• १५ मंसिर २०८१, शनिबार

तनहुँमा १७ प्रतिशत मात्रै खर्च

blog

तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ को देउराली नगर र वडा नम्बर १ को विज्ञान चौर जोड्न बनाइएको पुल । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, फागुन २ गते । तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च कछुवा गतिमा देखिएको छ । सात महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

पुँजीगततर्फ सङ्घीय सरकारमार्फत रु तीन अर्ब ७५ करोड ८२ लाख ७६ हजार आठ सय २९ विनियोजन भएकामा माघ मसान्त सम्ममा  रु ६३ करोड ८८ लाख ६१ हजार चार सय ९२ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै चालूतर्फ ५४।४८ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु आठ अर्ब ७६ करोड ३६ लाख १७ हजार ६१ विनियोजन भएकामा रु चार अर्ब ७७ करोड ४६ लाख ६८ हजार चार सय ८२ खर्च भएको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पुँजीगततर्फ २१।६४ प्रतिशत बजेट खर्च भएको छ । माघ मसान्त सम्ममा सङ्घ सरकार भन्दा प्रदेश सरकार मातहतका कार्यालयले विकास बजेट बढी खर्च गरेका छन् । पुँजीगततर्फ रु दुई अर्ब ६२ करोड ५५ लाख १३ हजार विनियोजन भएकामा रु ५६ करोड ८२ हजार ४८ लाख  हजार दुई सय ६६ खर्च भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, चालूतर्फ रु ८३ करोड ६४ लाख ८९ हजार चार सय विनियोजन भएकामा रु २६ करोड ६६ लाख दुई हजार ४७ अर्थात्  ३१।८७ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, त्यसपछि बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न तीन महिना लगाउने र कामको रफ्तार नबढाउने जस्ता कारणले विकास बजेटको खर्च न्यून हुन पुगेको प्रमुख कोष नियन्त्रक भट्टराई बताउनुहुन्छ ।

 कार्यालयका अनुसार सात महिनामा सङ्घ र प्रदेशको गरी १८ दशमलव  ९१ प्रतिशत विकास अर्थात् पुँजीगत बजेट खर्च भएको छ ।  पुँजीगत बजेट रु छ अर्ब ३८ करोड ३७ लाख ८९ हजार आठ सय २९ मा एक अर्ब २० करोड ७१ लाख नौ हजार सात सय ५९ खर्च भएको छ । यस्तै चालुतर्फ ५२ दशमलव ५१ प्रतिशत खर्च भएको छ । चालु तर्फ रु नौ अर्ब ६० करोड एक लाख छ हजार चार सय ६४ खर्च भएको हो ।

तनहुँमा चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा सङ्घ सरकार तर्फ रु छ अर्ब ६२ करोड ७६ लाख ६२ हजार एक सय ८८ राजस्व सङ्कलन भएको छ । यस्तै प्रदेश तर्फ १४ करोड ५२ लाख ३८ हजार पाँच सय ८८  १५ करोड राजस्व सङ्कलन भएको छ । जिल्लामा भित्रिएका कुल खाद्यान्न सामग्री, निर्यातित सामग्री, सरकारी सेवा–सुविधासहित १० स्थानीय तहले गरेको वित्तीय प्रगतिमा उक्त राजस्व सङ्कलन भएको हो ।