• १२ साउन २०८१, शनिबार

अर्जुन र राज्यलक्ष्मीलाई गुरिल्ला म्याराथन उपाधि

blog

गुरिल्ला म्याराथनको उपाधि विजेता राज्यलक्ष्मी रावल र अर्जुन राई । तस्बिर : गोरखापत्र

राजु लामिछाने

रुकुमपश्चिम, फागुन १ गते । रूकुमपश्चिमको सानीभेरी गाउँपालिकामा भएको राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन–२०८० को उपाधि सोलुखुम्बुका अर्जुन राई र जुम्लाकी राज्यलक्ष्मी रावलले जित्नुभएको छ । 

जनयुद्ध दिवसको अवसरमा सानीभेरी गाउँपालिकाले आयोजना गरेको म्याराथनमा पुरुष तर्फ राई र महिलातर्फ रावलले जित हासिल गर्नुभएको हो । पुरुष म्याराथनतर्फ सानीभेरी गाउँपालिका –३ बेल्टापुबाट मौराखारा लेक, रिम्ना चाईनाबगर, सिम्ली, छिबाङ हुँदै बेल्टापुसम्मको कूल ४८ किलोमिटर लामो दूरी तय गरिएको थियो । 

पुरुषतर्फको म्याराथन ४ घण्टा ४० मिनेटमा पार गर्दै सोलुखुम्बुका अर्जुन राईले प्रथम स्थान हासिल गर्नुभएको छ । यस्तै ४ घण्टा ५३ मिनेटमा तोकिएको दुरी पार गर्दै रूकुमपूर्वका शक्तिराम रोका दोस्रो, ५ घण्टा १ मिनेटमा पार गर्दै रूकुमपश्चिमका भुवन ओली तेस्रो र ५ घण्टा १५ मिनेटमा पार गर्दै रूकुमपश्चिमका दुर्गाराज बुढा चौथो हुनुभएको छ । 

महिलातर्फको म्याराथन बेल्टापुबाट सुरु भई मेघा, बलिबाङ, रिम्ना, चाईनाबगर, सिम्ली, छिबाङ हुँदै बेल्टापुसम्मको कुल ३६ किलोमिटर लामो दूरी तय गरिएको थियो । उक्त दुरी ३ घण्टा ११ मिनेटमा पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावल प्रथम, ३ घण्टा १७ मिनेटमा पार गर्दै रूकुमपश्चिमकी सुशीला पुन दोस्रो, ३ घण्टा २७ मिनेटमा पार गर्दै खोटाङकी निर्मला राई तेस्रो र ३ घण्टा ४० मा पार गर्दै रूकुमपश्चिमकी कविता बस्नेत चौथो हुनुभएको छ । 

पुरुषतर्फका विजेतामध्ये प्रथमलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार तथा चौथोलाई १५ हजार नगदका साथै सबैलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी दसौँ स्थानसम्मका विजेतालाई तीन हजार नगद प्रदान गरिएको सानीभेरीका गाउँपालिकाका प्रवक्ता पहलसिं घर्तीले जानकारी दिनुभयो । 

प्रवक्ता घर्तीका अनुसार महिलातर्फका विजेतामध्ये प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार तथा चौथोलाई १० हजार रुपियाँ उपलब्ध गराइएको छ । सबैलाई मेडल तथा प्रमाणपत्रका साथै दसौँ स्थानसम्मका विजेतालाई नगद तीन हजार रुपियाँ प्रदान गरिएको छ । 

तत्कालीन माओवादीले सशस्त्र विद्रोह सुरु भएको दिन फागुन १ गतेलाई हरेक वर्ष जनयुद्ध दिवसको रूपमा बनाउँदै आएको र यस पटकको म्याराथन म्याराथनको छैटौँ संस्करण भएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्यटन र खेलको विकासका साथै गणतन्त्रको आधारका रूपमा सुरु भएको जनयुद्धको स्मरणमा हरेक वर्ष म्याराथन हुँदै आएको छ । गाउँपालिकाले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा उक्त कार्यक्रम गरेको जनाएको छ ।