• १ जेठ २०८२, बिहिबार

गठबन्धन संस्कृतिले सिंगो प्रणालीलाई विकृत बनायो : महामन्त्री थापा

blog

चितवनमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ।

वसन्त पराजुली  

भरतपुर फागुन २ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले  दलबिच गठबन्धन संस्कृतिको अभावमा सिङ्गो प्रणालीलाई विकृत बनाउनेतर्फ उद्यत भएको बताउनुभएको छ । भरतपुरमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री थापाले गठबन्धन संस्कृतिको अभावले नै अहिले विभिन्न समस्या आइरहेको स्पष्ट पार्नुभयो । 

“निर्वाचन अगाडिको गठबन्धन नेपालमा आफैंमा गलत, संविधानको स्प्रिट विपरीत र लोकतन्त्रको स्प्रिट विपरीत छ”, उहाँले भन्नुभयो, “ सिङ्गो प्रणालीलाई विकृत बनाउनेतर्फ उद्यत प्रकृतिको निर्वाचनअघिको गठबन्धन रोकिनुपर्छ ।” निर्वाचनपछिको गठबन्धनलाई भने उहाँले स्वाभाविक रुपमा लिनुपर्ने धारणा राख्नुभयो । 

“निर्वाचनमा कुनै पनि दलले बहुमत नल्याएपछि गठबन्धन बन्ने हो । तर निर्वाचनपछिको गठबन्धनका लागि पनि हामीमा गठबन्धन संस्कृतिको अभाव छ”, उहाँले भन्नुभयो ।  

गठबन्धन सफल नहुनुमा नियत र कार्यगत शैलीमा नदेखिएको स्पष्टता नै समस्या भएको उहाँको निष्कर्ष छ ।  

“केन्द्रमा मात्रै हैन प्रदेशमा पनि हेर्नुस् गठबन्धनमा समस्या छ । गठबन्धनका लागि चाहिने संवाद, समझदारी र स्पष्टता देखिँदैन”, उहाँले थप्नुभयो, “नेताहरुको कुराकानी मिल्यो मिल्यो । कुराकानी मिलेन मिलेन यस्तो पनि गठबन्धन हुन्छ ? सरकारको प्राथमिकता के हो ? मन्त्रीहरुको जवाफदेहिता कहाँ रहने हो ? कार्यक्रम कसरी बनाउने ?”

उहाँले गठबन्धनमा नीतिगत कार्यगत स्पष्टता भए समस्या नहुने तर्क पनि गर्नुभयो  । काँग्रेस महासमितिको बैठक नजिँकदै गर्दा काँग्रेसले जारी राखेको समुदायमा काँग्रेस अभियानका बारेमा महामन्त्री थापालाई पत्रकारले जिज्ञासा राखेका थिए । 

“सुशासन सेवा प्रवाहको पाटोमा ठोस परिवर्तन हुन्छ महत्त्वपूर्ण परिवर्तन हुन्छ भन्ने लागेको तर त्यो प्राप्त गर्न नसकेका कुरामा आम नागरिकका ठूला गुनासा छन् । जुन सजिलै गर्न सकिने काम पनि गर्न सकिएन भन्ने गुनासा हुन्”, समुदायमा काँग्रेस अभियानका क्रममा मेची महाकाली यात्रामा नागरिकको सुझाव लिंदै हिँड्नुभएका  महामन्त्री थापाले थप्नुभयो, “स्रोत साधनको अभावले हुननसक्ने कार्यहरु त भएन नै स्रोत साधन बिना नै  गर्न सकिने काम नहुँदा त्यसबाट भएको नैराश्य  आम नागरिकमा छ । जनताका अपेक्षा पनि छन् । सबै अनुकूल भएका बेला यो भए हुन्थ्यो भन्ने अपेक्षा आमनागरिकमा हुनु स्वाभाविक नै छ ।”

उहाँले विकास निर्माणले जनतामा पारेको प्रभाव र विकास निर्माणमा भइरहेका ढिलाइले पारेका समस्या जनतालाई बुझाउन नसक्दा पनि अहिले दलहरुप्रतिको नैराश्य बढी भएको बताउनुभयो ।   

“हुलाकी सडकमा पूर्वाधार निर्माणमा यति ठूलो लगानी भएको छ यसको लाभ लिने कुरामा सबै चुकेको कुराको अनुभूति भइरहेको छ ।  पूर्वाधार बनेका तर समयमा पूरा हुन नसक्दा देखिएका समस्या पनि समुदायमा छ । दुई वर्षमा हुने कतिपय योजना दश÷बाह्र  वर्षमा पनि पूरा हुन सकेको छैन । यो ठेक्का प्रणालीकै समस्या हो भन्ने कुरा पनि जनतालाई बुझाउन सकेनौँ ।”