• १२ असोज २०८१, शनिबार

‘ज्ञानीसँग हाम्रा नानी’ शृङ्खला सम्पन्न

blog

कार्यक्रममा सहभागी हुनुभएका अतिथिहरु ।

रमेश विश्वकर्मा

गुल्मी, फागुन ३ गते । गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउन सञ्चालन गरेको ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको आज सयौँ शृङ्खलाको कार्यक्रम सम्पन्न भएको छ । 

तत्कालीन तम्घास गाविस खानीगाउँ टुनीखोलामा रहेको सानो बचत घरबाट २०४३ सालमा शैक्षिकयात्रा सुरु गरेको यस विद्यालयले विद्यार्थीलाई अध्ययनसँगै सिकाइमा सक्रिय बनाउन नियमित पठनपाठनका अतिरिक्त विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको छ ।

विद्यालयले विद्यार्थीको सिकाइप्रतिको परम्परागत मान्यतालाई चिर्न नियमित पठनपाठनका अतिरिक्त लामो समयदेखि ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रम गर्दैआएको छ । यस कार्यक्रमको सयौँ शृङ्खलाको अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले विगतदेखि वर्तमानसम्मका आफ्ना अनुभवलाई विद्यार्थीमाझ प्रस्तुत गर्नुभयो । 

उहाँले वर्तमानका साझेदार, भविष्यका देश निर्माता र सभ्य समाजका अग्रणी विद्यार्थी भएको भन्दै विद्यार्थीलाई अध्ययनमा निरन्तर सक्रिय भएर लाग्न सुझाव दिनुभयो । नगरप्रमुख पन्थीले विद्यार्थीलाई ठुलो होइन, असल बन्ने प्रयत्न गर्न आग्रह गर्नुहुँदै असलभित्र सबै कुरा पर्ने बताउनुभयो । सबैले जीवन्त रहने काम गर्न जरुरी रहेको भन्दै नगरप्रमुख पन्थीले पछिल्लो पटक संस्कार स्खलित हुँदैगएको बेलामा विद्यालयले संस्कारसहितको शिक्षा प्रदान गरेको बताउनुभयो ।

रोजगारीमूलक शिक्षा नभएसम्म समुन्नत समाजको कल्पना समेत गर्न नसकिने भन्दै उहाँले कुनै पनि युवा साथीहरू विदेशमा रोजगारका लागि जान नपरोस् भनेर सबै तहबाट रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने बताउनुभयो । स्वदेशमै बसेर केही गर्छु भन्ने उद्देश्य लिन विद्यार्थीलाई उहाँले आग्रह गर्नुभयो । सभ्य, आधुनिक, न्यायपूर्ण र पद्धतिमा चल्ने समाज निर्माण गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

विद्यार्थीलाई अध्ययनसँगै सकारात्मक हरेक कुरामा सक्रिय बनाउन विद्यालयले ‘ज्ञानीसँग हाम्रा नानी’ र ‘बुक टक’ लगायतका विभिन्न महत्त्वपूर्ण अतिरिक्त कार्यक्रम गर्दैआएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो । यस कार्यक्रममार्फत विभिन्न क्षेत्रका विशेषज्ञ ल्याएर विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिने प्रयास गरिएको भन्दै विद्यार्थीलाई अध्ययनमा आकर्षित गर्न विभिन्न रचनात्मक र सिर्जनात्मक पद्धतिद्वारा पठनपाठन सञ्चालन गरिएको बताउनुभयो ।