• १४ वैशाख २०८२, आइतबार

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा तस्बिर प्रदर्शनी

blog

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी। तस्बिरः विकास द्वारे

काठमाडौँ, वैशाख १३ गते। गोरखापत्र संस्थानले यस वर्षको राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिरहरू प्रदर्शनी गरेको छ। आज काठमाडौँमा गोरखापत्र संस्थान, आर्ट तथा फोटोग्राफी शाखाले नेपालमा फोटो पत्रकारिता र पत्रकारको सुरक्षा विषयक कार्यशाला गोष्ठीको आयोजना गरी गोरखापत्रमा प्रकाशित तथा यहाँ कार्यरत फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिर प्रदर्शनी गरिएको हो।

तस्बिर प्रदर्शनी आयोजनाले सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको सो कार्यक्रमका प्रमुख अतिथि एवं गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक गोपाल चित्रकारले बताउनुभयो। उहाँले भन्नुभयो, “तस्बिरले सबै कुराको चित्रण गरेको हुन्छ। पुराना तस्बिर प्रदर्शनीले पत्रकारलाई तस्बिर खिच्न कति गाह्रो हुन्छ भन्ने विषयमा जानकारी दिनुका साथै सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको छ।”

वि.सं १९८४ वैशाख १३ गते गोरखापत्रले पहिलो पटक सर्वसाधारणको तस्बिर छापेको दिनको स्मरण गर्दै राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरिएको संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “रिलबाट प्रिन्ट गरिएका धेरैजसो तस्बिर अहिले सूचनाको दरिलो स्रोत भएको छ। यो कार्य निरन्तर चलिरहने छ।” 

वि.सं. १९५८ वैशाख २४ गतेदेखि प्रकाशन आरम्भ गरेको मुलुकको जेठो अखबार गोरखापत्र नेपाली समाज, राजनीति, जनजीवन, भाषा, संस्कृति र सम्पदासम्बन्धी जानकारी लिने महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बताउनुभयो। 


संस्थानले प्रदर्शन गरेका पुराना फोटोको रिलले करिब एकसय ५० बाकस भरिएका तथा प्रदर्शनीका लागि छनोट भएका नेगेटिभ स्क्यानिङ गर्न पनि निकै चुनौती भएको गोरखापत्र दैनिकका फोटोग्राफी विभाग प्रमुख रामप्रसाद हुमागाईंले जानकारी दिनुभयो। 

संस्थानका पूर्व महाप्रबन्धक गोपाल चित्रकार, फोटो पत्रकार विन्दुराजसिंह सुवा, रामेश्वर कायस्थ, भीम गुरुङ, भरत देउराली, नातिकाजी महर्जन, राजेन्द्र चित्रकार, शेखर चौलागाईं र रमेश केसीलगायत फोटो पत्रकार मुलुकमा अब्बल फोटो पत्रकारका रूपमा मानिनुहुन्छ।

कार्यक्रम संस्थानका पूर्व महाप्रबन्धक एवं कार्यक्रमका प्रमुख अतिथि गोपाल चित्रकारले मोबाइलबाट फोटो खिचिर उद्घाटन गर्नुभएको थियो। साथै कार्यक्रममा गोरखापत्र संस्थानद्वारा प्रकाशित पहिलो फोटो पत्ता लगाउने उषा तितछुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ।