• १२ साउन २०८१, शनिबार

पोखरा चैतभित्रै पर्यटनको राजधानी : मुख्यमन्त्री पाण्डे

blog

प्रदेश सरकार गठनपछिका उपलब्धि विषयक परिसंवादमा धारणा राख्नुहुँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन १ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरा महानगरलाई पर्यटनको राजधानी सहर घोषणा गरिने बताउनुभएको छ । प्रदेशको राजधानीसमेत रहेको पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगर र प्रदेश सरकारले बारम्बार सङ्घ सरकारलाई अनुरोध गरे पनि सङ्घले घोषणा गरेको छैन । 

सङ्घ सरकारले घोषणामा ढिलाइ गरेपछि प्रदेश सरकार र पोखरा महानगरले मिलेर राजधानी घोषणाको तयारी गरेका हुन् । राजधानी घोषणाका लागि अध्ययन गर्न प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा बनेको समितिले सरकारलाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नीति तथा योजना आयोग र नेपाल पत्रकार महासङ्घ कास्कीले संयुक्त रूपमा मङ्गलबार आयोजना गरेको प्रदेश सरकार गठनपछिका उपलब्धि विषयक संवादमा बोल्दै मुख्यमन्त्री पाण्डेले सरकारले समृद्धिको यात्रामा दत्तचित्त रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेशबारे सकारात्मक पक्ष लुकेको र नकारात्मक कुरा बढी आएको उहाँको भनाइ छ । 

गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अहिलेको संविधानले वित्तीय सङ्घीयताको सुन्दर व्याख्या गरेको दाबी गर्दै सङ्घले त्यसलाई कार्यान्वयन हुन रोकेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “पञ्चायती वा भन्नुस् एकात्मक खालको मानसिकता अझै गएन । सार्वभौमसत्ताको विकेन्द्रीकरण हुनुपर्नेमा त्यसो हुन सकेन ।’ 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले दबाब र पहुँचले मात्र काम हुने अवस्था बदल्न आग्रह गर्नुभयो । उहाँ भन्नुहुन्छ, “निराशाबाट न मुलुक बन्छ, न व्यक्तित्व बन्छ । व्यवस्था परिवर्तनपछि समृद्धिका लागि काम नहुँदा निराशा बढेको हो ।”

प्रा.डा. चन्द्र भद्राले सङ्घीयतापछि महिलाले केही हदमा शासन, सत्तामा स्थान पाए पनि त्यो सन्तोषजनक नभएको बताउनुभयो ।