स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख १३ गते । ‘खानाका लागि विषरहित खेतीपाती प्रयोग गरौं, तुलनात्मक लाभ भएका कृषिउपज प्रवर्धन गरी किसानको आम्दानी र रोजगारी बढाऔं’ नाराका साथ सुरु गरिएको जैविक कृषि जागरण अभियान २०८२ का अभियानकर्ता मकवानपुर आइपुगेका छन् ।
जैविक कृषि जागरण अभियान समूहले गरेको एक महिने अभियान अन्तर्गत वैशाख ९ देखि सूचारु भएकोे हो । निरन्तर बढ्दो रासायनिक मल र विषादीको प्रयोगले पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन् । यसले माटो र मानव स्वास्थ्यलाई थप संकटग्रस्त बनाएकाले यसबारे सरोकार निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन आफूहरु अभियानमा होमिएको अभियानका संयोजक उद्धव अधिकारीले बताउनुभएको छ ।
‘जलवायु परिवर्तनसँगै माटो मरिरहेको, पानी चक्र बिगँ्रदै गएको अवस्था छ । एकातिर हाम्रो स्थानीय उत्पादन आवश्यक रुपमा बढ्न सकेको छैन भने अर्कातिर हानिकारक आयातित प्रशोधित अल्पपोषक खानामा भर पर्नु परिरहेको छ’ संयोजक अधिकरीले बताउनुभयो ।
संयोजक अधिकारीका अनुसार अभियानकर्ता टोलीले नेपालको पूर्वी क्षेत्रका २२ जिल्लामा अभियान गर्ने छ । शनिबार अभियान थालनीको पाचौँ दिन पूरा भएको छ । टोलीले हालसम्म काभ्रे, सिन्धुली र मकवानपुरमा अभियान सञ्चालन गरेको छ ।
अभियान टोलिले हिजो शुक्रबार बागमती प्रदेशसभाका सभामुख, उपसभामुख तथा विभिन्न समितिका सभापतिहरु समक्ष भेटघाट गरेको छ । ‘हिजो हामीले बागमती प्रदेश सभाका सभामुख, उपसभामुख तथा विभिन्न समितिका सभापतिहरु समक्ष भेटघाट गर्ने अवसरसमेत पायौं । हामीले उहाँहरुसँग छलफलका क्रममा बढ्दो रासायनिक मल र विषादीको प्रयोगले जनस्वास्थ्य बिग्रिएको र समग्र किसानहरुको समस्यालाई राख्यौंं’, संयोजक अधिकारीले भन्नुभयो ।
किसानलाई केन्द्रमा राखि नेपालको स्थानीय विशेषतामा आधारित, प्रकृतिसँग समन्वय गर्ने खेती प्रणाली मात्र उपयुक्त नरहेको अभियानकर्ताहरुले बताउनुभयो । सरकारी अधिकारीले खाद्य सूरक्षा तथा बीउ संरक्षण र विषादी नियन्त्रण सरकारको प्राथमिकता हुने बताए पनि दलाललाई फाइदा पुग्नेखालको बेथितिबाट यस्ता प्राथमिकताहरु कार्यान्वयन हुनेमा विश्वास गर्ने आधार नदेखिने उनीहरुको भनाइ छ ।
जागरण यात्रामा हुने सबै भेटघाट र संवादलाई स्वस्थ र पोषणयुक्त खाना प्राप्त गर्ने नैसर्गिक अधिकारको सुनिश्चित्ता, कृषि, खाद्य, भूमि, जलवायु लगायत जीवनका आधारभूत पक्षमा किसान समूदायको न्यायसँग हक स्थापित गर्ने र सरोकारवालालाई जवाफदेही बनाउन अवसर रहेको अभियानकर्ताको दाबी छ ।