• ९ जेठ २०८१, बुधबार

सुदूरपश्चिम र कोहलपुर मेयर ११ फाइनलमा

blog

प्रतियोगिताको फाइनलमा पुगेको सुदूरपश्चिम टोली । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २ गते । सुशील कोइराला मेमोरियल यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ पुगेका छन् । 

उपाधिका लागि सुदूरपश्चिम र कोहलपुर मेयर–११ ले विहीबार प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन् । सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । 

बुधवारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । लुम्बिनीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले ३ बिकेट गुमाएर ७.४ ओभरमा सहज प्राप्त गरेको छ ।  

यसअघि टस जितेर ब्याटिङ्ग गरेको लुम्बिनीले १९.३ ओभरमा ५९ रनमा सबै बिकेट गुमाएको थियो । सुदूरपश्चिमको बलिङमा रबिना साउदले सर्वाधिक ३ विकेट लिइन् । प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा ९ रन दिएकी थिइन् ।

बुधवारको दोस्रो खेलमा कोहलपुर मेयर–११ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गरेको थियो । कोहलपुर मेयर–११ ले दिएको १३३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । 

टस जितेर ब्याटिङ गरेको कोहलपुर मेयर –११ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १३२ रन बनाएको थियो । कोहलपुरका लागि कप्तान सना प्रविनले अविजित ४८ तथा अविजित एलिशा यादवले ४७ रन बनाइन् । खेलको प्लेयर अफ द म्याच कोहलपुरकी सना प्रविन घोषित भइन् ।