• १२ साउन २०८१, शनिबार

गोरखापत्रकर्मी मिजार सम्मानित

blog

हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदै गोरखापत्रकर्मी चित्रकुमार मिजार ।

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, फागुन १ गते । 
हुतराज अर्धचन्द्र पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका सिन्धुपाल्चोक संवाददाता चित्रकुमार मिजार सम्मानित हुनु भएको छ । उहाँका साथै रेडियो मेलम्चीका प्रशासन प्रमुख तथा हिमालय टेलिभिजनका जिल्ला संवाददाता सागर खड्का पनि सम्मानित हुनुभएको छ ।

मेलम्ची नगरपालिकास्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयको स्वर्णजयन्ती महोत्सव तथा २४ औँ अभिभावक दिवसको अवसरमा नगरप्रमुख आइतमान तामाङको बाहुलीबाट मिजार लगायतलाई सम्मान र पुरस्कृत गरिएको हो । लामो समय शैक्षिक क्षेत्रमा सशक्त कलम चलाएर समाजलाई सुसज्जित पार्ने दुई जना पत्रकारलाई हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले प्रत्येक वर्ष सम्मान गर्दे आइरहेको संस्थाका सचिव सुदर्शन पाण्डेले जानकारी दिनुभयो ।

हुतराज अर्धचन्द्र जनहितकारी संस्थाबाट दिवङ्गत हुतराज अर्धचन्द्र स्मृति छात्रवृत्ति, उक्त संस्थाबाट दिवङ्गत माताद्वय महालक्ष्मी र युक्तकुमारी स्मृति छात्रवृत्ति, दिवङ्गत सत्यचन्द्र विष्णु लक्ष्मी स्मृति छात्रवृत्ति र योगराज स्मृति छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । उक्त स्मृति छात्रवृत्तिबाट इन्दे्रश्वरीका विद्यार्थीहरू पुरस्कृत भएका थिए ।

२०३८ सालमा हुतराज पाण्डे र अर्धचन्द्र पाण्डेले विद्यालयलाई १ रोपनी १३ आना, ३ पैसा जग्गा निःशुल्क प्रदान गर्नु भएको थियो । स्वर्गीय पाण्डेद्वययको स्मृतिमा स्थापना भएको हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले सो विद्यालयलाई २०६९ सालमा ६ आना जग्गा पुन निःशुल्क प्रदान गरेको थियो ।

विद्यालय स्थापनादेखि स्वर्णजयन्तीसम्म ल्याई पुर्‍याउन स्वर्गीय पाण्डेद्वय, उहाँको परिवार लगायत धेरै शिक्षाप्रेमी समाजसेवीले महत्त्वपूर्ण योगदान गरेको प्रधानाध्यापक देवी श्रेष्ठले बताउनुभयो । उक्त विद्यालयमा विभिन्न स्मृति व्यक्तित्व र संस्थाको नाममा अक्षयकोष स्थापना भएको छ । उक्त संस्थाले २०६८ सालबाट शैक्षिक सामाजिक कार्य गर्दै आइरहेको छ ।