• १३ असोज २०८१, आइतबार

आइसीसी विश्वकप लिग-२ मा सुखद् सुरुवात गर्छौं : कप्तान रोहित

blog

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल । तस्बिरः क्यान

काठमाडौं, फागुन २ गते। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आइसीसी विश्वकप लिग–२ मा सुखद् सुरुवात गर्ने लक्ष्य रहेको बताउनुभएको छ।

नेपालले तीन वर्षको लिग–२ साइकल बिहीबारदेखि तीन देशीय श्रृंखलाबाट सुरुवात गर्दैछ। नेपालका कप्तान रोहितले गत संस्करणको लिग–२ मा सुखद् सुरुवात हुन नसकेको उल्लेख गर्दै यस पटक राम्रो नतिजा निकाल्ने आशा व्यक्त गर्नुभएको हो। 

नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय श्रृंखलाबाट आइसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो। नामिबिया यो साइकलको डेब्युटेन्ट टोली हो।

नेपालका कप्तान रोहितले यो साइकलमा राम्रो गर्न सुखद् सुरुवात हुनु आवश्यक रहेको बताउनुभएको हो। कप्तान रोहितले नेदरल्यान्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो श्रृंखला रोमाञ्चक हुने आशा व्यक्त गर्नुभएको छ। आफ्नो टोलीले राम्रो क्रिकेट खेल्न सकेमा हरेक टोलीलाई हराउन सक्ने विश्वास रहेको बताउनुभएको छ। उहाँले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको पनि धारणा राख्नुभएको छ।

नेपालका प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदान प्रतियोगिताबाट क्यानडासँगको श्रृंखला राम्रो गरेको उल्लेख गर्दै यस श्रृंखलामा पनि सुखद् सुरुवात गर्ने धारणा राख्नुभयो। 


प्रशिक्षक मोन्टीले आफ्नो टोलीमा हरेक खेलाडी आफ्नो जिम्मेवारीमा राम्रो क्रिकेट खेल्न सक्ने क्षमताको रहेको विश्वास गर्नुभएको छ। नामिबियाका कप्तान जेरार्ड इरामसले पनि नेपालको श्रृंखलामा सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डले ट्वान्टी–२० फरम्याटको क्रिकेटमा जस्तै एकदिवसीय क्रिकेटमा पनि राम्रो नतिजा ल्याउने बताउनुभएको छ। 

 नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल चार खेल खेल्नेछ। पहिलो खेलमा बिहीबार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ। यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सहभागी हुनुहुने छैन। उहाँ व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएई) मा हुनुहुन्छ।