प्रेम अधिकारी
पशुपतिनगर(इलाम), फागुन २ गते । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले इलामको सूर्योदय–२ स्थित पुल खोलाको दशगजामा निर्माण गर्दै गरेको पक्की संरचना काम तत्कालका लागि रोकिएको छ ।
सीमाको जङ्गे पिलर ७०-२ र ७०-३ को बिचमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रातारात संरचना निर्माण गर्न थालेपछि विवाद सुरु भएको थियो । स्थानीय , नेपाली सुरक्षा निकाय र भारतीय सुरक्षा अधिकारी बिच भएको छलफल पछि तत्काल भारतीय पक्षले उक्त संरचना निर्माणको काम रोक्ने मौखिक सहमति भएको छ ।
उक्त क्षेत्रमा केही दिन अघि देखि भारतीय सुरक्षा निकायले सिमेन्ट, इँटा, गिटी, बालुवा प्रयोग गरी भारतीय पक्षले गेस्ट हाउस बनाउन थालेको थियो । सूर्योदय नगरपालिका वडा नं.२ का वडाध्यक्ष डिकबहादुर बमजनले भारतीय पक्षले दशगजामा पक्की संरचना निर्माण गरेको जानकारी दिनु भयो । उहाँले भारतीय पक्षले संरचना निर्माण गरेको जानकारी पाउन साथ त्यसलाई रोक्नका लागि पहल थालिएको जानकारी दिनु भयो ।
उहाँका अनुसार वडा प्रतिनिधि, सीमा प्रशासन, सशस्त्र प्रहरी र स्थानीयले स्थलगत अवलोकन गर्दा भारतीय पक्षले पक्की संरचना बनाइरहेको ठाउँ दशगजा नै भएको ठहरसमेत गरेको छ । स्थानीय सीमा सम्बन्धीका जानकार मिलन क्षेत्रीले भारतीय सुरक्षा निकायले संरचना बनाएको स्थान दशगजा नै भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘भारतीय पक्षले एकलौटी रूपमा गुगल म्याप बनाएर त्यसका आधारमा आफ्नो भूमि भन्दै दाबी गर्दै आएको छ तर, स्थलगत रूपमा हेर्दा उक्त भूमि दशगजा नै हो ।’
वडा कार्यालयको पहलमा सर्वपक्षीय बैठक बसेर लिखित रूपमै दशगजा मिचिएकोबारे स्थानीय प्रशासनलाई जानकारी गराएको छ । पशुपतिनगरमा बसेको सर्वदलीय बैठकले दशगजामा भइरहेको संरचना निर्माण कार्य तत्काल रोक्न अनुरोध गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार सीमा प्रशासन र वडामार्फत प्रशासनमा ध्यानाकर्षण गरिएको वडाध्यक्ष बमजनले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरी बल इलामका एसपी दोर्ण विष्टले भारतीय सुरक्षा अधिकारी सँगको छलफल पछि तत्कालका लागि उक्त संरचनाको काम अगाडी नबढाउने सहमति भएको छ । उहाँले दुवै देशका अधिकारीले दोहोरो सर्भे गरेपछि मात्र यकिन हुने जानकारी दिनु भयो । सन् २०१२ मा एसएसबीले यहाँको दशगजामै टेन्टसहितको क्याम्प बनाएको थियो । त्यस ठाउँमा ‘फेन्सिङ’ गर्न खोजेको थियो । अहिले त्यही ठाउँमा पक्की गेस्ट हाउस बनाउन थालेको छ ।
इलामको रोङ गाउँपालिकाको तिरिङ देख सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ दशमलव ५ किलोमिटर सीमा क्षेत्र रहेको छ । जसमा विभिन्न ठाउँमा पटक पटक सीमा विवाद हुँदै आएको छ ।