काठमाडौँ, फागुन २ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वसन्त पञ्चमीको शुभकामना दिनुभएको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमी तिथिमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८० को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिनुभएको हो ।
यस अवसरमा कला, विद्या, बुद्धि तथा ज्ञानको प्रतिकका रूपमा देवी सरस्वतीको पूजा–अर्चना गर्ने हिन्दु विधान र पौराणिक परम्परा छ । आज सरस्वती देवीको आविर्भाव दिवस भएकाले श्री पञ्चमीका रूपमा पनि यो प्रसिद्ध छ । आज सरस्वतीका समुपासक र सम्पूर्ण शिक्षक संस्थाहरूले नृत्य सङ्गीतको विशेष आयोजना गर्दै विद्याको अधिष्ठात्री देवीको पूजा अर्चना गर्छन् । यस अवसरमा किताब, कलम, कपी, वाद्य उपकरणहरू आदिको पूजा गर्ने प्रचलन छ । किसानहरूले कृषिकर्मीमा प्रयोग हुने वस्तुहरू र अन्नबालीहरूको पूजा गर्छन् ।
वसन्त पञ्चमीका अवसरमा देशका विभिन्न सरस्वती मन्दिरहरूमा मेला लाग्ने गर्छ । पछिल्लो समय सार्वजनिक पूजा पञ्डालहरुमा सरस्वती देवीको मूर्ति स्थापित गरी सामूहिक पूजा–अर्चना गर्ने संस्कृति र परम्परा लोकप्रिय हुँदै गएको छ । यसले सामूहिकतामा एकताको मुल मर्मलाई प्रतिबिम्बित गर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।
वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८० को शुभकामना सन्देश:
हरेक वर्षको माघ शुक्ल पञ्चमी तिथिमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८० को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । यस अवसरमा कला, विद्या, बुद्धि तथा ज्ञानको प्रतिकका रूपमा देवी सरस्वतीको पूजा–अर्चना गर्ने हिन्दु विधान र पौराणिक परम्परा छ । आज सरस्वती देवीको आविर्भाव दिवस भएकाले श्री पञ्चमीका रूपमा पनि यो प्रसिद्ध छ । आज सरस्वतीका समुपासक र सम्पूर्ण शिक्षक संस्थाहरूले नृत्य सङ्गीतको विशेष आयोजना गर्दै विद्याको अधिष्ठात्री देवीको पूजा अर्चना गर्छन् । यस अवसरमा किताब, कलम, कपी,
वाद्य उपकरणहरू आदिको पूजा गर्ने प्रचलन छ । किसानहरूले कृषिकर्मीमा प्रयोग हुने वस्तुहरू र अन्नबालीहरूको पूजा गर्छन् । वसन्त पञ्चमीका अवसरमा देशका विभिन्न सरस्वती मन्दिरहरूमा मेला लाग्ने गर्छ । पछिल्लो समय सार्वजनिक पूजा पञ्डालहरुमा सरस्वती देवीको मूर्ति स्थापित गरी सामूहिक पूजा–अर्चना गर्ने संस्कृति र परम्परा लोकप्रिय हुँदै गएको छ । यसले सामूहिकतामा एकताको मुल मर्मलाई प्रतिबिम्बित गर्दछ ।
सरस्वती ज्ञान विज्ञानको मात्रै अधिष्ठात्री देवी होइनन्, काव्य, कला, सङ्गीत आदिको सर्जनको उत्प्रेरक शक्ति पनि हो । सरस्वती पूजाका अवसरमा बालबालिकाहरूलाई विद्याध्ययन प्रारम्भ पनि गराइन्छ । वसन्त पञ्चमीमा सरस्वती पूजाको विशेष महत्त्व हुने भएकाले गाउँ र सहरहरूका सरस्वतीको माटोको प्रतिमाहरूको पूजाको भव्य आयोजना पनि गरिन्छ । यस दिन सरस्वतीको प्रतिमाहरू स्थापना भएको स्थानमा भजन–कीर्तन, वसन्त र होली–गीतहरू तथा नयाँ परिधानमा सुसज्जित बालबालिका, ज्येष्ठ नागरिक, महिला–पुरुषको अद्भुत छविका कारण माहौल रसमय र रङ्गमय बन्न पुग्छ । पञ्चमीको भोली पल्ट प्रातः काल कुनै जलाशय वा नदीहरूका यी प्रतिमाहरूको विसर्जन गरिन्छ ।
बौद्ध धर्मावलम्बीहरूले बोधिसत्त्व मञ्जुश्रीको पूजा आराधना गर्छन् । वसन्त पञ्चमीलाई मुस्लिम समुदायले सुफी वसन्तका रूपमा १२ औँ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्ताबेज र मुस्लिम किम्बदन्तीहरूमा पाइन्छ । यसले वसन्त पञ्चमी विभिन्न धर्मावलम्बीहरूको त्रिवेणी उत्सव भएको पुष्टि हुन्छ । हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहु जाति, बहु भाषा, बहु संस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ ।
भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरूमा विविधता रहेको पाइन्छ । हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुगेको छ
। आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृङ्खलता बिर्सेर परस्पर खुसी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्दै शिक्षा र ज्ञानको सत्य मार्गमा लम्किन सबैलाई हौसला प्राप्त होस् । वसन्त पञ्चमीलाई सबै पुण्य कार्यहरूका लागि शुभ मानिन्छ । यो शुभ अवसरलाई सबैले आ–आफ्नो नकारात्मक सोच, विचार र मानसिकता परित्याग गर्दै आफूभित्र सकारात्मकता भर्ने महत्त्वपूर्ण तिथिका
रूपमा मनाउन सक्नुपर्छ । यो वसन्त ऋतुको आगमन हुने दिन पनि भएकाले आफ्नो जीवनमा सदाचार र मेलमिलापको गुण आत्मसात् गर्न पनि सक्नु पर्दछ ।
अन्त्यमा, यस अवसरमा गरिने वसन्त श्रवण र सरस्वती पूजाले सिङ्गो मानव जीवनमा सधैँ ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् । साथै, समाज र देशमा सामाजिक तथा धार्मिक एकता एवं सहिष्णुता, परस्पर विश्वास, सहयोग, मैत्री भाव, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्दै मुलुकलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै देशलाई समृद्धितर्फ उन्मुख गराउन सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न पनि सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८० फागुन २ गते बुधवार ।
(ने.सं. ११४४ चिल्लाथ्य, ३ बुधवार)
रामसहाय प्रसाद यादव
उपराष्ट्रपति