• १२ साउन २०८१, शनिबार

'नाँ गाउँमा' सोलार प्लान्टमार्फत् विद्युत सेवा

blog

सोलार प्लान्ट । तस्बिर : कुमार बस्नेतको सहयोगमा

सुजन काफ्ले

चरीकोट, फागुन १ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका-९ को भौगोलिक विकट 'नाँ गाउँमा' सोलार प्लान्टमार्फत् विद्युत सेवा पुगेको छ । जिल्लाको अति दुर्गम गाउँको रूपमा चिनिने नाँ उपत्यकामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले यस वर्ष विद्युत् सेवा पुर्‍याएको हो । 

सो गाउँ ४२०० मिटरको उचाइमा अवस्थित छ । जिल्लाका हरेक घरमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगे तापनि यो गाउँमा बाँकी थियो।

'नाँ गाउँ'मा विद्युतीकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राखिएको छ । विद्युत् र टेलिफोन सेवा पुर्‍याउन चुनौतीको रूपमा रहेको सो गाउँमा प्राधिकरणको विद्युत् ल्याउन टाढा भएपछि सोलार प्लान्टबाट विद्युत सेवा प्रदान गरिएको सोही वडाका वडा अध्यक्ष ङिमगेली शेर्पाले बताउनुभयो । पर्यटकीय क्षेत्रको रूपमा परिचित नाँ गाउँमा सोलार बत्ती जडान गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई समेत आवतजावतमा सहज भएको उहाँको भनाइ छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत र गौरीशङ्कर गाउँपालिकाको १० प्रतिशत गरी तीन करोड ४८ लाखमा सोलार जडान गरिएको हो । यस क्षेत्रमा सोलार बत्तीको सुविधा भएपछि च्छोरोल्पा हिमताल, दूधकुण्ड घुम्न आउने पर्यटकलाई मोबाइल र क्यामेराको ब्याट्री चार्ज गर्न सजिलो भएको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो । घर घरमा सोलार बत्ती जडान गर्नुको साथै २० वटा स्ट्रिट लाइट समेत जडान गरिएको उहाँको भनाइ छ । 

नाँ गाउँ गौरीशङ्कर गाउँपालिका ९ मा पर्ने रोल्वालिङ उपत्यकामा पर्छ । यहाँ करिब ४० घरपरिवार बसोबास गर्दै आएको गाउँपालिकाले जनाएको छ । विश्वको सबैभन्दा ठुलो च्छोरोल्पा हिमताल नजिकैको गाउँ ‘नाँ’ हो । यहाँ बढी हिउँ पर्ने हुँदा मंसिरदेखि चैतसम्म यहाँका स्थानीय बेदिङमा बसोबास गर्छन् ।

पर्यटकीय क्षेत्र भएकाले यहाँका बासिन्दा ‘होम स्टे र होटल’ चलाएर जीविकोपार्जन गर्छन् । सिजनमा पुरुषहरू हिमालमा ट्रेकिङ जान्छन् । नाँ र बेदिङलाई सगरमाथा आरोहीको गाउँको रूपमा समेत चिनिन्छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले थप पूर्वाधार निर्माण र प्रचारप्रसारमा ध्यान दिने अध्यक्ष शेर्पाले बताउनुभयो । 

७२ घरधुरी रहेको यस गाउँमा सोलार जडान गरेपछि होटल आउने पर्यटकलाई उज्यालो कोठामा राख्न सजिलो भएको ना भिलेज भ्यु एण्ड गेष्ट हाउस रेष्टुरेन्टका सञ्चालक दावाछिरी शेर्पाले बताउनुभयो । यसबाट मोबाइल चार्ज, टेलिभिजन हेर्न, पानी तताउन र इन्डक्सन चुल्हो जडान गरी खाना, खाजा पकाउन समेत सजिलो भएको होटल सञ्चालक शेर्पाले बताउनुभयो । 

लामो समयदेखि अन्धकारमा रहेको नाँ गाउँमा विद्युत सेवा विस्तार हुने भएपछि स्थानीयहरू खुसी भएका छन् ।

आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत अर्थात् ३ करोड १४ लाख , जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशङ्कर गाउँपालिकाको ९ लाख ९८ हजार गरी कूल ३ करोड ४८ लाख रुपियाँ लगानी छ ।

सोलार प्लान्ट निमार्णको जिम्मा सनब्रिज सनस्टार जेभीले पाएको थियो । आयोजना निर्माण कम्पनीका सञ्चालक कुमार बस्नेतले समयमा नै निर्माण सम्पन्न गरेर नाँ गाउँमा विद्युत सेवा सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले निर्माणको जिम्मा लिएका थियौं, तोकिएको समय विद्युत सेवा पुर्याइएकाे। विद्युत सेवा पुगेसँगै सो भेगका स्थानीय लाभान्वित हुने भएका छन् ।