• १२ साउन २०८१, शनिबार

चेपाङ समुदायका विपन्न किसानलाई उन्नत जातका बोका र बाख्रा

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन १ गते । उन्नत जातको बोका र बाख्रा पाएपछि चेपाङ समुदायका विपन्न किसानहरू खुसी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका-७ मा रहेको विपन्न चेपाङ समुदायका किसानहरूलाई जीविकोपार्जन सहयोगका लागि उन्नत जातको बाख्रा तथा बोका वितरणले राहत भएको गण्डकी गाउँपालिका-७ का अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी गोरखाको गण्डकी गाउँपालिका-७ मा चेपाङ समुदायको बाक्लो बसोबास छ । अल्पसङ्ख्या चेपाङ समुदायहरूमा आर्थिक अवस्था असाध्यै कमजोर रहेकाले आर्थिक अवस्थामाथि उकास्न यस कार्यक्रमले महत्पूर्ण योगदान पुग्ने उहाँको विश्वास छ । 

चेपाङ समुदायको आर्थिक अवस्था सुधारका लागि वडा न ७ मा रहेका विपन्न चेपाङ समुदायका विपन्न बाख्रा पाल्ने किसान छनौट गरी बाख्रा र उन्नत जातको बोका सोमबार वितरण गरिएको हो । त्यस्तै किसानहरूलाई बाख्रा पालन तथा गोठ व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ । तालिमपछि ५८ जनालाई बाख्रा तथा ४ जनालाई ब्याड बोका वितरण गरेको हो । 

तारा नमस्ते फाउन्डेसनले गोठ सुधारका लागि जस्तापाता र जाली उपलब्ध गराएको स्थानीय सितामाया चेपाङको भनाइ छ । अहिले बाख्रा पाउने मूल समूहबाट अर्को वर्ष उपहार समूहका सदस्य ५८ जनालाई उनीहरूले पाठी उपहार दिनेछन् । बाख्रामा नस्ल सुधारका लागि ४ टोलमा ४ वटा बोयर जातको बोका समेत वितरण गरेको तारा नमस्ते फाउन्डेसनको कार्यक्रम व्यवस्थापक राजन पुडासैनीले जानकारी दिनुभयो । 

फाउन्डेसनले गण्डकी गाउँपालिका-७ का खरेटार, बदाला, क्षेत्री खोला, कौडी खोला, लामिडाँडा र सल्लेरी खोलामा पोषणयुक्त घाँस रोपण गरिएको उहाँको भनाइ छ । चेपाङ समुदायलाई उन्नत जातको बाख्रा र बोयर जातको बोका वितरण गरी आयआर्जनमा थप टेवा र हौसला प्रदान गरी हामी जस्ता विपन्न समुदायका लागि यो कार्यक्रमले निकै खुसी बनाएको स्थानीय बाख्रा पालक किसान गुमानसिङ चेपाङले बताउनुभयो ।