• १२ साउन २०८१, शनिबार

रुविनाको अलराउन्ड प्रदर्शनमा नेपालको कीर्तिमानी जित

blog

फराकिलो जित निकालेपछि नेपाली टोली । तस्बिर : क्यान

काठमाडौँ, फागुन १ गते । पूर्व कप्तान रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा मालदिभ्समाथि नेपालले कीर्तिमानी जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत अन्तिम खेलमा मालदिभ्सलाई दुई सय २४ रनले हरायो ।

यो नेपालले रनको आधारमा ठुलो जित हात पारेको पहिलो पटक हो । नेपालले यसअघि सन् २०२१ मा कतारविरुद्धको खेलमा एक सय १९ रनको जित निकालेको थियो । समूह चरणमा लगातार तेस्रो जितसँगै नेपाल समूह विजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा मङ्गलबार जितका लागि नेपालले दिएको दुई २८ रनको लक्ष्य पछ्याएको मालदिभ्स १३.५ ओभरमा सबै विकेटको क्षतिमा १३ रनमै समेटिएको थियो ।  मालदिभ्सका कुनै पनि ब्याटिरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मालदिभ्सलाई सस्तैमा समेट्न बलिङमा नेपालका लागि अस्मिना कर्माचार्यले चार, रुविना र पूजा महताले तीन तीन विकेट लिनुभयो । 


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो । महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो सर्वाधिक ठुलो रन हो । यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्ध एक सय ६४ रन बनाएको थियो ।

नेपालका लागि रुविनाले अविजित एक सय १८ रनको शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५९ बलमा १० चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । उहाँ महिला अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी समेत बन्नुभएको छ ।

यसअघि कतारविरुद्ध सीता रानामगरले अविजित ८२ रन बनाउनुभएको थियो । यस्तै पूजा महतोले अविजित ५९, सीता रानामगरले १५ र कविता कुँवरले १३ रन जोड्नुभयो । पाँचौँ विकेटका लागि रुविना र पूजाले अविजित एक ६६ रनको साझेदारी गर्नुभएको थियो ।

महिला क्रिकेटमा यो सर्वाधिक ठुलो रनको साझेदारी पनि हो । बलिङमा माल्दिभ्सका शम्मा अलीले तीन तथा नब्बा नसिमले एक विकेट लिनुभयो ।  क्वार्टरफाइनलमा नेपालले समूह ‘ए’को उपविजेता कुवेतसँग खेल्नेछ ।