• ३ पुस २०८१, बुधबार

प्रथम लालबन्दी महोत्सव हुँदै

blog

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन १ गते । उद्योग वाणिज्य सङ्घ लालबन्दीले फागुन १० गतेदेखि १९ गतेसम्म प्रथम लालबन्दी महोत्सव आयोजना गर्ने भएको छ । “कृषि, पर्यटन, व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारासहित लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण फुटबल मैदानमा महोत्सव आयोजना गर्न लागिएको आयोजक उद्योग वाणिज्य सङ्घले मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

सङ्घका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले अस्ताइरहेको र कठिन अवस्थाबाट गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखी महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले यो महोत्सवबाट लालबन्दी नगरको पहिचान बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हाम्रो मुख्य उद्देश्य व्यापार, कृषि, उद्योग र पर्यटन प्रवर्धन गर्नु हो,” अध्यक्ष बलम्पाकीले पत्रकार सम्मेलनमा भन्नुभयो, “पहिलो पटक हुन लागेको यस प्रकारको महोत्सवबाट लालबन्दी नगरलाई चिनाउन पनि मद्दत पुग्छ भन्ने विश्वास लिएका छौँ ।” 

महोत्सव आयोजना गर्न ७१ लाख रुपियाँ खर्च लाग्ने आयोजकको अनुमान छ । १० दिनसम्म आयोजना हुने महोत्सवमा ५० हजार दर्शक आउने अपेक्षा गरिएको अध्यक्ष बलम्पाकीले बताउनुभयो । 

महोत्सव आयोजना गर्न लालबन्दी नगरपालिकाले विनियोजन गरेको पाँच लाख रुपियाँसहित टिकट बिक्रीबाट २० लाख रुपियाँ, स्टल भाडाबाट नौ लाख रुपियाँलगायत अन्य विभिन्न क्षेत्रबाट आम्दानी तथा सहयोग प्राप्त हुने आश गरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलम्पाकीले बताउनुभयो । महोत्सवमा उद्योग वाणिज्य सङ्घमा आबद्ध व्यापारीलाई स्टल राख्दा सात हजार रुपियाँ र बाहिरका व्यवसायीलाई १२ हजार रुपियाँ स्टल शुल्क निर्धारण गरिएको छ । 

मह, फलफूल, डोका, नाम्लासहित स्थानीय उत्पादनलाई प्राेत्साहन गर्न निःशुल्क स्टल उपलब्ध गराउने निर्णय गरिएको उद्योग वाणिज्य सङ्घ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याणकुमारी जोशीले बताउनुभयो । “यहाँका लोकल उत्पादनको स्टल राख्दा पैसा लिँदैनौँ,” जोशीले भन्नुभयो, “स्थानीय कृषक तथा उद्यमीलाई त्यस्ता उत्पादन महोत्सवमा ल्याएर प्रवर्धन गर्न आग्रह गर्दछौँ ।” 

महोत्सवमा मनोरञ्जनस्वरुप स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकले महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई ७० रुपियाँ टिकट शुल्क निर्धारण गरिएको छ भने अशक्त र ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ । 

महोत्सव आयोजनाका लागि उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलम्पाकीको नेतृत्वमा कार्यक्रम व्यवस्थापन समिति, उपाध्यक्ष प्रदीप भट्टराईको संयोजकत्वमा सचिवालय व्यवस्थापन समिति, कार्यसमिति सदस्य अनु हाडाको संयोजकत्वमा स्टेज व्यवस्थापन समिति, कोषाध्यक्ष सुवास दाहालको संयोजकत्वमा प्रायोजन व्यवस्थापन समिति, वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद चौलागाईंको संयोजकत्वमा बजार व्यवस्थापन समिति, सल्लाहकार गोपाल श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन समिति, सल्लाहकार प्रभुनारायण शिवाकोटी (श्याम) को संयोजकत्वमा झाँकी तथा सांस्कृतिक व्यवस्थापन समिति र अध्यक्ष बलम्पाकीकै संयोजकत्वमा मिडिया तथा सामाजिक सन्जाल व्यवस्थापन समिति गठन गरिएको छ ।