• १२ साउन २०८१, शनिबार

एक महिनाभित्रमा हेटौँडा ४०० केभी सब-स्टेसन निर्माण सकिने

blog

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सब-स्टेसनको अनुगमनमा पुग्नुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्बिर : नेपाल विद्युत प्राधिकरणका

काठमाडौं, फागुन १ गते । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सब-स्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौँडा सब-स्टेसनमा ४००/२२० केभी,२२०/१३२ केभी र १३२/११ केभी सब-स्टेसन निर्माणाधीन छन् ।

एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सब स्टेसनका उपकरणहरूको जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरू भइरहेका छन् । सब-स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ ।

निर्माण अनुगमनमा पुग्नुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा सब स्टेसनको काम सन्तोषजनक देखिएको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले निर्माणमा सङ्लन्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरूसँग छलफल गर्नुभएको थियो । घिसिङले एक महिनाभित्रमा सब स्टेसन सञ्चालनमा ल्याउने गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सब स्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००/२२० केभी हेटौँडा सब स्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरू छन् । जसको क्षमता ९४५ एमभिए छ ।

धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सब स्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौँडा सब स्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।

आयोजनाअन्तर्गत नै ढल्केबर र इनरुवामा ४००/२२० केभीका सब-स्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । हेटौँडा र इनरुवा सब स्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।

देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबिचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा २२०/१३२ केभी सब स्टेसन निर्माण गरिएको हो ।

सब स्टेसनमा १६०/१६० एमभिएका दुईवटा पावर ट्रान्सफर्मरहरू छन् । ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी बाँकी रहेको काम गर्न पुस २०७५मा नयाँ ठेक्का सम्झौता गरिएको  थियो ।

आयोजनाअन्तर्गत नै धनुषा र इनरुवामा २२० केभी सब स्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजना सरकार तथा प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा सुरु गरिएको हो ।

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत १३२/११ केभी हेटौडा सब स्टेसन निर्माण गरिएको हो । यो सब-स्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिने छ । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।