• ८ जेठ २०८१, मङ्गलबार

चोकमा हाइमास्ट लाइट जडान हुने

blog

हाइमास्ट लाइट निर्माणस्थलको शिलान्यास तथा बसपार्क सरसफाइ कार्यक्रमको शुभारम्भ गरिदै । तस्विरः छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, फागुन २ गते । बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक र चौराहामा उच्च क्षमताका हाइमास्ट लाइट जडान गर्ने भएको छ ।

६५ औं स्थापना दिवसको अवसर पारेर बुधबार नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकको मुख्य सडकमा हाइमास्ट लाइट निर्माणस्थलमा शिलान्यास तथा बसपार्क सरसफाइ कार्यक्रमको शुभारम्भ गर्नुभयो । 

हाइमास्ट लाइट जडानस्थलमा शिलान्याश गर्दै प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रम अन्तर्गत बुटवलका २३ वटा स्थानमा हाइमास्ट लाइट जडान गर्ने बताउनुभयो ।

उहाँले बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त सहर बनाउने योजनासाथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अगाडि बढेको बताउनुभयो । 

प्रमुख पाण्डेयल विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले नगरभित्रका विद्यालयबिच फुटबल प्रतियोगिता, लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि लोकनृत्य प्रतियोगिता, महिलालाई सीप र उद्यमसँग जोड्न गृहणी महिला रोजगार कार्यक्रम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोक र चौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन् । 

जसअनुसार योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराह, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ लाइट जडान हुनेछन् ।

यस्तै, वीपी चोक, जेसिज चोक, तीनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान हुनेछन् । यस्तै, नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ लाइट जडान हुने श्रेष्ठले बताउनुभयो ।

टेण्डरमार्फत १ करोड ८१ लाख ७२ हजार रुपियाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको छ ।