• ८ जेठ २०८१, मङ्गलबार

सिकलसेल औषधीलाई ‘सुबिधा थैली’मा समेट्न आग्रह

blog

स्वास्थ्य बीमा वोर्डका कार्यकारी अध्यक्ष डा. दामोदर बसौलालाई अनुरोधपत्र प्रदान गर्नुहुँदै प्रदेश सहरी विकासमन्त्री कृष्णा केसी ।

गजेन्द्र गुरुङ

खजुरा, माघ २ गते । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ ।

बाँके निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

वोर्डका कार्यकारी निर्देशक डा. बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बीमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा थैलीमा सूचिकृत गर्न अनुरोध गर्नुभयो । 

सिकलसेल र थालेसिमिया रोगको निदान र उपचारका लागि सरकारले स्वास्थ्य बीमामा समेटे पनि बीमा गरेका यस रोगका बिरामीले निःशुल्क औषधी प्राप्त गर्न सकेका छैनन् । सिकलसेल र थालेसिमिया रोग लागिसकेपछि यसका रोगी विरामीले दीर्घकालीन रुपमा औषधी खानुपर्ने र औषधीसमेत अत्यन्तै महङ्गो हुनेहुँदा स्वास्थ्य बीमा वोर्डलाई निःशुल्क औषधीको सुबिधामा समेट्न आफूले अनुरोध गरेको मन्त्री केसीले बताउनुभयो ।