हामी खुला दिलले प्रशंसा गर्छौँ’’ उहाँले भन्नुभयो। 

उपराष्ट्रपति यादवले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको बताउनुभयो। 

उहाँले मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजना अन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो।

उपराष्ट्रपति यादवले आगामी दिनमा द्विपक्षीय व्यापार तथा लगानीका विषयलाई उच्च प्राथमिकता दिनुहुने विश्वास व्यक्त गर्नुभयो। उहाँले यो  कार्यकालमा नेपाल–जापान सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गर्नुभएको छ। 

राजदूत युताकाले नेपाल र जापानबिचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जापानबाट नेपाललाई जारी सहयोग निरन्तर रहने बताउनुभयो।