काठमाडौँ, चैत १ गते । नेपाल दलित मुक्ति मोर्चाले किशोरो इनिशा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो ।
साथै मोर्चाले घटनामा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपूर्तिका लागि माग गरेको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो । उहाँले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीका साथ लागिपरेको बताउनुभयो ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बसोबास गर्दै स्थानीय उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया बालिका ईनिशा विकको हत्या भएको थियो । उनी गत फागुन २३ गते बिहान करिब ६ बजे ट्युसन पढ्न भनी घरबाट बाहिर गएकी र अबेरसम्म घर नफर्किएकाले खोजी गर्दा वीरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकको सामुदायिक वनमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।
समग्र घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कारपछि क्रूरतापूर्वक हत्या भएको देखिएको मोर्चाले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।